१६ असोज, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनको लागि बुधबार बिहान साढे ८ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै मुख्यमन्त्री यादवलाई विश्वासको मत लिने प्रयोजनको लागि बुधबार बिहान साढे ८ बजे बैठक आह्वान गरेको हो ।
मुख्यमन्त्रीले संविधानको धारा १६८ को ४ बमोजिम विश्वासको मत लिने भएकाले उपस्थित हुन सांसदहरुलाई आग्रह गरिएको छ ।
सरकार गठनविरुद्ध परेको तीनवटा रिटमा सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले २४ घण्टा भित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।
संविधानको धारा १६८ को ३ बमोजिम गठित सरकारले २४ घण्टा भित्र विश्वासको मत लिन सर्वोच्चले भनेको थियो । लिन नसकेको खण्डमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको लागि आदेश दिएको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री कार्यालयमा सर्वोच्चको आदेशसहितको पत्र नआएको र आफू प्रदेश प्रमुख कार्यालयमा आएको प्रतिलिपी दिउँसो ३ बजे लिएको पत्रकार सम्मेलनमा गुनासो गरेका थिए ।
उनले सोही प्रतिलिपी बुझे अनुसार त्यसको २४ घण्टा भित्र बुधबार दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएको थियो ।
आज साँझ बसेको सर्वदलीय बैठकमा भोलि बिहान साढे ८ बजे विश्वासको मत लिनको लागि बैठक आह्वान गर्ने निर्णय भएको छ । सोही अनुसार प्रदेशसभा सचिवालयले बैठकको लागि सूचना आह्वान गरेको हो ।
प्रतिक्रिया 4