News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री र टिभी कार्यक्रम प्रस्तोता रीमा विश्वकर्माले कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीबाट राजनीतिमा प्रवेश गरेकी छिन्।
- रीमाले कुलमान घिसिङको १८ घण्टे लोडसेडिङ अन्त्य गर्ने कार्यशैलीबाट प्रभावित भई देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेको बताइन्।
- उनले महिलाहरूको प्रतिनिधित्व, युवाहरूका मुद्दा र अल्पसंख्यक अधिकारको व्यवहारमा उतार्न आफ्नो राजनीतिक भूमिका समर्पित गर्ने प्रण गरेकी छिन्।
काठमाडौं । टिभी कार्यक्रम प्रस्तोता एवं अभिनेत्रीको रुपमा चिनिएकी रीमा विश्वकर्माको करिअरमा दोस्रो चरण सुरु भएको छ ।
उनी कूलमान घिसिङ समर्थित दल ‘उज्यालो नेपाल पार्टी’ बाट राजनीतिमा होमिएकी छिन् । बुधबार आयोजित पार्टीको घोषणा सभामा बोल्दै उनले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताइन् ।
घिसिङको कार्यशैलीबाट आफू प्रभावित भएको उनले बताइन् ।
कार्यक्रममा उनले भनिन्, ‘जब ममा राजनीतिक चेत आयो, यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो दैनिकी र मेरो जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारेको थियो भने त्यो लोडसेडिङ अन्त्यको निर्णय थियो । मैले त्यसैदिन कुलमान घिसिङलाई अगुवा मानेको थिएँ ।’
घिसिङले घर-घरमा उज्यालो ल्याएको भन्दै आफूहरू देश उज्यालो बनाउने अभियानमा लागेको रीमाले बताइन् ।
‘१८ घण्टे लोडसेडिङलाई हटाएर उहाँले तपाईं र हाम्रो घरमा त उज्यालो ल्याइसक्नुभयो । अब उज्यालो नेपाल पार्टीमार्फत देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेका छौं’ उनले भनिन् ।
टेलिभिजन पत्रकारिताको पृष्ठभूमिबाट अघि बढेकी रीमाले थुप्रै म्युजिक भिडियो, केही फिल्म र केही टिभी कार्यक्रम समेत होस्ट गरेकी छिन् ।
‘दुई दशकदेखि म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो समाजसँग जोडिई नै रहेकी छु । अब मैले उठाउने विषय, उठाउने आवाज र म उभिने मञ्च आफ्नो व्यक्तिगत निजी सफलताका लागि मात्र नभएर आवाजविहीनहरूको आवाज बन्न प्रण गर्नेछु’ उनले भनिन् ।
उनी भन्छिन्, ‘महिलाहरूको प्रतिनिधित्व गर्न, युवाहरूले उठाएका मुद्दालाई स्थापित गर्न र राज्यले समान भनेका अल्पसंख्यक तथा उपेक्षित समुदायको अधिकारलाई व्यवहारमा उतार्नका लागि उपयोग गर्ने प्रण गरेको छु ।’
आफ्नो दललाई देश निर्माणको अभियानमा साथ दिन उनको आग्रह छ ।
प्रतिक्रिया 4