२ मंसिर, काठमाडौं । राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । सो पार्टीका नेताहरुले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।
मधेशको सबै समस्या समाधान गर्नका लागि आफूले निर्वाचनमा भाग लिने उद्देश्यका साथ दल दर्ता गरी त्यसको प्रमाण पत्र बुझेको सो पार्टीका नेता इरफान हमसेखले बताए ।
उनले आफूहरूले मधेशको समस्या बुझेकाले समाधान गरेर अघि बढने जिकीर समेत गरे ।
‘मधेशको समस्या खत्तम गर्नका लागि पूर्वदेखि पश्चिमसम्म नै हाम्रो संगठन अलरेडी छदैछ । समस्याहरू पहिलेदेखिनै चिन्तित छन् । त्यही समस्या खतम गर्नका लागि यो पार्टी हामीले गठन गरेका हौं,’ उनले भने, ‘हामीले ४/५ वर्षदेखि काम गर्दै आएका छौं । हाम्रो संगठन पुरानै हो, दर्ता मात्रै हामीले अहिले गरेका हौं ।’
दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको सो पार्टीको चुनाव चिन्ह डोजर रहेको छ । नेता हमसेखले मधेशमा विद्यमान भ्रष्टाचारलाई डोजर लगाएर समाप्त पार्न आफूहरू सफल हुने दाबी समेत गरे ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि विभिन्न दलहरुले निर्वाचन आयोगमा दल दर्ताको कामलाई अघि बढाएका छन् ।
प्रतिक्रिया 4