+
+
Shares

आज पहिलो राष्ट्रिय च्याउ दिवस, वार्षिक १ करोड बढीको निर्यात

नेपालको कुल गार्हस्थ कृषि उत्पादनमा च्याउ खेतीको योगदान ०.१५ प्रतिशत छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १५ पुसदेखि औपचारिक रूपमा राष्ट्रिय च्याउ दिवस मनाउन सुरु गरेको छ।
  • कृषिमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उपभोग बढाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्नुपर्ने बताए।
  • नेपालमा करिब ३५ हजार किसान च्याउ खेतीमा संलग्न छन् र गत आर्थिक वर्षमा निर्यातले आयातभन्दा बढी नाफा कमाएको छ।

१५ पुस, काठमाडौं । सरकारले आज (१५ पुस) देखि औपचारिक रूपमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाउन सुरु गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष ११ पुसमा गरेको निर्णय अनुसार हरेक वर्ष १५ पुसलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने घोषणा भएसँगै आज पहिलो दिवस मनाइएको हो ।

पहिलो राष्ट्रिय च्याउ दिवसका अवसरमा शुभकामना सन्देश दिँदै कृषिमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उपभोग बढाउँदै यसलाई आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।

मन्त्री परियारका अनुसार नेपालको कुल गार्हस्थ कृषि उत्पादनमा च्याउ खेतीको योगदान ०.१५ प्रतिशत रहेको छ । हाल देशभरि करिब ३५ हजार किसान प्रत्यक्ष रूपमा च्याउ खेतीमा संलग्न भई आयआर्जन गरिरहेका छन् ।

नेपालमा १ हजार १ सय ५० प्रजातिका च्याउ पाइन्छ । जसमध्ये १ सय ४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १ सय प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।

पछिल्लो समय च्याउ उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांक हेर्दा नेपालले च्याउ व्यापारमा नाफा कमाएको देखिन्छ ।

उक्त अवधिमा ६ लाख ७१ हजार रुपैयाँ बराबरको २ हजार २ सय ६२ किलो ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ आयात हुँदा नेपालबाट १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार १ सय ९८ किलो च्याउ निर्यात भएको छ । विशेष गरी सुकाएको च्याउको निर्यात बढ्न थालेको मन्त्रालयले जनाएको छ ।

छोटो समयमा उत्पादन लिन सकिने, थोरै जमिन र कृषि सामग्रीे प्रयोगबाटै खेती गर्न सकिने तथा नेपालको भौगोलिक विविधता अनुसार बाह्रै महिना उत्पादन गर्न सकिने भएकाले च्याउ खेती रोजगार सिर्जनाको उत्तम माध्यम बनेको मन्त्री परियारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?