८ मंसिर, रुकुमपूर्व । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पासँग सिधा जोडिने मध्यपहाडी लोकमार्गको मुख्य भाग मानिने रानीकोट–किटिनी सडकखण्ड करिब एक महिनापछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।
सो सडकखण्ड १२ कात्तिकदेखि मर्मतका लागि बन्द गरिएको थियो ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीका अनुसार जोखिमयुक्त दुई स्थान मुसिकोट नगरपालिका –८ को किटिनी र रुकुमपूर्वको सिस्ने गाउँपालिका-६ को रानीकोटमा ढलानपछि आजदेखि सडक सञ्चालन गरिएको हो ।
किटिनीको भिरालो सडक वर्षौंदेखि जोखिमपूर्ण मानिँदै आएको छ । प्राविधिक मूल्यांकनमा थप कटिङले पहिरोको जोखिम बढ्ने प्रस्ट भएपछि सडकलाई ढलान गरेर मजबुत बनाइएको उनले बताए ।
यस्तै स्थानीयले ‘अति जोखिमयुक्त मोड’ भनेर चिन्ने रानीकोट खण्डमा पनि ढलान गरिएको छ ।
यात्रु तथा मालबाहक सवारी दुवैका लागि वर्षौँदेखि रहेको जोखिम यस मर्मतसँगै अंत्य भएको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।
अति जोखिमयुक्त स्थानमा ढलान भएपछि सडकको अवस्था स्थिर र सुरक्षित बनेको उनको भनाइ छ ।
‘अधिकांश खण्ड कालोपत्रे भइसकेको र बाँकी भाग पनि चरणबद्ध रूपमा कालोपत्रे हुँदैछ । अब यात्रुबाहक र मालबाहक सवारीसाधनका लागि यात्रा सहज हुन्छ,’ परियारले भनिन् ।
दुई जिल्लाको सर्वपक्षीय बैठकको निर्णयअनुसार खण्ड १२–३० कात्तिकसम्म बन्द गरिएको थियो ।
तर मर्मत बाँकी रहेपछि ७ मंसिरसम्मको अतिरिक्त अवधि थपिएको थियो । बन्द अवधिमा साना सवारी खलङ्गा–छिङ–धाउन्ने रुटमा चलाइएको थियो भने ठूला सवारी खलङ्गा–छिनखेत–पिपल–पोखरा हुँदै रुकुमकोट झर्दै आएका थिए ।
रानीकोट–किटिनी खण्ड रहेको मध्यपहाडी लोकमार्ग रुकुमपूर्वदेखि रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज हुँदै डोल्पासम्म जोडिने महत्वपूर्ण करिडोर हो ।
प्रतिक्रिया 4