News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय फिल्म उद्योगका प्रसिद्ध गीतकार शंकरदास केसरीलाल 'शैलेन्द्र'ले १७ वर्षमा ८०० भन्दा बढी गीत लेखेका छन्।
- शैलेन्द्रका गीतहरूले दुःख र पीडाको मात्र होइन, त्यसबाट पार पाउने शक्ति र आशाको मार्ग देखाउँछन्।
- उनको जीवन गरिबी, भोक र सामाजिक भेदभावले भरिएको थियो, तर उनले गीतमार्फत लाखौँ मानिसलाई प्रेरणा दिएका छन्।
एक सामान्य मानिस जब दुःख पीडाले टुट्छ । र, उसले अगाडि बढ्ने उपयुक्त बाटो देख्दैन । यसबेला उसले एउटा यस्तो उज्यालोको खोजी गर्छ, एउटा यस्तो मार्ग खोज्छ, जसले उसको जीवनलाई व्यथा र वेदनाबाट मुक्ति दिलाओस् ।
शैलेन्द्रका गीतले यही काम गर्छन् । उनका गीतले अँध्यारोको मात्र कुरा गर्दैनन्, उज्यालोतिर लाग्ने बाटो पनि देखाउँछन् । उनका गीतमा दुःख, पीडाको बखान मात्र छैन, तीबाट पार पाउने शक्ति, भरोसा र मार्ग पनि छ ।
हामी कुरा गर्दैछौं, शंकरदास केसरीलालको । जो भारतीय फिल्म उद्योगमा ‘शैलेन्द्र’को नामले प्रख्यात भए । उनलाई धेरैले माया गरी ‘कविराज’ भनेर पनि बोलाउँथे । गीत लेखनले उनलाई मुख्य चिनारी दिएको थियो । यो क्षेत्रमा १७ वर्ष बिताउँदा ८०० बढी गीतहरू लेखे ।
उनको जीवन भने व्यथैव्यथाले भरिएको थियो । भोक, गरिबी, लाचारी, सामाजिक भेदभाव, यी सबका उनी शिकार भएका थिए । तर उनी टुटेनन् । बरू, हिम्मत र आशा लिएर उनले ती परिस्थितिहरूसँग लडिरहे, आखिरीमा त्यही कुरा उनले आफ्ना गीतमार्फत लाखौँ-करोडौँ मानिसहरूलाई दिए ।
उनका गीतहरूमा विविधता छ भने एउटा ‘कन्ट्रास्ट’ अर्थात् विरोधाभास हो । सुक्ष्मतरिकाले सुन्दा उनका गीतहरूमा कहिले घाम कहिले छाया, कहिले सुख कहिले दुःख, कहिले प्रेम कहिले वियोग, कहिले जीवन त कहिले मरणको विरोधाभासहरू पाइन्छ ।
शैलेन्द्रका गीतको सूची निकै लामो छ । ती सबैजसो ‘मास्टरपिस’ छन्, हरेक गीत कतै न कतै तपाईंको जीवनसँग कतै न कतै जोडिएको जस्तो लाग्छ । जस्तो, ‘आवारा’ शब्द सुन्नेबित्तिकै हाम्रो मनमा एउटा नकारात्मक तस्वीर बन्न थाल्छ । आवारा अर्थात् बेकार, घरबारविहीन, समाजको नजरमा तिरस्कृत । तर शैलेन्द्रका शब्दहरूमा त्यो खुबी छ जसले आवारालाई पनि सबैको प्रिय बनाइदिन्छ।
आवारा फिल्मको शीर्षक गीत ‘आवारा हुँ, आवारा हुँ या गर्दिशमा हुँ आकाशको तारा हुँ…’ को यो अन्तरालाई हेर्नुहोस्:
‘घर बार नहीं, संसार नहीं, मुझसे किसी को प्यार नहीं
उस पार किसी से मिलने का इक़रार नहीं, मुझसे किसी को प्यार नहीं
सुनसान नगर अनजान डगर का प्यारा हूं…’
अर्थात:
घर बार छैन, संसार छैन, मलाई कसैको माया छैन
त्यो पार कसैलाई भेट्ने वाचा छैन, मलाई कसैको माया छैन
सुनसान नगर, नचिनेको बाटोको प्यारा हुँ…
यो जो आवारा छ, ऊ संकटमा छ । तर आफूलाई आकाशको तारा सम्झिन्छ । यही हरफबाट यो आवाराप्रति सहानुभूति जाग्न थाल्छ । यी एक आवाराका शब्द मात्र होइनन् । यो संसारमा लाखौँ, करोडौँ आवाराहरू छन्, जो घरबारविहीन र बेसहारा छन् । जो संकटमा छन्, जसलाई कसैले चाहँदैनन् । तर हुन् त उनीहरू तारा नै हुन्, चाहे संकटमै किन नहोऊन् ।
एउटै अन्तरामा जीवन र समाजका कति धेरै विरोधाभास !
श्री ४२० कै अर्को लाइन हेरौं:
‘दिल का हाल सुने दिल वाला/ सीधी सी बात न मिर्च मसाला,
कह के रहेगा कहने वाला, दिल का हाल सुने दिल वाला…’
अर्थात:
मनको हाल सुन् मन हुनेले/ सीधा कुरा, छैन खुर्सानी मसला,
भनेरै छाड्छ भन्नेले, मनको हाल सुन मन हुनेले…
अर्को अन्तरा नि हेरौँ:
‘छोटे से घर में गरिब का बेटा/ मैं भी हूं मां के नसीब का बेटा,
रंज-ओ-गम बचपन के साथी/ आंधियों में जली जीवन बाती,
धूप ने है बड़े प्यार से पाला, दिल का हाल सुने दिल वाला.’
अर्थात:
सानो घरमा गरिबको छोरो / म पनि हुँ आमाको भाग्यको छोरो,
पीडा र गम बाल्यकालका साथी / आँधीबेहरीमा जल्यो जीवनको बत्ती,
घामले बडो मायाले पालेको छ, मनको हाल सुन मन हुनेले।
सामाजिक चलन अनुसार त भाग्यमानी ऊ हुन्छ, जो धनीको घरमा जन्मन्छ । तर गरिबको घरमा जन्मने कसरी भाग्यको छोरो भयो र ! जसका बाल्यकालका साथी दुःखदर्द हुन् । घामले उसलाई नै पालेको हो । घाम र गरिबीमा हुर्किएको सानो घरको छोरो अरूका लागि केही नहोला, तर एक आमाका लागि त ऊ भाग्यकै सन्तान हो ।
शैलेन्द्र यहाँ केही भन्दैछन्– घाम, गरिबी, सानो घर र आँधीबेहरीमा हुर्कनेको हिम्मत कति उच्च हुन्छ, यो संसारलाई थाहा छैन । उसलाई कम नआँक्नुहोस् । सीमा फिल्मका लागि उनले लेखेका गीतमा पनि महत्वपूर्ण जीवन दर्शन समेटिएको छ । हरेक गीतमा पात्रहरूको बहानामा शैलेन्द्रले त्यो विरोधाभास अगाडि ल्याएका छन्, जसलाई मात्र महसुस गर्न सकिन्छ ।
‘घायल मनका पागल पन्छी उड़ने को बेकरार,
पंख है कोमल आंख है धुंधली जाना है सागर पार,
अब तू ही इसे समझा राह भूले थे कहां से हम,
तू प्यारका सागर है तेरी इक बूंद के प्यासे हम…’
अर्थात:
घाइते मनको पागल चरी उड्नलाई बेग्रानी,
पखेटा छन् कोमल, आँखा छन् धमिलो, जानु छ सागर पार,
अब तिमी नै यसलाई सम्झाऊ, बाटो बिराएका थियौँ कहाँबाट हामी,
तिमी प्यारको सागर हौ, तिम्रो एक थोपाका तिर्खाएका हौँ हामी…
धमिलो आँखा, कोमल पखेटा भएको घाइते मन, तर उड्न आतुर पागल चरीलाई त्यो पार जानु छ । अहिले यो चरीको पक्षमा केही पनि छैन । छ त केवल उड्ने एउटा हिम्मत । शैलेन्द्रले जुन ‘पार’ जाने कुरा गरिरहेका छन्, त्यो मानिसको दुःख र विवशताबाट पार पाउने कुरा हो ।
यही गीतको अर्को अन्तरामा:
‘इधर झूम के गाए जिंदगी उधर है मौत खड़ी,
कोई क्या जाने कहां है सीमा उलझन आन पड़ी,
कानों में ज़रा कह दे कि आएं कौन दिशा से हम,
तू प्यार का सागर है तेरी एक बूंद के प्यासे हम,
लौटा जो दिया तूने चले जाएंगे जहां से हम’
अर्थात्:
यता जिन्दगी झुमेर गाइरहेछ, उता मृत्यु उभिएको छ,
कसलाई के थाहा सीमा कहाँ छ, ठूलो अलमल आइपरेको छ,
कानमा अलिकति भनिदेऊ कि हामी कुन दिशाबाट आऊँ,
तिमी प्यारको सागर हौ, तिम्रो एक थोपाका प्यासी हौँ हामी,
यदि तिमीले रित्तै फर्काइदियौ भने, यो संसारबाटै बिदा भएर जानेछौँ हामी’
एउटै गीतमा जीवनका विविध पक्षहरूलाई शैलेन्द्रले यसरी उनेका छन् कि गीत पूरा सुन्दासुन्दै मानिसको हिम्मत फेरि बढ्न थाल्छ । ऊ फेरि त्यो पार जानका लागि उठेर उभिन्छ । गाइड फिल्मको कथावस्तु नै यस्तो थियो जसलाई बुझ्न र स्वीकार गर्न भारतीय जनमानसलाई समय लाग्यो ।
शैलेन्द्रका गीतले गाइड र उसकी नायिकाबीचको विरोधाभासलाई यसरी व्यक्त गर्छन् कि ती आजसम्म असंख्य मानिसहरूको मनको अभिव्यक्ति बनेका छन् ।
‘कांटों से खींच के यह आंचल तोड़ के बंधन बांधी पायल,
कोई न रोको दिल की उड़ान को दिल वह चला…,
आज फिर जीने की तमन्ना है आज फिर मरने का इरादा है,
अपने ही बस में नहीं मैं दिल है कहीं तो हूं कहीं मैं.
जाने क्या पाके मेरी जिंदगी ने हंसकर कहा,
मैं हूं गुबार या तूफान हूं कोई बताए मैं कहां हूं…’
अर्थात्:
काँडाबाट थुतेर यो आँचल, बन्धन तोडेर बाँधे पाउजु,
कसैले नरोक मनको उडानलाई, मन त्यता लाग्यो…
आज फेरि जिउने चाहना छ, आज फेरि मर्ने इरादा छ,
आफ्नै नियन्त्रणमा छैन म, मन कतै छ त म कतै छु।
लोक-लाज र तमाम सामाजिक बन्धनहरूलाई त्यागेर, काँडा भरिएको जिन्दगीबाट आफ्नो स्वतन्त्रता खोसेकी नायिका यति खुसी छिन् कि उनी जिउनु र मर्नुबीचको फरक नै भुलेकी छिन् । यो शैलेन्द्रले मात्र लेख्न सक्छन् । खासमा जीवन एउटा विरोधाषास नै हो । खाली शब्दको अर्थले यो बुझिँदैन । यस्तै छ संसार– कसैका लागि राम्रो, कसैका लागि नराम्रो ।
‘सूरज ज़रा आ पास आ, आज सपनों की रोटी पकाएंगे हम,
ए आसमां तू बड़ा मेहरबान आज तुझको भी दावत खिलाएंगे हम,
चूल्हा है ठंडा पड़ा और पेट में आग है, गरमा गरम रोटियां कितना हंसी ख्वाब है,
आलू टमाटर का साग, इमली की चटनी बने, रोटी करारी सिके उस पर घी असली लगे.’
अर्थात्:
सूर्य अलिकति नजिक आऊ, आज सपनाको रोटी पकाउँछौँ हामी,
हे आकाश तिमी बडो दयालु देखिन्छौ, आज तिमीलाई पनि भोज खुवाउँछौँ हामी,
चुलो चिसिएको छ र पेटमा आगो छ, तातो-तातो रोटी कति राम्रो सपना हो…
यो एउटै अन्तरामा यति धेरै विरोधाभास छन् कि कुन पहिले बुझ्ने भनेर अलमल हुन्छ । आकाशलाई भोज खुवाउने हिम्मत, चिसो चुलो र पेटको आगो ? यस्तो विरोधाभासपूर्ण शैलेन्द्रले मात्र सिर्जना गर्न सक्छन् । यसरी शैलेन्द्रका गीतमा फिल्मका पात्रहरू मात्र बोल्दैनन्, एउटा दर्शन पनि लुकेको हुन्छ । साधारण शब्दमा असाधारण कुरा भनिदिनु उनको सहजता हो । ‘तीसरी कसम’ मा समावेश यो गीत उदाहरण छ:
‘सजन रे झूठ मत बोलो खुदा के पास जाना है
ना हाथी है ना घोड़ा है वहां पैदल ही जाना है
तुम्हारे महल चौबारे यही रह जाएंगे सारे
अकड़ किस बात की प्यारी ये सर फिर भी झुकाना है
भला कीजे भला होगा बड़ा कीजे बुरा होगा बही लिख लिख के क्या होगा
यही सब कुछ चुकाना है, सजन रे झूठ मत बोलो खुदा के पास जाना है’
अर्थात्:
सज्जन हो झुट नबोल, ईश्वरको पासमा जानु छ
न हात्ती छ न घोडा छ, त्यहाँ पैदलै जानु छ
तिम्रा महल र अट्टालिकाहरू यहीं रहिजानेछन्
घमण्ड के कुराको प्यारो, यो शिर तैपनि झुकाउनु छ…
तर दु:खको कुरा, शैलेन्द्रको जीवन ‘तीसरी कसम’को असफलतासँगै टुट्न गयो । सबैलाई अचम्मित पार्दै १४ डिसेम्बर १९६६ मा उनले यो संसार त्याग गरे । तथापी उनी आज आफ्ना गीतहरूकारण कारण जीवित छन्, जसले जीवनका दुई चरम किनारहरूसँग हाम्रो साक्षात्कार गराइरहेका छन् ।
बीबीसीबाट
प्रतिक्रिया 4