+
+
Shares

रवि र छविको मुद्दा न्यायाधीशद्वय ओमप्रकाश र बासुदेवको इजलासमा  

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । यसअघि २० कात्तिकको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १२:२९

२७ कात्तिक, बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी बिहीबार (आज) का लागि तोकिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । यसअघि २० कात्तिकको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो ।

गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । सुरु मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको कुँवरले बताए ।

यसअघि १३ कात्तिकमा तोकिएको पेशी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

आजको पेशी स्थगित हुने नहुने अझै यकिन नभएको कुँवरले बताए ।

त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो ।

यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो ।

यसअघि लामिछानेले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले २६ साउनमा उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?