७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफ्नो पार्टी चुनावमा भाग लिने गरी अगाडि बढेको बताएका छन् । कतिपयले यसबारे संशय व्यक्त गर्ने गरेको पाइएको भन्दै उनले पार्टीको आधिकारिक निर्णय ख्याल गर्नुपर्ने बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा बोल्दै उनले भने, ‘नेपाली कांग्रेस आधिकारिक रुपमा केन्द्रीय समितिबाट निर्णय गरेर फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने तय गरिसकेका छौँ ।’
निर्वाचनबिना देशले निकास पाउँदैन भन्ने नै कांग्रेसको धारणा भएको उनले दोहो¥याए । उनी थप्छन्, ‘फागुन २१ मा कुनै तलमाथि नगरीकन निर्वाचन गर्न सरकारलाई आग्रह पनि छ ।’
निर्वाचनको लागि आफूहरूले आन्तरिक रुपमा धेरै हदलसम्म तयारी गरिसकेको समेत उनले बताए । उम्मेदवार छनोटको कार्य निकैअगाडि बढिसकेको बताए ।
उनले सरकारले थप केही काम गर्नुपर्ने सुझाए । केही नेतालाई स्थानहदमा राखिएको भन्दै उनले स्थानहदमा रहेको व्यक्तिले कसरी चुनाव लड्ने भन्ने रहेको बताए ।
सुरक्षाको चिन्ता समाजमा रहेको भन्दै उनले यसमा सरकार गम्भीर बन्नुपर्ने बताए । भयमुक्त वातावरणमा मतदान गर्ने वातावरणका लागि थप मेहनतको आवश्यक रहेको उल्लेख गरे ।
कहाँ अप्ठ्यारो परेको छ त्यसमा सुधार गरेर अगाडि जानुपर्ने र समयमै चुनाव गराउनुपर्ने उनको आग्रह छ । ‘हामी निर्वाचनमा गइसक्यौं । स्वस्थ प्रतिस्प्रर्धाको वातावरण हुनुपर्छ । सबैको ध्यान चुनावमै हुनुपर्छ ।’
विदेशमा रहेका नेपालीलाई मताधिकार, अन्तरनिर्वाचन जिल्ला मतदान र नो भोटको विषयमा आफू असहमत नरहेको तर, २१ फागुनमै सम्भव कम रहेको उनले बताए ।
प्रतिक्रिया 4