+
+
Shares

आयोगले यादवलाई सोध्यो : प्रदर्शनका लागि सीडीओसँग अनुमति माग्ने बुद्धि कसले दियो ?

साथै, श्रीलंका र बंगलादेशमा भएका आन्दोलनबाट प्रेरणा लिएर यो आन्दोलन गरेको हो कि होइन ? भन्ने प्रश्न पनि आयोगले गर्‍यो ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष ९ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को प्रदर्शनका विषयमा जेनजी अगुवा पुरुषोत्तम यादवसँग तीन घण्टा बयान लिएको छ।
  • आयोगले शान्तिपूर्ण प्रदर्शनको अनुमति कसले दियो, हिंसात्मक घटनाको जिम्मेवारी को हो र विदेशी प्रभाव छ कि छैन भनेर प्रश्न सोधेको छ।
  • यादवले आन्दोलन शान्तिपूर्ण रहेको र हिंसामा उनीहरूको हात नभएको बताउँदै आयोगलाई लिखित जवाफ एक हप्ताभित्र दिनुपर्ने जानकारी दिएका छन्।

९ पुस, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी अगुवा पुरुषोत्तम यादवसँग तीन घण्टा बयान लिएको छ । बुधबार आयोगले आफ्नै कार्यालयमा बोलाएर भदौ २३ को प्रदर्शन गर्नुअघि जिल्ला प्रशासन कार्यालयमा अनुमति लिने ‘बुद्धि’ कसले दिएको भनेर सोधेको छ ।

यादवलाई आयोगका ६ सदस्यले बयान लिएका थिए । यादवले अनलाइनखबरलाई दिएको जानकारीअनुसार उक्त आन्दोलन कसरी सुरु भयो ? किन सीडीओ कार्यालयमा अनुमति मागियो ? आन्दोलनका लागि पैसाको स्रोत कहाँबाट आयो ? विदेशी प्रभाव छ कि छैन ? हिंसात्मक घटनाहरूको जिम्मेवारी कसको हो ? भन्ने विषयमा केन्द्रित भएर आयोगले प्रश्न सोधेको थियो ।

यादवले जेनजीको तत्कालीन प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अनुमति लिएका थिए । यसै विषयमा आयोगले आफूलाई प्रश्न सोधेको पनि बताए ।

उनका अनुसार आयोगले सोधेको प्रश्न थियो, ‘शान्तिपूर्ण प्रदर्शनको अनुमति सीडीओ कार्यालयमा माग्ने बुद्धि कसले दियो ?’

यादवले जवाफमा भनेका थिए, ‘यो हाम्रो संवैधानिक र मौलिक अधिकार हो, शान्तिपूर्ण भेला हुने र प्रदर्शन गर्ने अधिकार मानव अधिकारकै हिस्सा हो ।’

त्यस्तै, आयोगले आन्दोलनको सुरुवात गर्ने मिति सेप्टेम्बर ८ नै कसरी तोकियो भन्दै सोधेको थियो । यसरी आन्दोलन गर्ने तरिका कहाँबाट आयो र कसले ‘फन्डिङ’ गर्‍यो भन्ने विषयमा समेत सोधपुछ गरेको यादवले बताए ।

आयोगले जेनजी आन्दोलनमा स्कुल ड्रेसमै विद्यार्थीहरू बोलाइएको विषयमा केन्द्रित रहेर उनीमाथि प्रश्न सोधेको थियो । आयोगका प्रतिनिधिले सोधेका थिए, ‘स्कुल ड्रेसमा बच्चाहरूलाई प्रदर्शनमा किन बोलाएको ?’

उनको जवाफ थियो, ‘हामीले कसैलाई पनि स्कुल ड्रेसमा आउनुस् भनेर बोलाएका थिएनौं । यो जेनजीको आन्दोलन थियो, युवाहरू आफैं आएका थिए । यदि बच्चाहरूलाई बोलाउने योजना भएको भए हामी सीडीओकहाँ अनुमति माग्न किन जान्थ्यौं ?’

आयोगले भदौ २४ गते सिंहदरबारलगायतका संरचना र क्षेत्रमा भएको आगलागी र तोडफोडको बारेमा पनि प्रश्नहरू सोधेको थियो । यादवले जवाफ दिए, ‘सिंहदरबार कसले जलायो हामीलाई थाहा छैन । हामी त शान्तिपूर्ण प्रदर्शन गर्न आएका थियौं, सत्ता फेर्न वा हिंसा गर्न आएका थिएनौं ।’

त्यस्तै, अन्य नेताका घरमा पनि आगजनी र तोडफोड भएको प्रसंग कोट्याउँदै आयोगलाई जवाफ दिएको दाबी गर्दै यादवले भने, ‘गगन थापाको घर जलाउने र विद्यादेवी भण्डारीको घर जलाउने मान्छे को हुन् ? त्यसैगरी सिंहदरबार जल्यो । यो कुनै राजनीतिक षड्यन्त्र हुनसक्छ । हाम्रो हात छैन ।’

साथै, भदौ २३ गते राज्य पक्षबाटै प्रदर्शनकारीमाथि दमन भएको कुरा पनि यादवले आयोगलाई सुनाएको बताए । उनले आफूहरूले शान्तिपूर्ण आन्दोलनको मात्र जिम्मेवारी लिनसक्ने बताउँदै राज्यको दमनको जिम्मेवारी पनि तत्कालीन राज्यसत्ताले लिनुपर्ने बताए ।

साथै, श्रीलंका र बंगलादेशमा भएका आन्दोलनबाट प्रेरणा लिएर यो आन्दोलन गरेको हो कि होइन ? भन्ने प्रश्न पनि आयोगले गर्‍यो । विदेशी प्रदर्शनबाट प्रभावित भएर यो आन्दोलन गरिएको हो वा स्वतस्फूर्त गरिएको हो भन्नेमा पनि आयोगले प्रश्न गर्‍यो ।

त्यसबाहेक जेनजी अगुवा यादवको व्यक्तिगत खर्च र आर्थिक स्रोतको बारेमा आयोगले सोधपुछ गर्‍यो । उनी काठमाडौंमा कसरी बसिरहेका छन् ? दैनिक खर्च कसरी चलिरहेको छ ? अनि यिनै जेनजीले प्रदर्शनमा पानी बाँड्ने, गाडीको व्यवस्था, साउन्ड सिस्टमको व्यवस्था कसले गर्‍यो र त्यसको पैसा कहाँबाट आयो भन्ने प्रश्नहरू समेत आयोगले सोध्यो ।

अन्य व्यक्तिगत प्रश्नमा पनि आयोगले चासो देखाएको यादवले सुनाए । कहाँ पढेको, के विषय पढेको, अन्य सामाजिक सक्रियता कस्तो छ, हामी नेपालका संयोजक सुदन गुरुङ र जेनजी अगुवा रक्षा बमसँगको सम्बन्ध कस्तो हो र कहिलेदेखि चिनजान थियो, अनि उनीहरूसँग अहिले कस्तो सम्बन्ध छ ? लगायत प्रश्न आयोगले यादवसमक्ष गरेको थियो ।

‘ठूलो संख्यामा मान्छे जम्मा हुँदा तोडफोड वा ध्वंश हुन सक्छ भन्ने थाहा थियो कि थिएन? यत्रो भीड आउँदा के हुन्छ भन्ने अनुमान जेनजीले गरेका थिए कि थिएन भन्ने प्रश्नहरू हामीलाई सोध्यो,’ बयानबारे जानकारी दिँदै उनले थपे, ‘यसको उचित र आवश्यक जवाफ मैले आयोगलाई नै दिएको छु ।’

यसरी तीन घण्टा बयान लिएको मानव अधिकार आयोगले यादवलाई लिखित प्रश्न पनि सँगसँगै पठाएको छ, जसको जवाफ एक हप्ताभित्र लिखित रुपमै पेस गर्न आयोगले निर्देशन दिएको उनले बताए ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?