२३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरीको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको दोभानेका इन्द्रबहादुर राई छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । काठमाडौंको पवित्रनगरबाट राईलाई पक्राउ गरिएको परिसरका एसएसपी रमेश थापाले बताए ।
राईले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीको हत्या गरेको आरोप छ । उनीसहितका व्यक्तिले प्रहरी वृत्त महाराजगञ्ज कार्यरत दुई प्रहरीको हत्या गरेका थिए ।
अहिले पक्राउ परेका राई प्रहरी हत्या गर्दा लगाएको ड्रेसमै समातिएका छन् । प्राप्त भिडियोमा राई कालो टि–सर्टमा अगाडि हल्का रातो धर्सा भएको कपडा लगाएको देखिन्छ । हाफ पाइन्ट लगाएका उनी सेतो जुत्ता लगाएको भिडियोमा देखिन्छ ।
प्रहरीले अहिले उनलाई त्यही टि–सर्ट लगाएकै अवस्थामा पक्राउ गरेको हो । उनीसहितका व्यक्तिले वृत्त परिसरमै रहेको मन्दिर अगाडि प्रहरीलाई कुटिकुटी मारेको देखिन्छ ।
प्रहरी हत्यामा यसअघि एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् । केही भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
प्रतिक्रिया 4