News Summary
Generated by OK AI. Editorially reviewed.- एसियाली विकास बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले राष्ट्रिय जल सुरक्षा सूचकांकमा उल्लेख्य प्रगति हासिल गरिरहेको छ।
- नेपालले ग्रामीण जल सुरक्षामा सबैभन्दा राम्रो प्रगति गरेको छ र ९४ प्रतिशत घरधुरीमा पानीको पहुँच पुर्याएको छ।
- सहरी जल सुरक्षा, आर्थिक जल सुरक्षा र वातावरणीय जल सुरक्षा क्षेत्रमा नेपाल अझै कमजोर अवस्थामा रहेको छ।
२२ मंसिर, काठमाडौं । नेपालले जल सुरक्षा सूचकांकमा उच्च प्रदर्शन गरिरहेको पाइएको छ ।
एसियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको ‘एसियन वाटर डेभलपमेन्ट आउटलुक २०२५’ अनुुसार नेपालले राष्ट्रिय जल सुरक्षा सूचकांकमा उल्लेख्य प्रगति हासिल गरिरहेको देखिन्छ ।
यद्यपि, जल प्रशासन सुशासनमा रहेका कमजोरीका कारण भने अझै चुनौती रहेको एडीबीको तथ्यांकमा उल्लेख छ । नेपालले सबैभन्दा राम्रो प्रगति ग्रामीण जल सुरक्षामा गरेको छ ।
ग्रामीण भेगमा सुरक्षित खानेपानी सेवा विस्तारमा नेपाल एसियाली देशमध्ये अग्रणी स्थानमा छ ।
एडीबीले ग्रामीण भेगमा जल सुरक्षासँगै जलको अर्थतन्त्रमा उपभोग (सिँचाय, ऊर्जा र औद्योगिक प्रयोग), सहरी भेगमा सुरक्षित खानेपानी सेवा उपलब्धता, जल सुरक्षा तथा पर्यावरण संरक्षण र जलसँग सम्बन्धित विपद् सुरक्षामा छुट्टाछुट्टै सूचक बनाएर देशहरूको प्रदर्शन अध्ययन गरेको छ ।
यसरी समग्रमा हेर्दा नेपालको ९४ प्रतिशत घरधुरीमा पाइप वा कुनै माध्यमबाट पानीको पहुँच पुर्याएको देखिन्छ । यसमध्ये पानीका स्रोत प्रदूषण हुनु मुख्य चुनौतीका रूपमा देखिएको छ ।
सरसफाइमा नेपालको अवस्था कमजोर देखिन्छ । आर्थिक जल सुरक्षा सूचकांकमा भने नेपालको अवस्था कमजोर छ । नेपालले उपलब्ध पानीको ८ प्रतिशत हाराहारी मात्र आर्थिक उपार्जनमा प्रयोग गरिरहेको देखिन्छ । सिँचाइ र जलविद्युत्मा पर्याप्त अवसर भएर पनि नेपालले त्यसबाट भरपुर फाइदा लिन नसकेको देखिन्छ ।

सहरी भेगको जल सुरक्षामा समेत नेपाल अझै कमजोर अवस्थामा रहेको छ । बढ्दो सहरीकरण र जनसंख्या वृद्धिले सहरी जल सुरक्षामा ठूलो चाप परेको प्रतिवेदनमा उल्लेख छ ।
सहरी क्षेत्रमा पानीको माग वार्षिक १० प्रतिशतका दरले बढिरहेको छ । तर आपूर्ति प्रणाली, ढल निकास र फोहोर पानी व्यवस्थापनमा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ ।
अर्कातर्फ, नदी तथा जलाधारको प्रदूषण र जैविक विविधताको ह्रासले वातावरणीय जल सुरक्षामा समेत नेपालको अवस्था बिग्रिएको देखिन्छ ।
बाढी, पहिरो र हिमताल विष्फोटको उच्च जोखिमले यो सूचकांकमा समेत उल्लेख प्रगति देखिँदैन । विभिन्न चुनौती हुँदाहुँदै सन् २०२५ मा नेपाल सक्षम जल सुरक्षा श्रेणीमा परेको देखिन्छ ।
१४ प्रतिशत घरधुरीमा मात्र प्रदूषणरहित वा सुरक्षित पानीको पहुँच पुग्नु नेपालको मुख्य चुनौती हो । सन् २०१३ यता खुला दिसा गर्ने चलनमा ह्वात्तै कमी आएको देखिन्छ । यस्तो चलन ३५ प्रतिशतबाट झरेर १ प्रतिशतमा भएको छ ।
झाडापखालाका कारण हुने रोगको कमीमा पनि नेपालले उल्लेख्य सुधार गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक जल सुरक्षामा नेपालले २०१३ को तुलनामा केही सुधार गरे पनि पर्याप्त छैन ।
सहरी जल सुरक्षामा ३.३ अंकको सुधार देखिएको छ । वातावरणीय जल सुरक्षामा ०.८ अंकको मात्र वृद्धि छ । जलस्रोत व्यवस्थापन कार्यान्वयनमा नेपालको अवस्था एसियाली मुलुकको औसतभन्दा पनि कम छ ।
प्रतिक्रिया 4