१० पुस, काठमाडौं । म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर क्यासिनो खेल्ने/खेलाउने भारतीय समूहको कनेक्सन क्यासिनो लुटपाट प्रकरणमा हिरासतमा रहेका व्यक्तिसँग देखिएको छ ।
आई लेन्स राखेर पछाडितर्फको भागबाटै तास पहिचान गर्ने भारतीय ‘महाकाय’ समूहको कनेक्सन प्राइड क्यासिनो लुटपाटमा अहिले हिरासत रहेका काठमाडौं बौद्धका ४२ वर्षीय दावा सेट्टी भनिने दावा शेर्पासँग देखिएको हो ।
बौद्धमा रहेको पाँचतारे ह्यात रेजेन्सी होटल भित्र रहेको प्राइड क्यासिनो लुटपाटमा सेट्टीविरुद्ध अहिले अनुसन्धान भइरहेको छ ।
उनीविरुद्ध प्रहरीले आपराधिक उपद्रव र डाँका कसुरमा अनुसन्धान गरिरहेको छ । सेट्टी समेतका व्यक्तिले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको मौकामा प्राइड क्यासिनो लुटपाट गरेका थिए । यो क्यासिनोबाट १४ करोड नगद लुटिएको भन्दै प्रहरीमा उजुरीसमेत परेको छ ।
उनै सेट्टीसँग दावा समूहको कनेक्सन देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । सेट्टी मात्रै होइन, प्राइड क्यासिनोका एक सञ्चालक विनय साहसँग पनि यो समूहको कनेक्सन देखिएको भट्टराई बताउँछन् ।

उनीहरूकै कनेक्सनमार्फत महाकाय समूहले विगत दुई वर्षदेखि प्राइड क्यासिनोमा इभेन्टका नाममा जुवा खेलाएको थियो । त्यतिबेला पनि यस्तै गरी ठगी गरेको हुनसक्ने आशंका गरिएको छ ।
‘ह्यात होटलमा रहेको प्राइड क्यासिनोमा दुई वर्षदेखि यो समूहले इभेन्ट सञ्चालन गर्ने गरेको खुलेको छ । अहिले जेनजी आन्दोलनको क्रममा प्राइड क्यासिनो तोडफोड भएपछि वाल्डो क्यासिनो बुक गरी खेलाउने तयारी गरेको देखियो,’ प्रहरी स्रोतले भन्यो ।
हिरासतमा रहेका सेट्टीसँगै रणे भनिने रञ्जित खड्गीसहितका व्यक्तिविरुद्ध प्राइड क्यासिनो लुटपाट प्रकरणमा अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार सेट्टी प्राइडमै टेबल चलाउँथे । सेट्टीले क्यासिनो जोगाउन गएको दाबी गरे पनि उनी लुटपाट संलग्न भएको देखिएको प्रहरीले बताएको छ । यसभन्दा पहिला सेट्टी सोल्टी होटलको क्यासिनो मोजाङ जाने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
सेट्टी अहिले हिरासतमा रहेकाले महाकाय गु्रपसँग वाल्डोमा नदेखिएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘यो भारतीय समूहलाई नेपालमा सहयोग गर्नेमध्ये एक सेट्टी पनि हुन् । अहिले हिरासतमा रहेकाले वाल्डो प्रकरणमा उनी जोडिन सकेनन् । नत्र उनी पनि यसमा जोडिने प्रमुख व्यक्ति हुन्,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
नेपाल कनेक्सन
क्यासिनो इभेन्ट गर्ने भारतीय सञ्चालक सुरेश महाजनको महाकाय गु्रपको नेपाल कनेक्सन क्यासिनोमा टेबल चलाउनेदेखि त्यसका सञ्चालकसम्म रहेको प्रहरीको दाबी छ । सेट्टी हिरासतमा रहेपछि महाकाय ग्रुपको नेपालतर्फको सबै व्यवस्थापन विनोद भनिने जनार्दन उप्रेतीले गरेका थिए ।
उनी क्यासिनो खेलाडीका साथै महाकायका नेपाली व्यवस्थापक हुन् । जो अहिले फरार छन् । उनै उप्रेती र अहिले हिरासतमा रहेका सेट्टीसमेतको सहयोगमा पछिल्लो दुई वर्षदेखि प्राइड क्यासिनोमा महाकाय गु्रपले इभेन्ट गरेको प्रहरीको भनाइ छ ।
प्राइड क्यासिनो तोडफोड भएपछि ११ डिसेम्बरदेखि १४ डिसेम्बरसम्म वाल्डो बुक गरेर महाकायले इभेन्ट गर्दै थियो । त्यसका लागि सामाजिक सञ्जालमा विज्ञापन गर्दैै मान्छे तयार पारेर ठग्ने योजना थियो । त्यसका लागि इन्डियनलाई फलास खेलाउन भनेर वाल्डो क्यासिनोका ७ देखि १० वटा टेबल बुक गरिएको थियो ।
ठमेलको छाया सेन्टरमा रहेको अलफ्ट होटका ४०, अर्को पाँचतारे मेरियट होटलमा ५० र लाजिम्पाटको र्याडिसन होटलमा २० वटा कोठा बुक गरिएको थियो ।

महाकाय गु्रपको सबै व्यवस्थापन गर्ने जिम्मा पाएका विनोद भनिने जनार्दन उप्रेतीको समूहलाई बीपी गु्रप भनेर चिनिन्छ । उनी नेपालतर्फको मुख्य आयोजक रहेको प्रहरीले बताएको छ । उनले इभेन्ट आयोजक, खेलाडी, कर्मचारीलाई होटल, प्लेन टिकटको व्यवस्था गर्ने र टेबल बुकिङको सम्पूर्ण काम गरेका थिए ।
उनै उप्रेतीले होटल र क्यासिनोका बिल भुक्तानीसमेत गरेका थिए । उनी स्वयं जुवा खेल्ने व्यक्ति हुन् । उनले महाकाय गु्रपका डमी खेलाडी र डिलर कर्मचारीलाई व्यवस्थापन गरेका थिए । डमी खेलाडीहरूलाई होटल अलफ्टमा राखेका थिए । त्यसवापत बीपी गु्रपको नामबाट १५ लाख नगदसमेत होटलमा बुझाइको थियो ।
उनै उप्रेतीमार्फत १२ सेट म्याग्नेटिक तास क्यासिनोमा प्रवेश गराइएको थियो । उप्रेतीले नै ३८ सिल प्याक होटलमा स्टक राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । दुई सेट आई लेन्स पनि उप्रेतीले नै क्यासिनोमा छिराएका थिए । जसमध्ये एक जोर आई लेन्स डमी खेलाडीले लगाइराखेको अवस्थामा आँखाबाट निकाल्न लगाइएको थियो । अर्का दुई सेट आई लेन्स भने गौरभ खत्री र मोनु भनिने निरज कुमारले लगाएकै अवस्थामा फरार भएका थिए ।
भारतदेखि श्रीलंका कम्बोडियासम्म ठगी
दुई वर्षदेखि नेपालमा क्यासिनो इभेन्ट भन्दै ठगी गर्ने महाकाय समूहले भारतदेखि श्रीलंका, कम्बोडिया, भियतनामसम्म पनि क्यासिनो इभेन्ट गरेको खुलेको छ । त्यहाँ पनि यस्तै शैलीमा यो समूहले ठूलो रकम ठगी गरेको हुनसक्ने बताइएको छ ।
क्यासिनो बुक गरेर आफैंले इभेन्ट आयोजना गर्ने भन्दै महाकाय समूहले जुवा खेलाउने गरेको थियो । यसरी खेलिने तासको व्यवस्थापन पनि महाकाय समूहले नै गर्थ्यो । त्यसका लागि म्याग्नेट तथा चिपहरू जडान भएका तास प्रयोग गरिन्थ्यो । अनि ती चिपसँग कनेक्ट गर्न अर्को आई लेन्सको पनि व्यवस्था गरिन्थ्यो ।
आँखामा आई लेन्स लगाएपछि पछाडितर्फबाटै कसलाई के तास पर्यो भन्ने जानकारी हुने र त्यहाँ आफूले नै खडा गरेका डमी खेलाडीले पछाडिबाटै तास चिनेपछि सोहीअनुसार खेल खेल्ने गरिन्थ्यो ।
यसका लागि महाकाय समूहले क्यासिनो खेल्ने पेसेवर तथा मोटो रकम भएका व्यक्ति खोज्ने र भारतबाटै आफूले डमी खेलाडीका रूपमा व्यक्ति तयार गरेर ल्याएर खेलाउने गरेको खुलेको छ ।
ती डमी खेलाडीले आँखामा आई लेन्स राखेपछि कसलाई के तास पर्यो भन्नेबारे सबै जानकारी पाउँथे । भारतदेखि ल्याइएका डमी खेलाडीहरूलाई दैनिक भारु १० हजार रुपैयाँ दिने र जितेको रकमको १० प्रतिशतसमेत भाग लगाउने सहमति भएको थियो ।
यसको सूचना आएपछि परिसरले छापा मारेर इभेन्ट आयोजना गर्ने भनिएको पहिलो दिनमै पक्राउ गरेपछि रकम हारजित हुन पाएन ।
प्रहरीले छापा मारेर भारतीय नागरिक महाकाय गु्रपका मुख्य व्यक्ति सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डेलाई पक्राउ गरेको छ । पक्राउ परेका चिजा र भवानी भने नेपाली हुन् ।
यो प्रकरणमा संलग्न रहेको आरोपमा क्यासिनो सञ्चालक, विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा (मुकेश) नाम गरेका व्यक्ति भने फरार छन् ।
प्रतिक्रिया 4