३ मंसिर, काठमाडौं । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बाराको सिमरामा बुधबार बिहान भएको घटनापछि गृहमा साँझ बैठक बसेको हो ।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका एक जना रथी, गृहसचिव रामेश्वर दंगाल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायत सहभागी थिए ।
बैठकले मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायहरूबाट सुरक्षा चुनौतीको प्रस्तुति, छलफल एवं सोको समीक्षा र विश्लेषणसमेत गरिएको जनाइएको छ ।
त्यस्तै, बैठकमा वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायहरूले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
स्रोतका अनुसार, बुधबार भएको बाराको घटनाबारे पनि केहीबेर छलफल भएको थियो । सिमरा विमानस्थल गेटमा बुधबार बिहान जेनजीहरूले प्रदर्शन र तोडफोड गरेका थिए ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत बारामा आयोजित एक कार्यक्रममा जान लागेको भन्दै युवाहरू विरोधमा उत्रिएका थिए ।
उनीहरूले नेताका पोस्टर जलाउने, तोडफोड गर्ने लगायतका घटना घटाएका थिए ।
उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय, बाराले साँझ ८ बजेसम्मका लागि कर्फ्यू जारी गरेको थियो ।
प्रतिक्रिया 4