+
+
Shares

चितवन हात्ती तथा पर्यटन महोत्सव : हात्तीमैत्री कि क्रूरता ?

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ पुष १० गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको सौराहामा पुस ११ देखि १३ गतेसम्म आयोजना हुने हात्ती महोत्सवमा हात्तीमाथि हुने क्रूरताको विषय उठाइएको छ।
  • पशु अधिकारकर्मी सुरजन श्रेष्ठले महोत्सवमा अझै हात्तीमाथि जबर्जस्ती र पीडा दिने गतिविधि जारी रहेको आरोप लगाएका छन्।
  • आयोजक दिपेन्द्र खतिवडाले महोत्सवलाई हात्तीमैत्री बनाउने प्रयास भइरहेको र सबै गतिविधि खुल्ला ठाउँमा हुने बताएका छन्।

चितवनको सौराहामा प्रत्येक वर्ष आयोजना हुने हात्ती महोत्सव पर्यटन प्रवद्र्धनको नाममा चर्चित छ, तर यसले हात्तीहरूमाथि हुने क्रूरताको विषयलाई पनि उजागर गर्दै आएको छ ।

यो महोत्सवमा हात्तीहरूलाई अनावश्यक पीडा दिइने दाबी पशु अधिकारकर्मीले गर्दै आएका छन् भने आयोज यसलाई हात्तीमैत्री बनाइसकेको बताउँछन् । यस वर्ष (२०२५) पुस ११ देखि १३ गतेसम्म हुने महोत्सवलाई लिएर भइरहेको तयारीका क्रममा पनि हात्तीमाथि क्रुर व्यवहार भइरहेको पशु अधिकारकमीहरू बताउँछन् ।

महोत्सवको इतिहास र क्रूरताको आरोप

चितवन हात्ती महोत्सवको सुरुवात अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताबाट भएको थियो । पशु अधिकारकर्मी सुरजन श्रेष्ठका अनुसार, २०१३ देखि नै यस महोत्सवमा हात्तीहरूमाथि हुने क्रूरताविरुद्ध अभियान सुरु गरिएको हो । त्यसबेला महोत्सवमा हात्ती दौड, फुटबल, पोलो, गाढा दौड र टाँगा दौड जस्ता गतिविधिहरू थिए, जसले हात्तीहरूलाई शारीरिक र मानसिक पीडा दिन्थ्यो ।

हात्ती दौड १५० मिटर जाने र फर्किने दौड थियो । ठूला जनावरहरूलाई यस्तो दौडमा भाग लिन बाध्य पार्दा उनीहरूको शरीरमा अत्यधिक दबाब पर्थ्यो । माहुतेले हात्तीलाई पिटेर दौडाउने गर्दथे । वैज्ञानिक दृष्टिकोणबाट यो हात्तीहरूका लागि अत्यन्त पीडादायी थियो ।

हात्तीलाई फुटबल पूर्ण खेल खेलाइने गरिन्थ्यो, जसमा सरकारी निकुञ्जका साना हात्तीहरू प्रयोग गरिन्थ्यो । साना हात्तीहरूलाई बढी दबाब दिइन्थ्यो । श्रेष्ठका अनुसार, २०१३ देखि २०२५ सम्म (१२–१३ वर्ष) मा धेरै परिवर्तन भएका छन् । विरोधका कारण हात्ती दौड, गाढा÷टाँगा दौड बन्द भएका छन् ।

गत वर्ष २०२४ मा राष्ट्रिय निकुञ्जले आफ्ना हात्तीहरू उपलब्ध गराउन छाडेपछि फुटबललाई पेनाल्टी सुटआउटमा सीमित गरियो । यद्यपि, श्रेष्ठले यी परिवर्तनहरूलाई सराहना गरेका छन् तर अझै पूर्णरूपमा हात्ती मैत्री नभएको उनको आरोप छ । अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै पेटाले स्पोन्सरहरूलाई पत्र लेखेर दबाब दिएका कारण महोत्सव ५ दिनबाट ३ दिनमा झारिएको र व्यावसायिक दबाब बढेको उनको भनाइ छ।

वर्तमान गतिविधि र बाँकी चुनौतीहरू

यस वर्षको महोत्सवमा मुख्य गतिविधिहरू फुटबल (पेनाल्टी सुटआउट), हात्ती सौन्दर्य प्रतियोगिता, हात्ती पिकनिक र स्वास्थ्य शिविर छन् । यीमध्ये केहीलाई सकारात्मक माने पनि अझै क्रूरताका अवशेषहरू रहेको श्रेष्ठको दाबी छ ।

फुटबल पेनाल्टी सुटआउटमा हात्तीहरूलाई जबर्जस्ती बल हान्न लगाइन्छ । माहुतेहरूले जित्नका लागि दबाब दिन्छन्, जसले हात्तीहरूलाई पीडा दिन्छ । गत वर्षको निरीक्षणमा पनि यस्तो देखिएको थियो । यो पूर्णरूपमा बन्द गर्नुपर्ने श्रेष्ठको माग छ ।

पशु अधिकारकर्मीहरूको विरोध पछि पोलो बन्द भएको थियो यो वर्ष पनि नहुने कुरा थियो । तर यो वर्ष फेरि पोलो खेलाउने तयारी भइरहेको देखिन्छ जुन हात्तीमैत्री नहुने श्रेष्ठ बताउँछन् ।

हात्ती पिकनिकमा हात्तीहरूलाई खानेकुरा अगाडि राखेर प्रमुख अतिथिको भाषण समाप्त नहुन्जेल कुराउन लगाइन्छ । यसले हात्तीहरूलाई चिढ्याउँछ र माहुतेहरूले पिट्नुपर्ने स्थिति आउँछ । यो समस्या सुधार्न सकिने उनले बताए ।

हात्ती सौन्दर्य प्रतियोगितामा हात्तीहरूको टाउको र निधारमा अबिर र चक प्रयोग गरिन्छ, जसले उनीहरूको छालालाई हानि पुर्‍याउँछ । श्रेष्ठले अबिर प्रयोग नगर्न र सिलाइमा प्रयोग हुने चक मात्र प्रयोग गर्न सुझाव दिएका छन् ।

श्रेष्ठले महोत्सवलाई पूर्ण हात्ती मैत्री बनाउन अझै सुधार आवश्यक भएको बताउँछन् । ट्रेनिङका क्रममा पनि दुर्व्यवहार हुने गरेको उनको दाबी छ ।

आयोजकको दृष्टिकोण : हात्ती मैत्री बनाउने प्रयास

युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दिपेन्द्र खतिवडा महोत्सवलाई हात्तीमैत्री बनाइसकेको दाबी गर्छन् । क्षेत्रीय होटल संघ चितवन, रेस्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेबान) सौराहा र सहकारीको सहकार्यमा आयोजना हुने यो महोत्सवमा क्रूरता नभएको उनको भनाइ छ ।

‘विगतमा फुटबल पूर्ण खेल थियो, अहिले पेनाल्टी सुटआउट मात्र छ जसमा हात्ती दौडिनु पर्दैन’ खतिवडा भन्छन्, ‘सौन्दर्य प्रतियोगितामा विगतमा रङ र केमिकल प्रयोगको आरोप लाग्थ्यो, तर अहिले चौरमा लाइभ डेकोरेसन गरिन्छ जसलाई मिडिया र जनता प्रत्यक्ष हेर्न सक्छन् ।’

पिकनिकमा विषादीरहित, चिकित्सकले प्रमाणित गरेका खानेकुरा मात्रै प्रयोग गरिने र नियन्त्रमा लिनका लागि कुनै हतियार प्रयोग नहुने उनको दावी छ । ‘केरा पनि परम्परागत तरिकाले पकाइन्छ, विषादी प्रयोग नगरी’ खतिवडा भन्छन्, ‘हात्तीहरूलाई नियन्त्रण गर्न सानो, पातलो लौरो मात्र प्रयोग गरिन्छ, जुन बच्चाहरूले खेल्ने प्रकारको हुन्छ ।’

महोत्सव बन्द कोठामा नभई खुल्ला ठाउँमा हुने भएकाले हात्तीहरूलाई गरेको व्यवहार सबैले नियाल्न सक्ने खतिवडा बताउँछन् । ‘हात्तीहरू २४ घण्टा नै जनता, मिडिया र पर्यवेक्षकहरूको नजरमा हुन्छन् । थाइल्यान्ड जस्ता देशमा सर्कसमा हुने टर्चर जस्तो यहाँ हुँदैन’ उनले स्पष्ट पारे ।

विगतका आरोपहरूलाई सम्बोधन गर्दै महोत्सवलाई पर्यटन प्रवर्द्धनको माध्यम बनाएको खतिवडा बताउँछन् । साना क्लिपहरू देखाएर विषयलाई अतिरञ्जित गरिएको उनको आरोप छ ।

सन्तुलित दृष्टिकोणको आवश्यकता

चितवन हात्ती तथा पर्यटन महोत्सवले पर्यटनलाई बढावा दिइरहे पनि हात्ती संरक्षणको विषयलाई चुनौती दिइरहेको छ । पशु अधिकारकर्मीहरूले गरेका विरोधहरूले महोत्सवमा सकारात्मक परिवर्तन ल्याएका छन्, जसलाई आयोजकहरूले पनि स्वीकार्छन् ।

तर पेनाल्टी सुटआउट, पिकनिकको व्यवस्थापन र सौन्दर्य प्रतियोगितामा सामग्री प्रयोग जस्ता विषयमा अझै सुधार आवश्यक छ । अन्तर्राष्ट्रिय दबाब र स्थानीय अभियानले महोत्सवलाई छोटो र कम पीडादायी बनाएको छ, तर पूर्ण हात्ती मैत्री बनाउन दुवै पक्षबीच थप संवाद र निरीक्षण चाहिन्छ । यसले पर्यटन र पशु कल्याणलाई सन्तुलित रूपमा अगाडि बढाउन सकिने पशु अधिकधारकर्मी सुराजन श्रेष्ठको भनाइ छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?