News Summary
Generated by OK AI. Editorially reviewed.- टिकटकमा 'स्टेज फर आइडल' सुरु भएको छ जसले विश्वभरका नेपाली भाषिक समुदायका गायन र नृत्य प्रतिभालाई उजागर गर्ने उद्देश्य राखेको छ।
- डिजिटल अडिसनबाट १८० प्रतियोगीमध्ये गायनमा ४० र नृत्यमा २० जना लाइभ राउण्डका लागि छनौट भएका छन्।
- प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख, ५० हजार र ३० हजार नगद पुरस्कार पाउनेछन् र शीर्ष विजेताले गीत रेकर्ड र म्युजिक भिडियोमा डेब्यु गर्नेछन्।
१४ पुस, काठमाडौँ । डिजिटल प्लेटफर्म टिकटकमा ‘स्टेज फर आइडल’ सुरु भएको छ । ‘द सिक्स आइज वान’को आयोजनामा विश्वभर छरिएर रहेका नेपाली भाषिक समुदायका गायन र नृत्यका प्रतिभालाई उजागर गर्ने र आइडल छनौट गर्ने उदेश्यले ‘स्टेज फर आइडल’ सुरु गरिएको हो ।
काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको थियो । डिजिटल अडिसन मार्फत १८० प्रतियोगीमध्ये गायनमा ४० र नृत्यमा २० जना लाइभ राउण्डको लागि छनौट गरिसकिएको कार्यक्रम निर्देशक सुविला लामाले जानकारी दिइन् ।
गायनको मुख्य निर्णायकमा वरिष्ठ गायक शम्भु राई र नृत्यको जजमा वरिष्ठ नृत्य निर्देशक कमल राई रहेका छन्। टिकटकको प्लेटफर्ममा गरिने प्रतियोगितामध्ये ‘स्टेज फर आइडल’लाई स्तरीय प्रतियोगिताको रूपमा स्थापित गराउने आयोजकको दाबी छ ।
गायन र नृत्यतर्फका प्रथम, द्वितीय र तृतीय हुने प्रतिभाले सम्मानसहित क्रमश: एक लाख, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। शीर्ष विजेताले गीत रेकर्ड र नृत्यमा विजेता हासिल गर्ने प्रतिभाले सोही गीतको म्युजिक भिडियोमा डेब्यु गर्ने साथै दुवै विजेताले मोडलिङको अवसरसमेत प्रदान गरिने निर्देशक लामाले बताइन् ।
पत्रकार सम्मेलनमा वरिष्ठ गायक तथा सोही कार्यक्रमको जज शम्भु राईले टिकटकलाई केबल मनोरञ्जनको प्लेट फर्ममा सिमित नराखी प्रतिभा प्रस्फुटनको गतिलो माध्यम बनाउन सकिन्छ भन्ने सन्देशका लागि पनि ‘स्टेज फर आइडल’उदाहरण बन्ने विचार व्यक्त गरे । नृत्य निर्देशक कमल राईले भौतिक रूपमा उपस्थित नभएरै पनि प्रतिभा उजागर र मूल्याङ्कन गर्न सकिने भएकाले पनि आफू जजको रूपमा सहमत भएको बताए ।
प्रतियोगितामा भोटिङ राउन्ड राखिएको छैन । खर्च गर्न सक्ने प्रतिभाले मात्रै अघि बढ्ने र वास्तविक प्रतिभा ओझेलमा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भोटिङको आधारमा जज गर्ने विधि अवलम्बन नगरिएको आयोजकले जनाएको छ ।
‘स्टेज फर आइडल’को निर्देशकीय टिममा सुविला लामासहित बन्दना जी.मोमिन, मनोज गुरुङ, राम कैलाश थापा, निमा तामाङ, डिबि तामाङ र डोल बहादुर थापा रहेका छन् । विभिन्न देशमा रहि सामाजिक सेवामा काम गर्दै आएका आयोजकहरुले यो उकृष्ट प्लेटफर्म मार्फत विश्वभर छरिएर रहेका प्रतिभाहरुलाई समेट्ने उदारणीय काम गरेका हुन्।
‘स्टेज फर आइडल’ शो आफ्नै फेसबुक पेज, टिकटक र युटुब च्यालनबाट हेर्न सकिने आयोजकले बताएको छ। छिट्टै ‘स्टेज फर आइडल’ सिजन-२ ल्याउन लागेको बताउँदै निर्देशक सुविला लामाले लुकेर बसेका नयाँ प्रतिभाहरुलाई यस रियालिटी शो मा सहभागिता हुन सबैलाई आव्हान गरेकी छिन्। विशेष गरि १८ वर्षभन्दा माथीका नयाँ प्रतिभाहरुलाई यस कार्यक्रममा भाग लिन आयोजकले अनुरोध समेत गरेको छ।
दि साइनिङ स्टार टाइटल स्पन्सर रहेको ‘स्टेज फर आइडल’मा सोल्टिनी ग्रुप (नानु, रानु र सानु), मङ्गल तामाङ, गोर्खा ब्रदर्श, सरिता गुरुङ, नवीन थापा, टङ्क गुरुङ, अनु बान्तवा राई, नेहा गुरुङ, बिमला हेयर एण्ड सैलुन, युके र दुई हिडन स्पन्सर रहेका छन्, भने कृष्टियन टिकट लाइभ ट्यालेन्ट शो का सुर्जा थापाले कार्यक्रमको लागि आर्थिक सहयोग उपलब्ध गराएकी छन् ।
टिकटकमै लाइभ हुने ‘स्टेज फर आइडल’मा मोडियटरको रूपमा डोल्मा तामाङ (अम्लोड), ब्युटी अफ नेपाल, सुर सङ्गीत, विनीता, विदेश र जुनी जुनी रहेका छन् ।
प्रतिक्रिया 4