+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
८ बलमा १६ रन आवश्यक
विराटनगर किंग्स 2025
145/7 (18.4)
Shares

हङकङ आगलागी : मृतकको संख्या १२८ पुग्यो, २०० जना अझै बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हङकङको ताइ पो जिल्लास्थित आवासीय भवनमा भएको आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ।
  • आगलागीमा २०० जनाको अवस्था अझै अज्ञात छ र उद्धार कार्य समाप्त भएको अधिकारीहरूले बताएका छन्।
  • आईसीएसीले आगलागीको अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिएको छ र १३ स्थानमा छापा मारेको छ।

१२ मंसिर, काठमाडौं । हङकङको आवासीय भवनमा भएको आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ । मृत्यु हुनेमा एक जना अग्नि नियन्त्रक समेत छन् ।

२०० जनाको अवस्था अझै अज्ञात छ । आगो नियन्त्रणमा आएसँगै अधिकारीहरूले उद्धार कार्य समाप्त भएका बताएका चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

हङकङको ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार बुधबार दिउँसो २ बजेदेखि आगलागी सुरु भएको थियो ।

मर्मतका लागि लगाइएको बाँसको स्काफफोल्डिङबाट आगो अन्य भवनमा समेत फैलिँदा ठूलो मानवीय क्षति भएको छ ।

अचानक आगलागी हुँदा घना बसोबास रहेको भवनमा थुप्रै मानिस फसेका थिए । अधिकारीहरूले आगलागी भएको भवनबाट जलेका १०८ जनाको शव निकालेका छन् भने १६ जनाको शव अझै भित्रै रहेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जिएनले जनाएको छ । ८९ जनाको शवको पहिचान हुन सकेको छैन । ११ जना अग्नि नियन्त्रकसहित ७९ जना घाइते भएका छन् ।

ताइ पो मा रहेको फुक कोर्ट नामक आवासीय क्षेत्रका कूल ८ ब्लकमध्ये ७ वटामा आगलागी भएको थियो । अग्नि नियन्त्रण विभागका प्रमुख एन्डी येउङले आगलागी सुरु हुँदा पनि अपार्टमेन्टका कुनै पनि टावरमा आपतकालीन साइरन नबजेको बताउँदै ठेकेदारहरूलाई कारबाही गरिने बताए । ५०० डिग्रीसम्म तापमान पुगेको भीषण आगलागीका कारण भवनको माथिल्लो तल्लामा समयमै उद्धारका लागि पुग्न नसकिएको उनले बताए ।

वाङ फुक कोर्टका झण्डै २ हजार फ्ल्याटमा ४ हजार ६०० भन्दाबढी मानिसको बसोबास रहेको आठ टावरमा सन् २०२४ को जुलाईदेखि मर्मतको काम भइरहेको थियो ।

बाँसको मचान (स्काफफोल्डिङ) र हरियो जालीले टावरहरू घेरिएको थियो । तर, अधिकारीहरूले हरियो जाली सुरक्षा मापदण्ड अनुसार नै प्रयोग भएको बताउँदै फ्ल्याटको झ्यालमा रहेका अत्यधिक ज्वलनशील पोलिस्टीरिन फोमका कारण आगो चाँडै फैलिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

 एउटा टावरबाट अर्को टावरको दूरी निकै नजिक हुँदा पनि आगो छिटै चारैतिर फैलिएको थियो ।

हङकङमा रहेका धेरै इन्डोनेसियाली नागरिकहरू वाङ फुक कोर्ट जस्ता अपार्टमेन्टका फ्ल्याटहरूमा घरेलु कामदारका रूपमा काम गर्छन् ।

 इन्डोनेसियाका महावाणिज्यदूत युल एडिसन शव पहिचान गर्न शुक्रबार घटनास्थल पुगेका थिए । उनका अनुसार हालसम्म मृतकमध्ये कम्तीमा दुई जना इन्डोनेसियाली नागरिक भएको भेटिएको छ । आप्रवासीको हितमा काम गर्दै आएको एक गैरसरकारी संस्थाका अनुसार भवनमा बस्ने ११९ जनामध्ये ११ जना इन्डानेसियाली घरेलु कामदार अझै बेपत्ता छन् ।

फिलिपिन्सको वाणिज्य दूतावासले पनि एक जनाको मृत्यु भएको र अर्का एक घरेलु कामदार बेपत्ता रहेको जनाएको छ । दूतावासका अनुसार एक जना घाइते भएका छन् र २४ जना फिलिपिनी सम्पर्कमा आएका छन् ।

आगलागीमा मृत्यु भएकाहरूको शोकमा हङकङमा शुक्रबारदेखि सोमबारसम्म राष्ट्रिय र हङकङको झण्डा आधा झुकाइने भएको छ । विदेशमा रहेका नियोगमा समेत झण्डा आधा झुकाउने निर्णय भएको छ ।

अति आवश्यक बाहेक कुनै पनि सार्वजनिक कार्यक्रम नगर्ने हङकङ सरकारको निर्णय छ ।

हङकङका नेता जोन ली का–च्युसहित वरिष्ठ अधिकारी र मन्त्रीहरूले शनिबार बिहान ८ बजे हुने शोक सभामा तीन मिनेट मौन धारणा गर्नेछन् ।

हङकङको भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग (आईसीएसी) ले आगलागीको अनुसन्धानका लागि भन्दै अहिलेसम्म ८ जनालाई नियन्त्रणमा लिएको छ । अपार्टमेन्ट निर्माण कम्पनी विल पावर आर्किटेक्ट्सका परामर्शदातासहित थप ६ जनालाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो ।

आरोपीहरूमा सात जना पुरुष र एक महिला छिन् । पक्राउ परेका मध्ये दुई जना वाङ फुक कोर्टमा निरीक्षणको काम गर्ने विल पावर आर्किटेक्ट्सका परियोजना प्रवन्धक हुन् ।

अन्य दुई जना मर्मतका लागि बनाइएको बाँसको मचान (स्काफफोल्डिङ) कामको सहायक ठेकेदार रहेका छन् भने एक जना विचौलिया रहेको बताइएको छ ।

आईसीएसीले शुक्रबार परामर्शदार्ता र सहायक ठेकेदारका कार्यालयसहित १३ स्थानमा छापा मारेको थियो । आईसीएसीले सम्बन्धित कम्पनीहरूबाट इन्जिनियरिङ कागजात, बैंक रेकर्ड लगायतका फाइल जफत गरेको छ । आगलागीको कारण पत्ता सरकारले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?