News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिपुर थिएटरले दीपल बरालको निर्देशनमा 'महारानीको जात्रा' नाटक २४ कात्तिकदेखि २० मंसिरसम्म गैरीधारास्थित थिएटरमा मञ्चन थालेको छ।
- नाटकमा उषा रजकले दरबारकी चञ्चले, हठी र आत्मविश्वासी महारानीको भूमिका निभाएकी छन्।
- नाटकले दरबारको गरिमा, महारानीको आत्ममुग्धता र 'श्रीपेच' हराउने घटनालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ।
काठमाडौं । कान्तिपुर थिएटरले तेस्रो नाटक ‘महारानीको जात्रा’ मञ्चन थालेको छ ।
दीपल बरालको परिकल्पना तथा निर्देशन रहेको नाटकको मञ्चन २४ कात्तिकदेखि २० मंसिरसम्म गैरीधारास्थित थिएटरमा हुनेछ ।
नाटकको शीर्ष पात्र ‘महारानी’ को भूमिकामा उषा रजकले अभिनय गरेकी छन् । दरबारकी चञ्चले, हठी र आत्मविश्वासी महिलाको भूमिकामा उनी प्रस्तुत छिन् ।
उनका हरेक हाउभाउमा दरबारको गरिमा र आफ्नै अस्तित्वको प्रदर्शन झल्किन्छ ।
कथावस्तु दरबार वरपर बुनिएको छ । एकदिन छिमेकी राज्यकी महारानीबारे पत्रिकामा प्रकाशित ८ पृष्ठ लामो विशेष लेख पढेपछि, महारानी अस्थिर हुन्छिन् ।
‘उनीबारे ८ पृष्ठ छपिन्छ भने मेरोबारे त कम्तीमा १० पृष्ठ त हुनु नै पर्छ’ भन्ने सोचले उनीभित्र हलचल ल्याउँछ । यही आत्मतुलनाको बिन्दुबाट नाटक रमाइलो र व्यङ्ग्यात्मक मोडमा प्रवेश गर्छ ।

पत्रिकामा आफ्ना उपलब्धि र सौन्दर्यबारे लेख छाप्ने जोशमा उनले दरबारमा ठूला तयारी सुरु गर्छिन् । कथामा महारानीको विवाह खोजदेखि राज्यारोहणसम्मका तयारीका दृश्य बिस्तारै खुल्दै जान्छन् ।
‘महारानीको लेख’ का लागि उपयुक्त दृश्य बन्न थाल्छ । तर यिनै तयारीबीच घटनाहरू हास्यास्पद र व्यंग्यात्मकरूपमा अघि बढ्छन् । कुनै कर्मचारीको गल्ती त कहिले महारानीकै आत्ममुग्धता यी सबैले दरबारमा हलचल ल्याउँछन् ।
यसैबीच, उनको शिरमा लगाइने ‘श्रीपेच’ हराउँछ । जुन कुरामा महारानी अन्जान छिन् । श्रीपेचको खोजीमा महारानीको यात्राले कथालाई गहिराइमा लैजान्छ ।
श्रीपेच फेला पर्ने क्षणसम्म नाटकले दर्शकलाई निरन्तर बाँधिराख्छ । अन्त्यतिर पुग्दा महारानीले बुझ्छिन्- हामी सबै कुनै न कुनै चमकको पछाडि दौडिरहेका छौं, तर त्यो चमकभित्रको सत्य र मूल्यबोध बिस्तारै हराउँदै गएको छ ।’
नाटकले गहिरो दार्शनिक सन्देश बोकेको छ । हामी सबै कुनै वस्तु, पद वा पहिचानको चमक पछाडि दौडिरहेका छौं, तर वास्तविक मूल्य र चेतना भने बिस्तारै हराउँदै गइरहेका छन् ।
निर्देशन सशक्त र सन्तुलित छ । कथा जटिल नबनाई एकनासमा बग्ने भएकाले दर्शकको ध्यान निरन्तर टिकाइराख्छ । रजकको अभिनय केन्द्रमा रहे पनि राज न्यौपाने, सुहाना आचार्य, निकिता आचार्य, दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, श्वेता चौलागाईं र कुशल बास्कोटाले पनि जीवन्त अभिनय गरेका छन् ।
१ घण्टा २० मिनेट लामो यो नाटक बुधबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन भइरहेको छ ।
तस्वीर : अविकृत मुखिया





















प्रतिक्रिया 4