News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ११ महिनापछि खेलकुद विकास परिषद्को सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेको छ।
- परिषद्को सदस्यसचिव विश्वामित्र संज्यालसहित पदाधिकारीको कार्यकाल गत वर्ष पुस ६ गते सकिएको थियो।
- परिषद्ले पूर्णता नपाउँदा रङ्गशाला निर्माणको काम एक प्रतिशत बाँकी रहेको र भुक्तानीमा असर परेको छ।
१० मंसिर, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव नियुक्तिका लागि ११ महिना पछि बल्ल प्रक्रिया थालिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले पद रिक्त भएको ११ महिनापछि परिषद्को सदस्यसचिवका निम्ति दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले मंगलबार (मंसिर ९) एक सूचनामार्फत दरखास्त आह्वान गरेको छ । योग्यता पुग्ने इच्छुक नेपालीले १५ दिनभित्र दरखास्त पेस गर्न सक्ने मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ बमोजिम सूचना जारी गरिएको र सोही ऐनको प्रावधानअनुसार दरखास्त प्राप्त भएपछि थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
परिषद्का तत्कालीन सदस्यसचिव विश्वामित्र संज्यालसहितका पदाधिकारीको कार्यकाल गत वर्ष पुस ६ गते सकिएको थियो । तर सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच परिषद्को उपाध्यक्ष र सदस्यसचिव कसले लिने भन्ने विषयमा कुरा नमिल्दा परिषद्ले पूर्णता पाउन सकिरहेको थिएन ।
परिषद्को सदस्यसचिव समयमै नियुक्त नगरिएको भन्दै प्रदेश सरकारको चर्को आलोचना भइरहेको थियो । प्रदेश सरकारले यसअघि सदस्यसचिव नियुक्त नहुञ्जेलसम्म आर्थिक अधिकारसहितको कामकाज गर्न सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखामा कार्यरत उपसचिव (दसौं) जवाहरलाल हमाललाई नियुक्त गरेको थियो । तर, अदालतले उक्त निर्णय बदर गरेको थियो ।
परिषद्ले पूर्णता नपाउँदा रङ्गशाला निर्माणको काम एक प्रतिशत बाँकी रहेको र भुक्तानीमा समेत असर परेको छ ।



प्रतिक्रिया 4