+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

लाप्राकमा बल्ल पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली

धार्चे गाउँपालिका-४ मा पर्ने उक्त बस्तीमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८२ मंसिर ४ गते १५:२२

४ मंसिर, गोरखा । लाइन बिस्तार भएको करिब चार वर्षपछि लाप्राकमा केन्द्रीय प्रसारणलाइनको बिजुली बलेको छ ।

धार्चे गाउँपालिका-४ मा पर्ने उक्त बस्तीमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

‘आज वडा कार्यालयमा मिटर बक्स जडान गरेर बिजुली बाल्यौं,’ कार्यालय प्रमुख चीजबहादुर गुरुङले भने, ‘बस्तीका घरधुरीमा मिटर जडानको काम भइरहेको छ ।’ बक्स जडान भएसँगै घरघरमा बिजुली बल्ने उनले बताए ।

उनका अनुसार पहिलो चरणमा ६० घरधुरीमा मिटर बक्स जडान हुने छन् । जडानका लागि दुई जना प्राविधिक खटाइएको छ ।

निवेदनको आधारमा मिटर बक्स जडान गर्न लागिएको जानकारी गराउँदै उनले भने, ‘हालसम्म ८० वटा निवेदन परेका छन्, बाँकी संकलन हुँदैछ ।’

भूकम्प पश्चात गुप्सीपाखामा निर्माण भएको एकीकृत नमुना बस्ती र लाप्राकको पुरानो गाउँका सबै घरधुरीमा मिटर जडान गरिने उनले बताए । लाप्राकमा मात्रै करिब ६ सय घुरधुरी छन् ।

करिब चार वर्षअघि नै ११ केभी क्षमताको लाइन बिस्तार भएको लाप्राकमा विद्युत् प्रवाह भने भएको  थिएन ।

आवश्यक मर्मतसहित वितरण लाइन निर्माणको काम सम्पन्न गरेर बिहीबारदेखि विद्युत् प्रवाह गरिएको कार्यालय प्रमुख गुरुङले बताए ।

सिरानचोक गाउँपालिका–२ थालाजुङको ठूलस्वाँरास्थित सबस्टेसनबाट विद्युत् प्रवाह गरिएको उनले जानकारी दिए ।

विद्युत् प्रवाहका लागि तीन वटा ट्रान्सफर्मर राखिएको छ । गुप्सीपाखामा १०० केभीए क्षमताको एउटा र पुरानो बस्तीमा ५०/५० केभीए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको उनले बताए ।

हाल लाप्राकीले लघुजलविद्युतबाट बिजुली बाल्दै आएका छन् । २० र २६ किलोवाटको दुई वटा लघुजलविद्युत् भए पनि पावर नपुग्ने स्थानीयको गुनासो छ । अबका दिनमा समस्या नहुने विद्युत् प्राधिकरणले जनाएको छ ।

‘लघुजलविद्युतबाट बिजुली बाल्दा पावर नपुग्ने, वाइफाइ नचल्ने जस्ता समस्या थियो, अब केन्द्रीय लाइनको बिजुली बालेपछि त्यो समस्या आउँदैन,’ गोरखा वितरण केन्द्र प्रमुख गुरुङले भने ।

प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य र वडाध्यक्ष किसान गुरुङले संयुक्त रूपमा वडा कार्यालयमा बिजुली बालेर केन्द्रीय प्रशारण लाइनको उद्घाटन गरेका छन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?