+
+
Shares

समानुपातिक तर्फको बन्द सूची बुझाउने समय थप गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १५:४८

७ पुस, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फको बन्दसूची बुझाउने समय थप गर्न माग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा कांग्रेसका तर्फबाट सहभागी भएका सहमहामन्त्री महेन्द्र यादवले यस्तो माग राखेका हुन् ।

‘मेरो पार्टीको के धारणा छ भने, समानुपातिकको टाइम (समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समय) तपाईंहरूले जुन राख्नुभएको छ त्यो अलिकति अपुग छ । त्यसलाई दुई चार दिन … किनभने मूल २१ गतेको निर्वाचन हो ।’

यसको अर्थ आफूहरू निर्वाचनप्रति अन्यथा रहेको रूपमा नरहेको नबुझ्न उनको आग्रह छ । उनले भनेका छन्, ‘नेपाली कांग्रेस निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छ ।’

निर्वाचनका लागि आफूहरूले आन्तरिक रूपमा धेरै हदलसम्म तयारी गरिसकेको समेत उनले बताए । उम्मेदवार छनोटको कार्य निकै अगाडि बढिसकेको बताए ।

निर्वाचनबिना देशले निकास पाउँदैन भन्ने नै कांग्रेसको धारणा भएको उनले दोहोर्‍याए । उनी थप्छन्, ‘२१ फागुनमा कुनै तलमाथि नगरिकन निर्वाचन गर्न सरकारलाई आग्रह पनि छ ।’

तथापि, कतिपयले यसबारे संशय व्यक्त गर्ने गरेको पाइएको भन्दै उनले भनेका छन्, ‘नेपाली कांग्रेस आधिकारिक रूपमा केन्द्रीय समितिबाट निर्णय गरेर २१ फागुनको निर्वाचनमा सहभागी हुने तय गरिसकेका छौं ।’

समानुपातिक तर्फको बन्द सूची बुझाउने समय भने केही थप गर्न आवश्यक रहेको उनको आग्रह छ ।

समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलले यही १३ र १४ पुसमा समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय छ ।

बन्द सूची पेस गर्दा समानुपातिकमा समावेशी कोटा अनुसार बुझाउनुपर्ने हुन्छ ।

यसअघि २०७९ को चुनावमा २०६८ सालको जनगणनाअनुसार नै समानुपातिकमा समावेशी कोटा निर्धारण गरिएको थियो ।

यसपटक भने २०७८ सालको जनगणना अनुसार समानुपातिकमा समावेशी कोटा निर्धारण गरिएको छ । यसका लागि सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन नै संशोधन गरेको छ ।

राष्ट्रपतिबाट गत शुक्रबार जारी भएको अध्यादेश अनुसार अब २०७८ सालको जनगणना अनुसार समानुपातिकमा समावेशी कोटा बमोजिम राजनीतिक दलहरूले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने हुन्छ ।

प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र ११० सदस्यको चयन एक समानुपातिक निर्वाचन प्रणलीद्वारा गरिन्छ । ११० सिटमा हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको बन्द सूची बुझाउँदा  समानुपातिकमा समावेशी कोटाअनुसार बुझाउनुपर्ने हुन्छ ।

निर्वाचन आयोगका अनुसार संशोधित ऐनअनुसार ११० सिटमै उम्मेदवारी दिँदा खसआर्य ३३, आदिवासी जनजाति–३२, मधेशी–१८, दलित–१५, थारू ७ मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा बुझाउनुपर्ने हुन्छ । समग्रमा ५० प्रतिशत महिला हुनुपर्छ ।

प्रारम्भिक सूची आगामी माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ ।

प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?