News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन्।
- पेटा एसियाले लियोनीको अभिव्यक्तिलाई सामाजिक सञ्जालमार्फत सेयर गर्दै महोत्सवलाई करुणा र शिक्षा उत्सवमा रुपान्तरण गर्न भनेको छ।
- चितवन हात्ती महोत्सव डिसेम्बर २६ देखि ३० सम्म सौराहमा आयोजना हुन्छ र यसवर्ष पनि महोत्सव हुने तयारी छ।
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् ।
पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई पिट्ने, हिर्काउने र टुट्ने गरि यातना दिने गरिन्छ ।’
यस्तो कार्यक्रम बन्द गर्न उनको आग्रह छ । भन्छिन्, ‘नेपालले यस कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले हात्तीहरूलाई अस्वभाविक क्रियाकलाप गराउन बाध्य पार्ने अभ्यासको अन्त गर्नैपर्छ ।’
लियोनीको उक्त अभिव्यक्तिलाई पेटा एसियाले सामाजिक सञ्जालमार्फत सेयर गरेको छ । ‘बलिउड स्टार सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । सबैजना मिलेर चितवन हात्ती महोत्सवलाई करुणा, शिक्षा र विस्मयको उत्सवमा रुपान्तरण गरौँ’ पेटा एसियाले लेखेको छ ।
गतवर्ष बलिउड स्टार जोन अब्राहमले चितवनको हात्ती महोत्सवमा पशुमाथि हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेका थिए ।
अभिनेत्री लियोनीको कुरा गर्दा, उनी पशु अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् । सन् २०१६ मा उनलाई पेटा एसियाले पशुको अधिकारको बारेमा वकालत गरेबापत ‘वर्ष व्यक्ति’ को रुपमा घोषणा गरेको थियो ।
उनले पेटा इन्डियाले आयोजना गर्ने शाकाहारी जीवन प्रवर्धन, भुवाविरोधी सन्देश तथा कुकुर- बिरालोको बन्ध्याकरण गर्न नहुनेजस्ता अभियानमा समर्थन जनाउँदै आएकी छन् ।
‘चितवन हात्ती महोत्सव’ वर्षेनी डिसेम्बर २६ देखि ३० सम्म सौराहमा आयोजना हुन्छ । विगतमा हात्ती दौड, पोलो र हात्ती ब्युटी पेजेन्ट कार्यक्रम संचालन हुने गर्थे । यसवर्ष पनि हात्ती महोत्सव हुने तयारी भैरहँदा पेटा एसियाले चासो देखाएको हो ।
प्रतिक्रिया 4