४ मंसिर, काठमाडौं । नीति अध्ययन प्रतिष्ठानले विदेशमा रहेका नेपाली र नेपालभित्र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहने मतदातालाई मतदानको अवसर दिनका लागि अपनाउनुपर्ने विधिबारे सुझाव तयार गरेको छ ।
प्रतिष्ठान स्रोतका अनुसार अहिले पहिचान गरिएका विधिहरूमध्ये नेपालभित्र अन्तर निर्वाचन क्षेत्र मतदान गराउन सहजै सकिन्छ । विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागी गराउनका लागि भने तत्काल केही जटिल हुनसक्छ ।
प्रतिष्ठानले कुन उपयुक्त र अनपयुक्त भन्ने कुनै निष्कर्ष नदिइ सरकार र निर्वाचन आयोगलाई विकल्पहरूको सुझाव मात्र दिने भएको छ । यसका लागि प्रतिष्ठानले शुक्रबार आयोग पदाधिकारीहरूलाई आफ्नो अध्ययन प्रतिवेदनले औल्याएका विधिबारे ब्रिफिङ गर्ने तय भएको छ ।
नेपालभित्रै मतदाता नामावलीमा नाम भएपनि मतदान हुने जिल्ला र मतदान केन्द्रमा गएर भोट हाल्न नसक्नेका लागि प्रत्येक मतदान केन्द्रमा छुट्टै मतपत्र र मतपेटिका राख्न सकिने अध्ययनको निष्कर्ष छ । यो विधि अनुसार १६५ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा अन्तर क्षेत्रसम्बन्धि प्रत्यक्ष र समानुपातिकका छुट्ट मतपेटिका राख्न सकिन्छ । यस्तो मतपेटिकालाई छुट्टै राखेर गणना गर्न सकिन्छ । छुट्टै गठन गरेको मत जुन क्षेत्रका उम्देवारको हो त्यही लगेर जोडन सकिने प्रतिष्ठानको अध्ययनको निष्कर्ष छ ।
यसअघि समानुपातिकतर्फ मतदान गर्न कर्मचारी, प्रहरी, सेनाका लागि अस्थायी मतदान केन्द्र तय गरिएको थियो । करिब त्यस्तै विधिबाट प्रत्यक्ष र समानुपातिकको मतपेटिका राख्न सकिने प्रतिष्ठानको अध्ययनले औंल्याएको छ ।
तर यसका लागि कानुनी प्रबन्ध गर्नुपर्नेछ । सरकारले चाहेको अवस्थामा कानुनी प्रबन्ध गर्न कुनै समस्या नहुने अधिकारीहरू बताउँछन् ।
विदेशमा रहेका नेपालीहरूको हकमा भने अहिले नै भोटिङको व्यवस्था गर्न सक्ने नसक्ने भन्ने अन्योल छ । तर प्रतिष्ठानले केही विधिहरू सुझावका रुपमा अघि सारेको छ । एउटा अनलाइन भोटिङ र अर्को हुलाकबाट मतदानको विधि तय गरिएको छ ।
अनलाइन भोटिङका लागि त्यसको प्रविधि प्रयोग गर्नका लागि तत्काल व्यवहारिक हुन जटिल छ । हुलाकबाट मतपत्र पठाएर मतदान गराउन सक्ने विधिको प्रयोग गर्न सकिन्छ । विदेशीमा रहेकालाई पनि मतदानको अधिकार दिन थालियो भन्ने सांकेतिक रुपमा सन्देश दिनका लागि यो विधिसम्म चाही अपनाउन सकिने प्रतिष्ठानका अधिकारीहरूको बुझाइ छ । प्रत्येक नियोगमा त्यहीँ मतपेटिका राखेर मतदान गराउन चाहीँ व्यवहारिक रुपमा सहज हुन गार्हो हुने अध्ययनकर्ताहरूको निष्कर्ष छ ।
निर्वाचन आयोग र सरकारलाई बुझाएपछि आयोगले अध्ययन प्रतिवेदनमाथि सरोकारवाला र विज्ञहरूसँग पनि छलफल गर्ने तयारी गरेको प्रतिष्ठानका प्रबन्धक लक्ष्मण भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नीति तथा अध्ययन प्रतिष्ठानलाई एक महिना अघि पत्र पठाएर विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिन सकिने नकिनेबारे अध्ययन गर्न भनेको थियो ।
सरकार बने लगत्तै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मतदानका लागि प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका थिए ।
जेनजी आन्दोनलकारीहरूले पनि यो माग राखिरहेको सन्दर्भमा सरकारले यसको सम्भाव्यताबारे नीतिगत रुपमै अध्ययन गर्न सरकार मातहतको थिंकट्यांकलाई अनुरोध गरेको थियो ।
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा गृह मन्त्रालयका अधिकारीहरूले तिहारअघि निर्वाचन आयोगसँग पनि परामर्श गरेका थिए ।
निर्वाचन आयोगले विगतमा विदेशमा रहेका नेपालीलाई मतदानको प्रबन्ध गर्नका लागि कानुनी आधार तयार गर्नुपर्ने सुझाव सरकारलाई यसअघि नै दिएको थियो । तर तत्कालीन सरकारले निर्वाचन आयोगसम्बन्धि संशोधन ऐन अघि बढाएन । अहिले जेनजी आन्दोलनपछि तत्कालै यो माग आएकाले सरकारले यसमा तदारुकता दिएको थियो ।
प्रतिक्रिया 4