आजको युगमा विश्वको जुनसुकै कुनाबाट सामान अर्डर गर्दा घरको ढोकामै आइपुग्छ । तर, विडम्बना नेपाल मेडिकल काउन्सिल (NMC) बाट एउटा प्रमाणपत्र लिन चिकित्सकहरू अझै पनि काठमाडौँ नै धाउनुपर्ने बाध्यता छ । यो केवल प्राविधिक ढिलासुस्ती मात्र होइन, नियामक निकायको सोच र संरचनामै रहेको गम्भीर खाडलको एउटा उदाहरण हो ।
नेपाल मेडिकल काउन्सिल एक अर्धन्यायिक संस्था हो, जसको मुख्य जिम्मेवारी बिरामीको सुरक्षा, चिकित्सकको आचरण र डाक्टर–बिरामी बीचको सम्बन्धलाई सन्तुलित राख्नु हो । तर, के आज काउन्सिलले आफ्नो यो अभिभावकीय भूमिका न्यायपूर्ण ढंगले निर्वाह गरिरहेको छ ?
आजका चिकित्सकहरू असुरक्षित छन् । सवारी दुर्घटनामा मृत्यु हुँदा ५ लाख क्षतिपूर्तिको व्यवस्था हुने देशमा, अस्पतालमा उपचारका क्रममा ज्यान जाँदा करोडौँको क्षतिपूर्ति दाबी गरिन्छ । यस्तो असन्तुलित कानुनी र सामाजिक दबाबका कारण चिकित्सकहरू ‘डिफेन्सिभ मेडिसिन’ (उपचारभन्दा प्रक्रिया बचाउने खेल) तिर लाग्न बाध्य छन् ।
पछिल्लो समय मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ (NMA) जस्ता संस्थाहरू राजनीतिक हस्तक्षेप र व्यक्तिगत स्वार्थको छायामा परेका छन् । जसले गर्दा चिकित्सकहरूमा त्रास र असुरक्षा बढेको छ । समाजमा ‘इयाट्रोफोबिया’ (चिकित्सकप्रतिको अविश्वास) फैलिएको छ । अनि दक्ष जनशक्ति विदेश पलायन हुने क्रम तीव्र छ ।
काउन्सिललाई प्रभावकारी बनाउन अब पुरानो ढर्राले चल्दैन । निम्न बुँदाहरूमा तत्काल सुधार आवश्यक छ :
शक्तिशाली मेडिको–लीगल युनिट : चिकित्सकमाथि लाग्ने उजुरी र कानुनी मुद्दाहरूलाई एकद्वार प्रणालीबाट वैज्ञानिक मापदण्डका आधारमा टुङ्ग्याउन एक स्वायत्त युनिट स्थापना गरिनुपर्छ ।
डिजिटल रूपान्तरण : दर्ता, नवीकरण र उच्च शिक्षा (MD/MS/DM) को विवरण स्वत: अपडेट हुने गरी अन्तर्राष्ट्रियस्तरको डाटाबेस निर्माण गरिनुपर्छ । अनलाइन प्रणालीलाई ‘टाइम–बाउन्ड’ (समयबद्ध) बनाइनुपर्छ ताकि चिकित्सकले प्रमाणपत्रका लागि कार्यालय धाउनु नपरोस् ।
पारदर्शिता र जवाफदेहिता : बोर्ड बैठकका निर्णय, बजेट र प्रगति विवरणहरू पारदर्शी रूपमा वेबसाइटमा सार्वजनिक गरिनुपर्छ ।
भविष्यमुखी सोच : टेलिमेडिसिन, एआई–आधारित उपचार र नयाँ नैतिक चुनौतीहरूलाई सम्बोधन गर्न ‘नेपाल–स्पेसिफिक ट्रिटमेन्ट गाइडलाइन्स’ र अनिवार्य जोखिम व्यवस्थापन प्रोटोकल लागू गरिनुपर्छ ।
नेपाल मेडिकल काउन्सिल सुधारको बहस कुनै व्यक्ति विशेषको होइन, यो समग्र स्वास्थ्य प्रणाली जोगाउने अभियान हो । काउन्सिल केवल नियमन गर्ने निकाय मात्र होइन, यो चिकित्सक र बिरामी दुवैका लागि भरोसायोग्य संरक्षक बन्नुपर्छ ।
आउनुहोस्, हाम्रो साझा संस्थालाई स्वायत्त, आधुनिक र बलियो बनाऔं ।
–डा. पाण्डे चिकित्सक हुन् ।
प्रतिक्रिया 4