+
+
Shares

यस्तो देखियो बुटवलमा एमालेको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २९ गते १७:५०

२९ कात्तिक, बुटवल । नेकपा एमाले रुपन्देहीले देशव्यापी कार्यक्रम अन्तर्गत  बुटवलमा पनि प्रदर्शन र सभा गरेको छ ।

जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको एमालेले संसद पुनर्स्थापना र सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन र सभा गरेको हो ।

बुटवल राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । बिहान ११ बजे र्‍याली शुरु हुने भनेर एक हप्तादेखि प्रचार भएपनि डेढ घण्टा ढिलो र्‍याली शुरु भएको थियो ।

मिलनचोक अस्पताललाईन हुंदै ट्राफिकचोकमा पुगेर भएको सभामा  बोल्ने एमालेका नेताहरूले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप भइरहेको जिकिर गर्दै एमालेले त्यसलाई स्वीकार नगर्ने बताएका थिए। सभाका मुख्य वक्ता एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले  एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्त्वहरूले सिंगो मुलुक र एमालेविरूद्ध षड्यन्त्र गरेर भदौ २३ र २४ गतेको घटना घटाएको तर्क गरे ।

एमाले पोलिटब्युरो सदस्य लिला गिरीले एमाले संविधान, राष्ट्रियता र समृद्धिका पक्षमा उभिएको भन्दै अहिले संविधान संकटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताए ।

नेकपा एकीकृत समाजवादी छाडेर केही समयअघि एमाले प्रवेश गरेका युवा संघका पूर्व उपाध्यक्ष राजु गुरुङले जेनजी आन्दोलनको आवरणमा राष्ट्रिय र निजी सम्पत्ति छानी छानी आगजनी र तोडफोड गरिएको भन्दै अबका दिनमा आफूहरू प्रतिकारमा उत्रिने चेतावनी दिए ।

युवा संघका निवर्तमान महासचिव सुमन पुरीले राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीका विरूद्ध दृढ भएर उभिने बताए ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरे ।

एमालेको बलियो सांगठानिक आधार भएको रुपन्देहीमा शनिबार भएको प्रदर्शनमा करिब दुई हजार र सभामा ४ हजार जनाको उपस्थिति भएको सुरक्षा निकायले आंकलन गरेको एक प्रहरी अधिकृतले बताए ।

एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीका अनुसार, रुपन्देहीमा एमालेका करिब १६ हजार संगठित पार्टी सदस्य छन् । यस हिसाबले  आजको र्‍याली र सभामा पार्टीका अधिकांश संगठित सदस्य नै उपस्थित नभएको देखिन्छ ।

एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले आजको प्रदर्शन स्वतस्फुर्त र कुनै खर्च नगरी आयोजना गरिएकाले सन्तोषजनक उपस्थिति भएको तर्क गरे ।

एमाले उपाध्यक्ष एवं रुपन्देही २ का निवर्तमान सांसद विष्णुप्रसाद पौडेलले पनि बुटवलको  र्‍याली र सभाको उपस्थितिलाई गौरवपूर्ण विरासतलाई नयाँ उचाईबाट निरन्तरता दिने सङ्कल्पका साथ अघि बढेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?