३ मंसिर, काठमाडौं । चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने नारायणी पुलमा दुई रात सवारीसाधन चलाउन रोक लगाइने भएको छ ।
नारायणी पुलको पश्चिम (नवलपुर) तर्फको एप्रोच सडक कालोपत्रका लागि ५ र ६ मंसिर राति सवारीसाधन चलाउन रोक लगाइएको नारायणगढ-बुटवल सडक योजनाका इन्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
नारायणी पुलको गैंडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्नका लागि ५ र ६ मंसिर राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले बताए ।
उनका अनुसार बुटवलबाट नारायणगढतर्फ छिर्ने यात्रुबाहक सवारीसाधनहरू थुम्सीदेखि भेडाबारीमा र ठूला मालबाहक सवारीसाधनहरू बेल्डिहादेखि प्रगतिनगरमा रोकिने छ ।
यसैगरी नारायणगढबाट बुटवलतर्फ जाने यात्रुबाहक सवारीसाधनहरू मुग्लिन-नारायणगढ सडकको रामनगरदेखि जुगेडी र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङमा रोकिने छ ।
मालबाहक सवारीसाधनको हकमा मुग्लिन-नारायणगढ सडकको जुगेडीदेखि दासढुंगा र पूर्वपश्चिम राजमार्गको गोन्द्राङदेखि टिकौलीमा रोकिने उनले बताए ।
सडक योजनाले उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न समेत आग्रह गरेको छ ।
प्रतिक्रिया 4