News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन मेडिकल कलेजमा पहिलोपटक आयोजना गरिएको रोबोटिक सर्जरी कन्फ्रेन्समा विभिन्न अस्पतालका चिकित्सकहरूले प्रत्यक्ष शल्यक्रिया हेरेका छन्।
- रोबोटिक सर्जरीले पोस्टेट क्यान्सर र मिर्गौलाको नली साँघुरो भएका बिरामीलाई कम क्षति र बढी फाइदा हुने चिकित्सकहरूले बताएका छन्।
- चितवन मेडिकल कलेजमा हालसम्म १६ जना बिरामीमा रोबोटिक शल्यक्रिया गरिएको र सबैको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।
३० कात्तिक, चितवन । नेपालमा सर्जनहरुले आफैंले प्रत्यक्ष संलग्न भएर सर्जरी गर्ने गरेको भए पनि रोबोटको सहायताले गरेको सर्जरी उनीहरुकै लागि भने रूचिको विषय बनेको छ ।
चितवन मेडिकल कलेजमा नेपालमा नै पहिलोपटक आयोजना गरिएको रोबोटिक सर्जरी गोष्ठीमा संलग्न भएका चिकित्सकहरुले कलेजको शल्यक्रिया थिएटरमा रोबोर्टिक प्रविधीबाट गरिएको शल्यक्रिया कन्फ्रेन्स हलमा बसेर उत्सुकतापूर्वक प्रत्यक्ष रुपमा हेरेका थिए ।
क्यान्सर अस्पतालका पूर्वअध्यक्ष एवम् बरिष्ठ युरोलोजिष्ट डा.निर्मल लामिछानेले चितवन कै अस्पतालमा प्रत्यक्ष रुपमा रोबोटको सहायताले गरिएको शल्यक्रिया हेर्न पाउनु खुसीको विषय भएको बताए ।
उनले बिरामीहरूका लागि रोबोटिक शल्यक्रिया निकै फाइदाजनक हुने बताउँदै बिरामीलाई आर्थिक रूपमा धान्न सक्ने बनाउन सके प्रविधि पनि दीगो हुन सक्ने विचार राखे । क्यान्सर अस्पतालमा पोष्टेटका क्यान्सर भएका धेरै बिरामी आउने गरेको स्मरण गर्दै डा. लामिछानेले रोबोर्टिक सर्जरी पोस्टेटको क्यान्सरमा बढी लाभदायक हुने बताए ।
क्यान्सर अस्पतालकै युरोलोष्टि तथा उपनिर्देशक डा.उमेश नेपालले रोवोटको सहायताले गरिएको अप्रेशन कन्फ्रेन्स कक्षमा बसेर डेढघण्टासम्म रुचिपूर्वक हेरेको बताए ।
मिर्गौलाको नली साँघुरो भएका एक बिरामीको रोबोर्टिक प्रविधिको सहायताबाट शल्यक्रिया गरिएको प्रत्यक्ष देखाइएको थियो । डा. नेपालले शरिरका सानो सानो भागमा पनि सजिलैसँग गएर शरिरलाई कम क्षति हुने गरी शल्यक्रिया हुँदा बिरामीलाई निकै फाइदा हुने देखिएको बताए ।
पोस्टेटका क्यान्सर भएका बिरामीको हकमा यो प्रविधि निकै बरदान नै सावित हुने भएकोले आफू कन्फ्रेसमा सहभागी भएर रुचीपूर्वक हेरेको डा. नेपालले बताए ।
उनले साधारण तरिकाले भन्दा रोवोटको सहायताले शल्यक्रिया गर्दा १० गुणा राम्रो हुने भन्दै क्यान्सरका बिरामीका लागि यो प्रविधि अझै बढी प्रभावकारी हुने बताए । उनले सरकारले क्यान्सर अस्पतालहरुमा यस्ता प्रविधिका लागि लगानी गर्नुपर्नेमा जोड दिए ।
कन्फ्रेसमा चितवन, काठमाडौं, विराटनगर, धरान, पोखराका विभिन्न अस्पतालका चिकित्सकसहित भारतको मेदान्त अस्पतालका १५० चिकित्सकहरु सहभागी छन् ।
कन्फ्रेन्समा जीआई सर्जन, यूरो सर्जन, स्त्रीरोग विशेषज्ञ, अंको सर्जन, एनेस्थेसियोलोजिस्ट,जनरल सर्जन तथा रेजिडेन्टहरू र नर्सहरु सहभागी छन् ।
कन्फ्रेन्समा नौ वटा कार्यपत्रहरु पेस गरिएको थियो । ग्यास्ट्रो–इन्टेटाइन सर्जरीमा डा. विशाल आचार्य र डा. सुनिल शर्मा, युरो सर्जरीमा डा.राजिव साह, डा.सम्पन्न चुडाल र डा.प्रतिकमानसिंह गुरूङ, गाइनोकोलोजिष्टमा चिकित्सकहरु डा.केशव आचार्य(सीएमसी), डा.बीरेन्द्र भगत(मेदान्त अस्पताल) र डा.प्रियंक वार्ता(मेदान्त)ले कार्यपत्र पेस गरेका थिए । यस्तै, एनस्थेसिया डा.सुवि रेग्मीले कार्यपत्र पेश गरेकी थिइन् ।
नेपालमा शल्यचिकित्साको भविष्यलाई रोबोटिक नवप्रवर्तन र शुद्धतामार्फत् नयाँ उचाइमा पुर्याउने उद्देश्यले कन्फ्रेन्सको आयोजना गरिएको कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । उनले भारतमा भन्दा सस्तो दरमा कलेजमा बिरामीहरुको रोवोटिक शल्यक्रिया गरिने जानकारी दिए ।
चितवन मेडिकल कलेजका रोबोटिक तथा युरो सर्जन डा. प्रतिकमान सिंह गुरुङले कलेजमा हालसम्म १६ जना रोबोर्टिक प्रविधिबाट शल्यक्रिया गरिएको बताए । उनका अनुसार ति सबै बिरामीहरुको अवस्था सामान्य छ ।
प्रत्यक्ष शल्यक्रिया सहितको यो कन्फ्रेन्सपछि नेपालको रोबोटिक सर्जरीमा नयाँ आयाम थपिने अपेक्षा आफूहरुले लिएको डा. गुरुङको भनाइ छ ।
चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी शुरु भएसँगै आयोजना गरिएको कन्फ्रेन्सले चिकित्सकहरुको यसतर्फको झुकावलाई बढाउन मद्दत गरेको कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले बताए । नेपालमा रोबोटिक सर्जरी भित्र्याउने सिएमसी दोस्रो अस्पताल हो ।
प्रतिक्रिया 4