News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १२ पुसमा दशरथ रंगशालामा एनएसएसएफ १३ औं किन्डर ओलम्पिक उद्घाटन गरेका छन् ।
- पहिलो चरणमा उपत्यकाका ३४ विद्यालयका १ हजार ५ सय ४० विद्यार्थीले भाग लिएका छन् भने दोस्रो चरण पुस १५ मा हुनेछ।
- सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई टर्च हस्तान्तरण गर्नुभएको थियो र विभिन्न खेल प्रतिस्पर्धा भएको थियो।
१२ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको शनिबार उद्घाटन गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरेका हुन् ।
कमलसंगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए ।
पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका १ हजार ५ सय ४० विद्यार्थीको सहभागिता रहेको आयोजक नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
विद्यार्थीले मार्च पास्ट गर्नुका साथै विभिन्न खेलको प्रतिस्पर्धा पनि भएको थियो ।
दशरथ रंगशालामै पुस १५ गते हुने दोश्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६ सय विद्यार्थी सहभागी हुने जनाइएको छ ।
एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालगायतको उपस्थिति रहेको थियो ।
सानै उमेरदेखि बालवालिकालाई खेलकुद प्रति आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको आयोजकले जनाएको छ ।
यसअघि गत ४ पुसमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै अध्यक्ष श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया 4