+
+
Shares

राष्ट्रिय सभा चुनावमा सम्भावित पाँच समीकरण, को–को मिल्दा कस्तो आउला नतिजा ?

राष्ट्रिय सभा निर्वाचनमा पाँच अवस्थाको परिकल्पना गरेर छलफल चलिरहेको छ । पहिलो– एक्लाएक्लै प्रतिस्पर्धा, दोस्रो– कांग्रेस–एमाले समीकरण, तेस्रो– एमाले–नेकपा समीकरण, चौथो– कांग्रेस–नेकपा समीकरण र पाँचौं– कांग्रेस, एमाले र नेकपा समीकरण ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ पुष १७ गते २१:१४

१७ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा समीकरण गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच दुईपक्षीय र बहुपक्षीय छलफल चलिरहेको छ ।

आगामी ११ माघमा हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको समय छ । त्यस अगाडि नै समीकरणको टुंगो लगाउने गरी सबै पक्षसँग संवाद भइरहेको नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक गोपाल भट्टराई बताएका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘एउटै पार्टीले कतै एक्लै चुनाव जित्दैन । मिलेर लड्ने विषयमा छलफल भएको छ तर, टुंगो लागेको छैन । सायद मनोनयनको अघिल्लो दिनसम्म पार लाग्ला ।’

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ मतदाता रहन्छन् ।

यी मतदाताहरूले राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि माघ ११ गते मतदान गर्नेछन् । मनोनित सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ ।

बाँकी १८ पदका लागि चुनाव हुनेछ । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

नेताहरूका अनुसार राष्ट्रिय सभा निर्वाचनमा पाँच वटा अवस्थाको परिकल्पना गरेर छलफल चलिरहेको छ ।

पहिलो : एक्लाएक्लैमा कांग्रेस अगाडि

यदि दलहरूबीच एक्लाएक्लै चुनावी प्रतिस्पर्धा हुने हो भने कोशी प्रदेशमा एमाले बलियो छ । बाँकी सबै प्रदेशको मतभारमा कांग्रेस अगाडि छ ।

एक्लाएक्लै प्रतिस्प्रर्धा हुने हो भने कोशी प्रदेशमा एमालेले एकल रूपमा जित निकाल्न सक्नेछ ।

यो प्रदेशमा एमालेको ४२१० मतभार छ । दोस्रोमा रहेको कांग्रेसको ३७२२ मतभार छ । नेकपाको १६२३ मतभार छ । यो प्रदेशबाट ३ सिटका लागि निर्वाचन हुँदै गरेकाले यदि एक्लाएक्लै प्रतिस्पर्धा भयो भने यो प्रदेशबाट एमालेका लागि सुखद परिणाम आउन सक्छ ।

मधेश प्रदेशमा कांग्रेस ३१०४ मतभारसहित अगाडि छ । दोस्रोमा एमालेको २४०८ मतभार छ । तेस्रोमा रहेको जसपाको मतभार १९२३ छ । चौथोमा नेकपाको १३४६ मतभार छ ।

यदि एक्लाएक्लै प्रतिस्पर्धा भयो भने यो प्रदेशमा पहिलो र दोस्रो दलको मतभार झन्डै ७०० को अन्तर छ । यसकारण कांग्रेसले ४ वटै सिटमा जित निकाल्न सक्नेछ ।

बागमती प्रदेशको मतभारमा पनि कांग्रेस अगाडि छ । यो प्रदेशमा कांग्रेसको मतभार ४०१३, दोस्रोमा रहेको नेकपाको २७३८ र तेस्रोमा रहेको एमालेको मतभार २५७१ छ ।

पहिलो र दोस्रो बीचको मतभार साढे १२ सयले बढी छ । यसकारण यहाँ पनि कांग्रेसले २ सिट जित्न सक्छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि मतभारमा कांग्रेस अगाडि छ । कर्णाली प्रदेशमा भने कांग्रेस र नेकपा नेट टु नेट छ ।

गण्डकी प्रदेशमा कांग्रेसको मतभार २७०४ छ । दोस्रोमा एमालेको २४५८ र तेस्रोमा नेकपाको १०१३ मतभार छ । कुनै दलबीच गठबन्धन नहँुँदा यहाँ पनि कांग्रेसले २ सिट नै जित्न सक्छ ।

लुम्बिनीमा कांग्रेसको ३१७९ मतभार छ । एमालेको २८१०, नेकपाको १३९६ मतभार छ । यदि एक्लाएक्लै प्रतिस्पर्धा भए लुम्बिनी प्रदेशबाट पनि कांग्रेसले ३ सिट थप्न सक्छ ।

कर्णालीमा कांग्रेसको १८६३ मतभार छ । दोस्रोमा रहेको नेपाली कम्युनिस्ट पार्टीको १८४४ मतभार छ । तेस्रोमा रहेको एमालेको ११९५ मतभार छ ।

एक्लाएक्लै चुनाव लड्ने हो भने यहाँ कांग्रेस र नेकपा नेट टु नेट रहेकाले मत परिणाम यसै भन्न सकिन्न । तथापि, स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही कांग्रेस पृष्ठभूमिका हुन् । उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उठेर चुनाव जितेका सांसद् हुन् ।

सुदूरपश्चिममा कांग्रेस बलियो छ । कांग्रेसको २५५८, एमालेको १५३३, नेपाली कम्युनिस्ट पार्टीको १३६५ मतभार छ । यहाँ यी तीन दल एक्लाएक्लै लड्ने हो भने मतपरिणाम कांग्रेसको पक्षमा पुग्छ र यो प्रदेशबाट पनि कांग्रेसले २ सिट थप्नेछ ।

दोस्रो : कांग्रेस–एमाले मिले सोलोडोलो

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेबीच तालमेलको प्रयास छ । तथापि, यो विषयमा दुवै दल भित्र मतभेद देखिएको छ ।

यदि कांग्रेस र एमाले मिले र अन्तर्घात भएन भने यी दुई दलले राष्ट्रिय सभाको १८ सिटमा हुन लागेको निर्वाचनमा सबैतिर जित निकाल्न सक्नेछन् ।

कोशी प्रदेशमा एमालेको ४२१० र कांग्रेसको ३७२२ मतभार जोड्दा ७९२२ हुन्छ । जुन कूल मतभार १०१३५ को दुई तिहाइ बहुमत हो ।

मधेश प्रदेशमा पनि कांग्रेस र एमाले बहुमतमा छन् । यो प्रदेशमा कांग्रेसको ३१०४ र एमालेको २४०८ जोड्दा ५५१२ मतभार हुन्छ । यो जम्मा मतभार १०८३९ को बहुमत हो ।

बागमती प्रदेशमा कांग्रेसको ४०१३ र एमालेको २५७१ मतभार छ । दुवै जोड्दा ६५८४ मतभार पुग्छ । यो बागमती प्रदेशको जम्मा मतभार १०३३५ को बहुमत हो ।

गण्डकी प्रदेशमा कांग्रेसको मतभार २७०४ छ । एमालेको २४५८ छ । दुवै मिल्दा ५१६२ पुग्छ । यो पनि कूल मतभार ६४१० को दुई तिहाइ मत हो ।

लुम्बिनीमा कांग्रेसको ३१७९ र एमालेको २८१० मतभार जोड्दा ५९८९ हुन्छ । यो पनि कूल मतभार ८७५३ को दुई तिहाइ मत हो ।

कर्णालीमा पनि कांग्रेस र एमाले मिल्दा (१८६३ र ११९५ मतभार) ३०५८ मतभार पुग्छ । यहाँ ५१२२ कूल मतभार हो ।

सुदूरपश्चिममा कांग्रेसको २५५८ मतभार छ । यसमा एमाले १५३३ थपिए ४०९१ पुग्छ । यहाँ जम्मा ६१५३ मतभार छ । जसको दुई तिहाइ मतभार कांग्रेस र एमाले मिल्दा पुग्छ ।

तेस्रो : एमाले–नेकपा मिले ३ प्रदेशमा खतरा

कांग्रेस र एमालेबीच समीकरण भएन र एमाले–नेकपा समीकरणमा जुटे भने त्यस्तो गठबन्धनलाई सातमध्ये तीन वटा प्रदेश मधेश, लुम्बिनी र सुदूरपश्चिममा बहुमत जुटाउन साना दलको साथ अनिवार्य हुनेछ ।

कोशी प्रदेशमा एमालेको ४२१० र नेकपाको १६२३ मतभार जोड्दा ५८८३ पुग्छ । यो कूल मतभार १०१३५ को बहुमत हो ।

मधेश प्रदेशमा एमालेको २४०८ मतभार छ । नेकपाको १३४६ मतभार छ । दुवै जोड्दा ३७५४ पुग्छ । यो कूल मतभार १०८३९ को अल्पमत हो । यो गठबन्धन वा अर्को सम्भावित कांग्रेस नेतृत्वको गठबन्धनमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पार्टी जता उभिन्छ उतैतिर जित ढल्किन्छ ।

यो प्रदेशमा जसपा नेपालको मतभार १९२३ छ । यो मत यदि एमाले–नेकपा तालमेलमा मिसिए बल्ल बहुमत (५६७७ मतभार) पुग्छ । अन्यथा, मधेश प्रदेशबाट यो गठबन्धनले ४ सिट गुमाउने छ ।

बागमती प्रदेशमा एमालेभन्दा नेकपा अगाडि छ । नेकपाको मतभार २७३८ र एमालेको मतभार २५७१ छ । दुवै जोड्दा ५३०९ हुन्छ । यो कूल मतभार १०३३५ को बहुमत हो ।

गण्डकी प्रदेशमा एमालेको २४५८ र नेकपाको १०१३ मतभार छ । दुवै मिल्दा ३४७१ हुन्छ जुन कूल मतभार ६४१० को महुमत हो ।

लुम्बिनीमा एमालेको २८१० र नेकपाको १३९६ मतभार छ । दुवै मिल्दा ४२०६ मतभार पुग्छ । यो कूल मतभार ८७५३ को अल्पमत हो । यो प्रदेशमा चुनाव जित्न एमाले र नेकपाले साना दलको विश्वास लिनुपर्छ । यो प्रदेशमा राप्रपाको २६९, लोसपाको २३५ नाउपाको २१२, जसपाको १६७, जनमतको १५९, राजमोको २१९ र जसपा नेपालको ५३ मतभार छ ।

यदि साना दलको विश्वास जित्न सकेन वा अर्को समीकरणमा साना दल गए यो प्रदेशबाट एमाले–नेकपा समीकरणले ३ सिट गुमाउने छ ।

कर्णालीमा भने एमाले र नेकपा मिल्दा बहुमत पुग्छ । नेकपाको १८४४र एमालेको ११९५ मतभार छ । दुवै मिल्दा ३०३९ मतभार पुग्छ । यो कूल मतभार ५१२२ को बहुमत हो ।

सुदूरपश्चिममा एमालेको १५३३, र नेकपाको १३६५ मतभार छ । यी दुवै दल मिल्दा २८९८ मतभार पुग्छ । यो कूल मतभार ६१५३ को अल्पमत हो । यो प्रदेशमा नाउपाको ५०४, राप्रपाको ५३ र स्वतन्त्रको मतभार ११० छ । यदि नाउपाले साथ दिएन भने एमाले–नेकपा समीकरण बनेको खण्डमा त्यसले यो प्रदेशबाट २ सिट गुमाउने छ ।

अर्थात्, एमाले–नेकपा समीकरण बनेको खण्डमा प्रदेश मधेशमा जसपा नेपाल, लुम्बिनीमा लोसपा, नाउपा सहितका साना दल र सुदूरपश्चिममा नाउपाको साथ अनिवार्य लिनुपर्ने हुन्छ । अन्यथा, यस्तो समीकरणले मधेशमा ४, लुम्बिनीमा ३ र सुदूरपश्चिममा २ सिट गरी ९ सिट गुमाउनेछ ।

चौथो : कांग्रेस–नेकपा समीकरण बने मधेशमा सकस

नेकपाले कांग्रेससँग तालमेलको प्रयास गरेको छ । यदि कांग्रेस एमाले छाडेर नेकपासँग तालमेल गर्न तयार भयो भने मधेश प्रदेश बाहेक अन्यत्र जित निकाल्न सक्नेछ ।

कोशी प्रदेशमा कांग्रेसको ३७२२ र नेकपाको १६२३ मतभार छ । दुवै मिल्दा ५३४५ हुन्छ । यो प्रदेशको कूल मतभार १०१३५ को बहुमत हो ।

मधेश प्रदेशको मतभारमा कांग्रेसको ३१०४ नेकपाको १३४६ मतभार जोड्दा ४४५० पुग्छ । यो कूल मतभार १०८३९ को अल्पमत हो ।

यहाँ पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक हुन्छ । यो प्रदेशमा जसपा नेपालको मतभार १९२३ छ । यो मत यदि कांग्रेस–नेकपा तालमेलमा मिसिए बल्ल बहुमत (६३७३ मतभार) पुग्छ । अन्यथा, मधेश प्रदेशबाट यो गठबन्धनले ४ सिट गुमाउने छ ।

बागमती प्रदेशमा भने कांग्रेस र नेकपा मिले उनीहरूकै पक्षमा परिणाम पुग्न सक्छ । यो प्रदेशमा कांग्रेसको मतभार ४०१३ र नेकपाको मतभार २७३८ छ । दुवै मिल्दा ६७५१ पुग्छ । यो कूल मतभार १०३३५ को दुई तिहाइ बहुमत हो ।

गण्डकी प्रदेशमा कांग्रेसको मतभार २७०४ छ । १०१३ मतभार छ । दुवै मिले ३७१७ पुग्छ । यो कूल मतभार ६४१० को बहुमत हो ।

लुम्बिनीमा कांग्रेसको ३१७९ मतभार छ । नेकपाको १३९६ मतभार छ । दुवैको जोड्दा ४५७५ पुग्छ । यो कूल मतभार ८७५३ को बहुमत हो ।

कर्णालीमा कांग्रेसको १८६३ र नेकपाको १८४४ मतभार जोड्दा ३७०७ पुग्छ । यो कूल मतभार ५१२२ को दुई तिहाइ बहुमत हो ।

सुदूरपश्चिममा पनि कांग्रेस र नेकपा मिले पनि जित निकाल्न सक्ने छन् । कांग्रेसको २५५८ नेकपाको १३६५ मतभार छ । दुवै मिल्दा ३९२३ मतभार पुग्छ । जुन कूल मतभार ६१५३ को स्पष्ट बहुमत हो ।

पाँचौं : तीन दल मिले नो टेन्सन !

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा दलहरूले छलफल गरेको पाचौं अवस्था हो– कांग्रेस, एमाले र नेकपा तीन वटै दलबीच समीकरण गर्ने र १८ सिटमा भागबण्डा गरेर त्यसअनुसार उम्मेदवार उठाउने ।

राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकाय कांग्रेस, एमाले र नेकपा तीन वटै शक्तिका बीचमा चुनावी सहकार्य गर्ने विकल्पमा समेत छलफल चलेको बताउँछन् ।

उनी भन्छन्, ‘ठूला शक्तिहरू मिले भने एउटा म्यासेज पनि जान्छ– कि संविधान बनाउने शक्ति एक ठाउँमा छन् । चुनावी परिणाममा पनि ठूलो तलमाथि हुँदैन, कसैको केही सिट तल माथि हुने न हो । यसमा कांग्रेसले समन्वय र नेतृत्व गर्नसक्छ ।’

यदि नेता कांग्रेस नेता रोकायले भने जस्तै तीन ठूला दल मिल्ने हो भने सातै प्रदेशको मतभार लगभग एकै पक्षमा हुनेछ ।

कोशी प्रदेशमा एमालेको ४२१०, कांग्रेसको ३७२२ र नेकपाको १६२३ मतभार जोड्दा ९५५५ पुग्छ ।

मधेश प्रदेशको मतभारमा कांग्रेस ३१०४, एमाले २४०८ र नेकपा १३४६ मिले जम्मा मतभार ६८५८ पुग्छ । यो दुई तिहाइ मतभार हो ।

बागमती प्रदेशको अवस्था पनि उस्तै हुनेछ । कांग्रेसको ४०१३, नेकपाको २७३८ र एमालेको २५७१ जोड्दा ९३२२ पुग्छ ।

गण्डकी प्रदेशमा कांग्रेसको २७०४, एमालेको २४५८ र नेकपाको १०१३ जोड्दा ६१७५ मतभार पुग्छ ।

लुम्बिनीमा कांग्रेसको ३१७९ मतभार छ । एमालेको २८१०, नेकपाको १३९६ मतभार छ । यदि तीन दल मिलेर चुनाव लडे भने ७३८५ मतभार पुग्छ ।

कर्णालीमा कांग्रेसको १८६३ मतभार छ । नेकपाको १८४४ मतभार छ । एमालेको ११९५ मतभार छ । तीन वटै दल मिल्दा ४९०२ मतभार हुन्छ ।

सुदूरपश्चिममा पनि उस्तै अवस्था छ । कांग्रेसको २५५८, एमालेको १५३३ र नेकपाको १३६५ मतभार जोड्दा ५४५६ पुग्छ ।

अर्थात्, कांग्रेस, एमाले र नेकपा मिले भने सबैतिर उनीहरूले भागबण्डा गरेअनुसार नै मतपरिणाम आउन सक्नेछ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?