+
एनपीएल २०२५ :

पहिलो सिजनको नतिजा बिर्साउने लक्ष्यमा लुम्बिनी लायन्स

२०८२ कात्तिक  २६ गते १५:२९ २०८२ कात्तिक २६ गते १५:२९
पहिलो सिजनको नतिजा बिर्साउने लक्ष्यमा लुम्बिनी लायन्स

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले एनपीएल दोस्रो सिजनका लागि कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा टिमको लोगो, कलर र मुख्य प्रशिक्षक परिवर्तन गरेको छ।
  • लुम्बिनीले पहिलो सिजनमा ७ खेलमध्ये १ खेल मात्र जितेको थियो र आठ टोलीमध्ये अन्तिम स्थानमा रह्यो।
  • टिनु योहान्नानलाई मुख्य प्रशिक्षक र रोबिन सिंहलाई मेन्टर नियुक्त गर्दै लुम्बिनीले विदेशी खेलाडी डार्सी सर्ट, गुल्बादिन नइब र थोमस ड्राकालाई अनुबन्ध गरेको छ।

२६ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की तथा कप्तान रहेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा बिर्सनलायक प्रदर्शन गरेको थियो ।

रोहितसहित नाम चलेका स्वदेशी र विदेशी खेलाडी समेत भित्र्याएको लुम्बिनीले सोचेभन्दा फरक प्रदर्शन गर्‍यो । अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा लुम्बिनी ८ टोली मध्ये अन्तिम स्थानमा रहेको थियो ।

लुम्बिनीले ७ मध्ये जम्मा एक खेल मात्र जितेको थियो । लुम्बिनीले चितवन राइनोजलाई मात्र पराजित गरेको थियो ।

अब यही मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको दोस्रो संस्करणमा भने रोहितको कप्तानीमा रहेको टोली लुम्बिनी लायन्स पहिलो सिजनको प्रदर्शन र नतिजालाई बिर्साउने लक्ष्यमा छ ।

त्यसका लागि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने गरी लुम्बिनी लायन्स टोली यतिबेला तीव्र तयारीमा छ ।

दोस्रो सिजनका लागि लुम्बिनीले टिमको लोगो, कलरदेखि मुख्य प्रशिक्षकसम्म धेरै कुरा परिवर्तन गरेको छ । यस्तै विदेशी खेलाडीहरूमा पनि लुम्बिनीले धेरै परिवर्तन गरेको छ । अब मैदानमा पनि लुम्बिनी नतिजा परिवर्तन गर्न चाहन्छ ।

एक्स्ट्राटेक ओभलमा अभ्यास गर्दै

लुम्बिनीले कप्तान रोहितसहित सन्दिप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिषेश गौतम र तिलक राज भण्डारीलाई रिटेन गरेको थियो । तर घाइते भएका विवेकको स्थानमा लुम्बिनीले सुमित महर्जनलाई टिममा राखेको छ ।

यस्तै पहिलो संस्करण खेलेका मिडियम पेसर दुर्गेश गुप्तासहित दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेललाई अक्सनबाट अनुबन्ध गरेको छ ।

लुम्बिनीले यस पटक कोचिङ स्टाफमा पनि ठूलो परिवर्तन गरेको छ । शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको लुम्बिनीले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ भने भारतीय प्रशिक्षक टिनु योहान्नानलाई मुख्य प्रशिक्षक बनाएको छ ।

भारतीय पूर्व पेस बलर रहेका टिनुले केराला क्रिकेट टिमको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

यस्तै लुम्बिनीले यस पटक रुपन्देहीमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा तयारी गर्दै फ्लडलाइटमा खेल्ने अभ्यास समेत गरेको छ । एनपीएलको दोस्रो संस्करणका अभिकांश खेल टीयू मैदानमा फ्लडलाइटमा हुने तालिका सार्वजनिक भइसकेको छ । लुम्बिनिले एक साता अघि देखि नै एक्स्ट्राटेकमा रहेको फ्लडलाइटमै अभ्यास गरिरहेको छ ।

विदेशी खेलाडी : डार्सी शर्ट देखि गुल्बादिनसम्म

लुम्बिनीले पहिलो सिजनमा बेन कटिङलगायत विदेशी खेलाडी अनुबन्ध गरेको थियो । तर मैदानमा भने अपेक्षा अनुसार प्रदर्शन हुन सकेन ।

दोस्रो सिजनमा लागि लुम्बिनीले विदेशी खेलाडीमा पनि धेरै परिवर्तन गरेको छ । लुम्बिनीले अहिलेसम्म अष्ट्रेलियन ब्याटर डार्सी सर्ट, अफगानिस्तानका अलराउण्डर गुल्बादिन नइब र इटालियन पेस बलर थोमस ड्राकालाई अनुबन्ध गरेको छ ।

अब लुम्बिनीले बढीमा ३ विदेशी खेलाडी अनुबन्ध गर्न सक्छ । लुम्बिनी विदेशी खेलाडीमा अझै ब्याटर र बलर ल्याउने योजना बनाएको छ ।

डार्सी सार्ट र गुल्बादिनलाई भित्र्याएपछि लुम्बिनीको ब्याटिङ लाइन सहयोग पुग्नेछ । कप्तान रोहित पौडेलसहित सन्दिप जोरा मिडल अर्डरमा छन् । यस्तै दिलिप नाथ र सुमित महर्जन पनि ब्याटरको भुमिकामा छन् ।

गुल्बादिन नाइब

प्रशिक्षकमा भारतका पूर्व पेस बलरलाई नियुक्त गरेको लुम्बिनीले यस पटक विदेशी खेलाडीमा पनि पेस बलरमै ध्यान दिएको छ । अहिलेसम्म पेस बलिङ गर्ने अलराउण्डर गुल्बादिन र थोमस ड्राका अनुबन्ध गर्दै टिमको बलिङ युनिट सन्तुलित बनाउने प्रयास गरेको छ ।

लुम्बिनीको पेस बलिङमा नेपाली खेलाडी दुर्गेश गुप्ता र दिनेश अधिकारी छन् । यस्तै स्पीनमा भने लुम्बिनीमा पहिलो सिजनका युवा बलरहरू अभिषेश गौतम र तिलकराज भण्डारीलाई निरन्तरता दिँदै अक्सनबाट शेर मल्ललाई समेत थप गरेको छ ।

अझै विदेशी खेलाडी घोषणा गर्न बाँकी रहेकोले विदेशी खेलाडी अनुबन्धपछि लुम्बिनीको टिम अझ सन्तुलित र बलियो बन्न सक्छ ।

पहिलो सिजनको प्रदर्शन

राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल नै मार्की र कप्तान रहेको लुम्बिनी टिम पहिलो सिजन सन्तुलित देखिएपनि राम्रो प्रदर्शन गर्न सकेन ।

लुम्बिनीको प्रदर्शन खराब हुँदा अपेक्षा विपरित लुम्बिनी अन्तिम स्थानमा रह्यो । लुम्बिनीले सुरुवात चार खेलमा हार बेहोरेको थियो । पाँचौ खेलमा चितवन राईनोजलाई ३३ रनले हराएर पहिलो जित निकालेको लुम्बिनी त्यसपछि लिगका बाँकी दुई खेलमा पनि पराजित भयो ।

पहिलो संस्करणमा लुम्बिनीलाई भाग्यले पनि साथ दिएन । पहिलो खेलमा विराटनगर किंग्स विरुद्ध १९१ रन बनाएर पनि डिफेण्ड गर्न नसक्दा २ विकेटले पराजित भएको लुम्बिनी दोस्रो खेलमा पोखरा एभेन्जर्स विरुद्ध १७० रन बनाउँदा पनि १० विकेटले पराजित भयो ।

तेस्रो खेलमा सुदूरपश्चिम रोएल्ससँग ४५ रनले पराजित भएको लुम्बिनी चौथो खेलमा जनकपुर बोल्ट्ससँग १३७ रनको लक्ष्य पछ्याउँदा पनि अप्रत्यासित रुपमा १ रनले चुकेको थियो । त्यसपछि चितवन राइनोनलाई ३३ रनले हराएर पहिलो जित हात पारेको लुम्बिनी लयमा फर्कने प्रयास गरेपनि सकेन ।

एनपीएल २०२४ मा लुम्बिनी लायन्स

छैटौ खेलमा काठमाडौं गोर्खाज विरुद्भ १०४ रनको लक्ष्य पछ्याउँदा पनि लुम्बिनी ८५ रनमा अलआउट हुँदै १८ रनले पराजित भएको थियो । यस्तै लिगको अन्तिम खेलमा कर्णाली याक्ससँग १२९ रनको लक्ष्य पछ्याउँदा ५ रनले पराजित भएको थियो ।

लुम्बिनीलाई पहिलो सिजन प्रदर्शन र भाग्य दुवैले साथ दिएन । यद्यपी कप्तान रोहितले भने २७९ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा रहे । बलिङतर्फ साद विन जफर र रामोन्ड सिमोन्सले ७ खेलमा समान ९ विकेट लिएका थिए ।

यस्तै युवा स्पीनर अभिषेश गौतमले ४ खेलमा ६ विकेट लिएर राम्रो सम्भावना देखाएका थिए । त्यही प्रदर्शनका कारण उनी दोस्रो संस्करणका लागि रिटेन पनि भएका छन् ।

लुम्बिनी लायन्स टिम

रिटेन गरिएका खेलाडी : रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन
अक्सनमा अनुबन्ध खेलाडी :दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल
विदेशी खेलाडी : डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब
मेन्टर : रोबिन सिंह
मुख्य प्रशिक्षक : टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुवास खकुरेल

एनपीएल २०२५ लुम्बिनी लायन्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय