३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् ।
नेकपा एमालेका नेताहरूलाई बारामा निषेध गरिएको घटनातर्फ इंगित गर्दै उनले बुधबार यस्तो आग्रह गरेका हुन् ।
महामन्त्री शर्माले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको पनि बताएका छन् ।
‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्,’ शर्माले एक्समा पोस्ट गरेका छन्, ‘अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।’
महामन्त्री शर्माले भ्रमणको वातावरण नबनाएसम्म चुनाव नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराएका छन् ।
नेता शर्माले सिमरा घटनालाई दुःखद् भनेका छन् । भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कुण्ठित गर्न नमिल्ने उनले स्मरण गराएका छन् ।
‘आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधानप्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो ।’
महामन्त्री शर्माले चुनावको विपक्षमा उभिएको भए एमालेलाई चुनावमा आउन र जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएको भए संयमित भएर बोल्न आग्रह गर्नुपर्नेमा जोड दिएका छन् ।
‘एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं । मधेश प्रदेशमा सही कर्म गरेन त, त्यसविरुद्ध दबाब दिऊँ । जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं,’ शर्माले लेखेका छन् ।
प्रतिक्रिया 4