२४ कात्तिक, काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कैदवापतको रकम बुझाएर कारागारबाट छुटेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेशअनुसार रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् । कैदवापतको रकम तिरेर बाहिर निस्किन पाउँ भन्दै उनले अदालतमा निवेदन दिएका थिए ।
अदालतले उनको माग बमोजिम नै आदेश गरेपछि उनी छुटेको कारागार प्रशासनले बतायो । १८ कात्तिकमा शेर्पा पक्राउ परेका थिए ।
उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । उनको उक्त मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए ।
यद्यपि अध्यक्ष ओलीले भने यो विषय सामान्य भएको बताएका थिए । शेर्पालाई निलम्बन नगर्ने अडानमा ओली टसमस भएका थिएनन् ।
अशोक राईसँग छुटेर पछि उनी डा. बाबुराम भट्टराईको पार्टीमा लागेका थिए । पछि माओवादी केन्द्र हुँदै एमालेमै लागेका थिए ।
प्रतिक्रिया 4