२३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार गृहमन्त्रालयमा भेट भयो ।
करिब ४५ मिनेट भएको भेटवार्तामा विविध विषयहरूमा छलफल भए । आउँदो २१ फागुनमा हुने भनिएको प्रतिनिधि सभाको चुनावदेखि शान्ति सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले बताएको छ । औपचारिक रुपमा मन्त्रालयले शान्ति सुरक्षा र चुनावी सुरक्षाका विषयमा छलफल भएको बताए पनि छलफलको अर्को केन्द्रमा थिए–दुर्गा प्रसाईं ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक प्रसाईं नयाँ दिल्लीबाट फर्केको पर्सिपल्ट नै (आइतबार) यसबारे गृहमन्त्रीले चासो राख्दै भारतीय राजदूतसँग छलफल गरेको गृह उच्च स्रोतले बतायो ।
‘मन्त्रालयमा विविध विषयमा छलफल भयो । तर छलफलको मुख्य विषय दुर्गा प्रसाईंको भारत भ्रमण पनि हो,’ मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो । दुर्गा प्रसाईं अहिले सुरक्षाकर्मीको निगरानीमै छन् ।
आउँदो ७ मंसिरमा आन्दोलनको घोषणा गरेका प्रसाईंलाई सुरक्षा संयन्त्रले नजिकबाट नियालिरहेको छ । यहीबीचमा उनी गत सोमबार नेपाल एअरलायन्सको जहाजमार्फत दिल्ली गएका थिए । आन्दोलनको पूर्वसन्ध्याको दिल्ली भ्रमणलाई गृहले नजिकबाट नियालेको थियो । करिब ५ दिनको भारत भ्रमणपछि प्रसाईं शुक्रबार मात्रै काठमाडौं फर्केका थिए ।
यही पाँच दिनको भारत भ्रमणको अवधिमा दुर्गा प्रसाईंले को–कसलाई भेटे र त्यहाँ के गरे भन्नेबारे गृहमन्त्री अर्यालले राजदूत श्रीवास्तवसँग चासो राखेको मन्त्रालय स्रोतले बतायो ।
जवाफमा राजदूत श्रीवास्तवले भारतमा प्रसाईंको कुनै राजनीतिक भेटघाट नभएको जवाफ दिएका थिए ।
यसअघि पनि प्रसाईंले आफूले गरेको आन्दोलनमा भारतको समर्थन रहेकोदेखि भारतबाट ठूलो मात्रामा मान्छेहरू आन्दोलनमा सहभागी हुन आउने अभिव्यक्ति दिँदै आएका थिए ।
प्रसाईंले भारतको सहयोगमा आन्दोलन गर्नेदेखि हिन्दु राज्य र राजतन्त्र फर्काउनेसम्मको अभिव्यक्ति दिँदै आएका छन् । प्रसाईंले यस्तो अभिव्यक्ति दिँदै आउनु र दुई देशबीचको खुल्ला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दुवै देशले उच्च सतकर्ता अपाउनुपर्नेसम्मको विषय छलफलमा उठेको थियो ।
नेपालमा उच्च निगरानी, भारतमा पनि केरकार
व्यवस्था नै फेर्ने घोषणा गर्दै आएका प्रसाईं पछिल्लो समय उच्च सुरक्षा निगरानीमा राखिएका व्यक्ति हुन् । विशेषगरी गत १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनपछि उनीमाथि नेपालका सुरक्षा निकायले उच्च निगरानी गर्दै आएका छन् ।
पछिल्लो समय ७ मंसिरमा देशभर नै आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएपछि उनलाई सुरक्षा निकायले झनै नजिकबाट नियालेका छन् । संवादबाटै समस्या हल गर्ने बताउँदै २६ कात्तिकमा वार्तामा आउन भन्दै प्रसाईंलाई औपचारिक पत्र गृह मन्त्रालयले पठाएको छ । तर आइतबार एक कार्यक्रममा बोल्दै प्रसाईंले गृहमन्त्रीसँग छलफलमा नबस्ने, प्रधानमन्त्रीसँग मात्रै वार्ता हुने बताए ।
नेपालमा उच्च निगरानी रहेका प्रसाईं गत शुक्रबार नयाँदिल्लीबाट काठमाडौं फर्कने क्रममा केरकारमा परेका थिए । भारतीय अध्यागमनले प्रसाईंलाई आधा घण्टा भन्दा बढी केरकार गरेको थियो ।
केरकारपछि प्रसाईं नेपाल एअरलायन्सको उडान नम्बर २१८ मार्फत काठमाडौं आए । अध्यागमनमा होल्ड गरेर प्रसाईंमाथि केरकार गर्नुमा मुख्यगरी तीन वटा कारणहरू औंल्याएको दिल्लीस्थित नेपाली दूतावास स्रोतले बताएको छ ।

नेपालमा पछिल्लो समय राजावादीको नाममा प्रसाईंले गरेको अराजक गतिविधि र त्यसमा भारतको समर्थन रहेको भन्दै दिएको अभिव्यक्तिप्रति भारतीय पक्ष असन्तुष्ट थियो । यो विषयमा असन्तुष्ट बनेको भारतीय पक्षले प्रसाईंलाई चेतावनी समेत दिएको थियो ।
एनडीटीभीसँग कुरा गर्दै विषयसँग परिचित एक अधिकारीले भनेका थिए, ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन् ।’
स्रोतले प्रसाईं वा उनका छोरा दुवैले यस भ्रमणका क्रममा कुनै पनि भारतीय सरकारी वा पार्टीका प्रतिनिधिसँग भेटघाट गर्न नसकेको एनडीटिभीले उल्लेख गरेको थियो । पछिल्ला हप्ताहरूमा असफल प्रयासहरूलाई संकेत गरेको उल्लेख गरेको थियो ।
आफूलाई भारतको समर्थन रहेको भन्दै प्रसाईंले अफवाह फैलाएकोमा भारतीय पक्ष असन्तुष्ट बनेको थियो । सोही क्रममा उनी गत सोमबार नेपाल एअरलायन्समार्फत दिल्ली पुगेका थिए । तर त्यतिबेला दिल्ली अध्यागमनले प्रसाईंलाई कुनै केरकार गरेन । सामान्य सोधपुछ गरेर छाड्यो । तर फर्कने बेलामा भने उनी केराकारमा परे ।
यसबारे जानकार एक सरकारी अधिकारी भन्छन्, ‘सायद भारतमा प्रसाईंले के गतिविधि गर्छन् भन्ने बुझ्नकै लागि अध्यागमनले त्यतिबेला केही गरेन ।’
भारत पुगेपछिका उनका गतिविधि भने शंकास्पद देखिएपछि फर्कने बेलामा उनी केरकारमा परेको स्रोत बताउँछ । भारतमा प्रसाईंले जुन ठाउँमा बस्ने बताएका थिए, त्यो ठाउँमा उनी बसेनन् । त्यो पनि ठाउँ फेरि, फेरि बसेपछि उनी निगरानीमा परे ।

‘आवागनको अध्यागमनले सोध्दा प्रसाईंले जहाँ बस्ने बताएका थिए । उनी त्यहाँ बसेनन् । त्यति मात्रै होइन् । उनी ठाउँ फेर्दै फरक–फरक ठाउँ बसेको देखिएपछि उनी निगरानीमा परेको देखिन्छ,’ जानकार स्रोतले भन्यो ।
यसका साथै प्रसाईंले भनिएभन्दा बढी समय भारतमा बिताएका छन् । अध्यागमनमा फर्कनेबारे सोधपुछ गरेको समय भन्दा बढी उनी बस्नु र ठाउँ फेरि रहुनले उनका गतिविधि शंकास्पद बनाएको भारतीय पक्षको बुझाइ छ ।
समय थप्दै जानुमा कुनै राजनीतिक भेट भइहाल्छ कि भन्ने मनसाय प्रसाईंको रहेको देखिन्छ । तर भारतीय पक्षले भने उनलाई दूरीमै राख्दै यसबारे कुनै महत्व दिएन ।
केरकारकै क्रममा भारतीय अधिकारीहरूले नेपाली दूतावाससँग सम्पर्क गरेका थिए । सो क्रममा उनीहरूले गत १५ चैतको घटनाकाबारेमा जानकारी गराउँदै त्यसमा केही रहे नरहेको चासो समेत राखेका थिए । नेपाली पक्षले भने त्यो मुद्दा अदालतमा पुगिसकेकाले अहिले केही नरहेको जानकारी गराएका थिए ।
औपचारिक रुपमा भने भारतीय पक्षले नेपाली दूतावासलाई जानकारी गराउँदा १५ चैतको घटनाका बारेमा आएको पत्रको आधारमा केहीबेर होल्ड गरेर केराकार गरिएको जानकारी गराएको स्रोतको भनाइ छ । यी घटनाक्रमले भारतीय सुरक्षा संयन्त्रले उनका गतिविधिलाई नजिकबाट ‘वाच’ गरेको देखिन्छ ।
चुनाव सम्बन्धमा पनि छलफल
मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच चुनावी सुरक्षा र आपसी हितका बारेमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच निर्वाचनका लागि शान्ति सुरक्षाको विषयमा कुराकानी भएको उनलको सचिवालयले बताएको छ ।
गृहमन्त्रालयमा भएको दुई पक्षीय भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
भारत सरकारले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धका बारेमा सधै सकारात्मक र सुमधुर ढंगले अघि बढ्ने बताउंदै, निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि सधै सकारात्मक रहेको विचार राजदूत श्रीवास्तवले व्यक्त गरेको मन्त्रालयले बतायो ।
मन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रस्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका थिए । घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न अहोरात्र लागि परेको जानकारी मन्त्री अर्यालले भेटका क्रममा बताए ।
भेटमा दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण रहने विचारसमेत मन्त्री अर्यालले व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4