+
+
Shares

आवरणमा पार्टी अध्यक्ष, भित्र अर्कै नेता

चुनावी प्रयोजनका लागि दल दर्ता खुला भएपछि समाजमा पहिले नै स्थापित व्यक्तिहरूले आफ्ना प्रतिनिधिको नाममा नयाँ दल दर्ता गराउने प्रवृत्ति देखिएको छ। कुलमान घिसिङदेखि दुर्गा प्रसाईंसम्मले प्रतिनिधिमार्फत् औपचारिक प्रक्रिया पूरा गरी दल दर्ता गराएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते २२:२१

३० कात्तिक, काठमाडौं । आगामी २१ फागुनमा तोकिएको चुनावमा भाग लिने प्रयोजनका निम्ति दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिएको छ ।

आयोगले तोकेको समयभित्र ३५ वटा दलले दर्ता निवेदन दिएका छन् । यसमध्ये ७ वटाले दल दर्ताको प्रमाणपत्र नै लिइसकेका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अरू २८ वटा दल दर्ताको प्रक्रियामा छन् ।

‘खासगरी कानुन बमोजिम कागजात मगाउने र सनाखत गराउने काम भइरहेको छ । सनाखत सम्पन्न र कागजात प्राप्त भएपछि आयोगबाट निर्णय हुनेछ,’ उनले भने ।

जेनजी विद्रोहको माग अनुसार हुन लागेको मध्यावधि चुनावमा स्वयं जेनजीहरूको अलग्गै दल भने दर्ता भएन । आन्दोलनको अगुवाइ गर्ने जेनजीहरूले दर्ता भएकै दलहरूबाट कुनैलाई समर्थन जनाउने बताइरहेका छन् ।

तर आयोगले चुनावी प्रयोजनका निम्ति दल दर्ता गर्न दिएको समयमा यसअघि नै समाजमा स्थापित भइसकेकाहरूले भूमिका बदल्दै नयाँ दल दर्ता गराएका छन् । त्यसमध्ये एउटा यस्तो प्रवृत्ति देखिएको छ, जसले आफ्ना प्रतिनिधिका नाममा दल दर्ता गराए ।

त्यस्तो शैली अपनाउनेमा कुलमान घिसिङ, जनार्दन शर्मा, घनश्याम भूसाल, रेशम चौधरी र दुर्गा प्रसाईं छन् । उनीहरूले आफ्ना प्रतिनिधिलाई औपचारिक प्रक्रियाका लागि अगाडि बढाएर दल दर्ता गराएका छन् ।

नेपालको संसदीय राजनीतिमा यस्तो शैली नयाँ भने होइन । पञ्चायतकै बेला पनि भूमिगत कम्युनिष्ट पार्टीहरूले जनपक्षीय उम्मेदवार  भनेर निर्दलीय चुनावमा भाग लिन्थे । विशेषगरी तत्कालीन मालेको समर्थनमा देशभर जनपक्षीय उम्मेदवार उठ्ने गरेका थिए भने र कतिपय उम्मेदवारले जिते पनि ।

२०४६ सालको परिवर्तन पछि माओवादी धारले यस्तो अभ्यास गर्‍यो । २०४८ सालमा चुनावी प्रयोजनकै निम्ति जनमोर्चाबाट उम्मेदवारी दिइएको थियो । यसरी उम्मेदवार दिँदा पनि ९ सिट जितेर संसद्को तेस्रो शक्ति बन्यो । २०५१ सालको चुनावमा भने भाग नलिइ सशस्त्र विद्रोहमा माओवादी होमियो ।

आगामी २१ फागुनमा तोकिएको चुनावी प्रयोजनका निम्ति पनि देखाउने नेता एउटा, र वास्तविक नेतृत्व अर्कैले गर्ने अभ्यास हुने देखिएको छ ।

अनुपकुमार उपाध्याय

अन्तरिम सरकारको महत्त्वपूर्ण मन्त्रालयहरू सम्हालिरहेका कुलमान घिसिङले पूर्व चर्चा र अनुमान बमोजिम नयाँ दल दर्ता गरेका छन् ।

तर उनी आफू भने कतै देखिएका छैनन् । चुनाव नलड्ने मानिसहरू मन्त्री बनाउने अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नीति उल्लङ्घन गरेका कुलमानले पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएका छन् ।

पूर्व सचिव उपाध्याय घिसिङकै सचिवालयमा काम गरिरहेका थिए । उनै उपाध्याय संयोजक भएर ‘उज्यालो नेपाल’ नामक पार्टी दर्ता भएको छ । यो दलको केन्द्रीय समितिमा रहेका ५१ सदस्यीय घिसिङले चुनेका व्यक्तिहरू हुन् ।

अर्थात् निर्वाचन आयोगको रेकर्ड र औपचारिकतामा मात्रै उपाध्याय संयोजक हुन्, खास नेता कुलमान घिसिङ नै हुन् । केन्द्रीय समितिमा बसेकाहरूले पनि यस्तो तथ्य लुकाएका छैनन् ।

कवीर सोब

कुलमान घिसिङले अपनाएको शैलीलाई यसअघिबाटै अभ्यास गर्दै आएका रेशमलाल चौधरीले पनि नयाँ दल बनाएका छन् । रेशमको नयाँ पार्टीको नाम हो, ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ ।

नयाँ पार्टीका अध्यक्ष कवीर सोब छन्, र संरक्षकमा रेशम चौधरी बसेका छन् । अर्थात् नयाँ दलको खास नेता रेशम हुन्, कवीर औपचारिक अध्यक्ष ।

२५ वर्षीय कबीरलाई अध्यक्ष बनाउनुपर्ने बाध्यता भने पत्नी रञ्जितासँगको विवाद हो । रेशमले २०७९ को चुनावमा पनि यस्तै शैली अपनाएका थिए ।

टीकापुर घटना पछि राजनीतिमा आएका रेशमले पत्नी रञ्जिताको नाममा नाउपा दर्ता गरेका थिए । आफू जेलमा रहँदा रञ्जिताको नाममा दल दर्ता भएको नाउपाले अप्रत्यासित मत पायो । प्रतिनिधि सभामै चार जनाले जितेका थिए भने प्रदेश सभा तर्फ पनि उल्लेख्य संख्यामा सांसदहरू जितेका थिए ।

तर औपचारिकताका निम्ति अध्यक्ष राखिएकी पत्नी रञ्जितासँग विवाद बढ्दै जाँदा रेशमले कबीरलाई अध्यक्ष बनाउँदै नयाँ दल दर्ता गराएका छन् ।

सविन सिग्देल

माओवादी पुनगर्ठन गर्ने भन्दै एकीकृत समाजवादी सहितका दलहरूसँगको एकता प्रक्रियामा सामेल नभएका जनार्दन शर्माले पनि छुट्टै दल दर्ता गरेका छन् । तर शर्मा आफैं पार्टी अध्यक्ष छैनन् । उनले सविन सिग्देललाई अध्यक्ष राखेर ‘प्रगतिशील नागरिक पार्टी’ गठन गरेका छन् ।

प्रचण्डले पार्टीको नेतृत्वबाट विदा लिनुपर्ने वकालत गर्दै आएका शर्माले चुनाव चिन्ह भने तीनपाते फूल प्रस्ताव गरेका छन् । निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाका निम्ति औपचारिक अध्यक्षमा सिग्देललाई प्रस्ताव गरेका शर्माले त्यसअघि सुदन किरातीलाई संयोजक बनाएका थिए ।

एकता प्रक्रियामा गएको पार्टी नाम र चिन्ह एक वर्षसम्म प्रयोग गर्न नपाइने वैधानिक व्यवस्थाका कारणले शर्माले नयाँ पार्टी प्रस्ताव गर्नुपर्ने हुन्थ्यो । त्यसैले शर्माले ‘प्रगतिशील नागरिक पार्टी’ बनाए । यसको संयोजक सुदन किराती छन् ।

आयोगमा दर्ता हुँदा पनि सुदन पनि रहेनन् । र, सिग्देशको अध्यक्षमा निवेदन दिइयो ।

राजकुमार कक्षपति

जनार्दन शर्माकै जस्तो समस्यामा थिए, घनश्याम भूसाल । अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीलाई माओवादी सहितका दलहरूसँग एकता गर्ने निर्णय लिएका थिए ।

एकता प्रक्रियामा भाग नलिएका भूसालले पार्टी पुनर्गठन अभियान चलाएका छन् । तर एकीकृत समाजवादी नाम राख्न उनले पाउने छैनन् ।

त्यसैले नयाँ पार्टी दर्ता गराउने नीति भूसालले लिए । जसअनुसार राजकुमार कक्षपति संयोजक र नन्दलाल बन्जाडे सह–संयोजक रहेको ‘नेकपा (वाम केन्द्र)’ दर्ता प्रक्रियामा छ । चुनाव चिह्न सूर्यमूखी फूल प्रस्ताव गरिएको छ ।

माधवप्रसाद खतिवडा

खास व्यक्ति पछाडि बसेर आफ्ना प्रतिनिधिलाई औपचारिक प्रक्रियामा अगाडि बढाउने नीति दुर्गा प्रसाईंले पनि लिएका छन् ।

‘नागरिक बचाउ दल नेपाल’ नामक दल प्रसाईँले अगाडि बढाएका हुन् । यो दलका सभापति छन्, माधवप्रसाद खतिवडा । निर्वाचन आयोगमा नयाँ दलको सभापति भएर जानुअघि उनी दुर्गा प्रसार्इँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक अभियानका प्रवक्ता थिए ।

प्रसाईंलाई साथ दिँदै आएका खतिवडा सभापति रहेको दलमा २७ जना केन्द्रीय सदस्य छन् । यो दलले चुनाव चिह्न जोडी पाइला राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?