+
+
Shares

स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो, ११५ जना घाइते

मृतक र घाइतेको ठ्याक्कै संख्या अझै पनि यकिन हुनसकिरहेको छैन । यद्यपि कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते ७:५९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्विट्जरल्यान्डको क्रान्स–मोन्टानास्थित बारमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने ११५ जना घाइते भएका छन्।
  • घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको र उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ ।
  • आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ । मृतक र घाइतेको पहिचान गर्न समय लाग्ने बताइएको छ।

काठमाडौं । स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा रहेको बारमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ११५ जना घाइते छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् ।

नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समय अनुसार बिहीबार बिहान करिब १:३० बजे क्रान्स–मोन्टानास्थित ली कन्स्टेलिसन नामको बारमा आगलागी भएको थियो ।

भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो निभाउन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र १५० आपतकालीन उद्धारकर्मी खटाइएका थिए ।

मृतक र घाइतेको ठ्याक्कै संख्या अझै पनि यकिन हुनसकिरहेको छैन । यद्यपि कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

धेरै व्यक्तिहरु आगोमा जलेर घाइते भएका छन् । भालिसको सियोन अस्पतालमा मात्रै ६० जनालाई भर्ना गरिएको छ, जसमध्ये ‘धेरै जना अति गम्भीर अवस्थामा’ रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

केही घाइतेलाई विशेष बर्न्स युनिट भएका स्विट्जरल्यान्डका अन्य शहरहरू, लोजान र ज्युरिखका अस्पतालमा पनि पठाइएको छ ।

लोजान युनिभर्सिटी अस्पतालमा २२ जना जलेका बिरामीको उपचार भइरहेको छ भने ज्युरिख युनिभर्सिटी अस्पतालले १२ जनाको उपचार गरिरहेको जनाएको छ । केहीको उपचार जेनेभा युनिभर्सिटी अस्पताल पनि भइरहेको छ ।

आगलागीमा परी विभिन्न देशका नागरिक प्रभावित भएका छन् । अधिकारीहरुले मृतक पहिचान र घाइतेको उपचार गरी आफन्तलाई जिम्मा लगाउने काम पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

मृतक र घाइतेको पहिचान गर्न अझै लामो समय लाग्न सक्ने बताइएको छ । पीडित परिवारहरुसँग सहजीकरणका लागि हेल्पलाइन नम्बर +४१ ८४८ ११२ ११७ खुला गरिएको छ ।

इटालीको विदेश मन्त्रालयले १६ जना इटालियन नागरिक बेपत्ता रहेको र १२ देखि १५ जनाले अस्पतालमा उपचार गराइरहेको जनाएको छ ।

फ्रान्सको विदेश मन्त्रालयले आठ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको र मृतकमध्ये फ्रान्सेली पनि हुनसक्ने सम्भावना नकार्न नसकिने बताएको छ । फ्रान्सेली सञ्चारमाध्यमले कम्तीमा दुई घाइते फ्रान्सेली नागरिक रहेको रिपोर्ट गरेका छन् ।

तीन जना इटालियन नागरिकलाई मिलानको निघुवार्दा अस्पताल (जहाँ ठूलो बर्न्स युनिट छ) मा सारिंदैछ । उनीहरूको शरीरको ‘३०–४० प्रतिशत भाग जलेको’ इटालियन काउन्सिलर गुइडो बर्तोलासोले बताएका छन् ।

बिहीबार साँझको पत्रकार सम्मेलनमा अधिकारीहरूले आगो लाग्दा बारभित्र कति जना थिए भन्ने थाहा नभएको बताएका छन् ।

राज्य काउन्सिलर स्टेफान गान्जरले नयाँ वर्षको पार्टीका बेला उक्त बारमा युवाहरुको उत्सवमय भीड रहेको बताए ।

अटर्नी जनरल बियाट्रिस पिलुदले यो दु:खद् अवस्था कसरी उत्पन्न भयो भन्ने परिस्थितिको पहिचान गर्न अनुसन्धान सुरु गरिएको जानकारी दिइन् ।

पत्रकारहरूले चम्किने फ्लेयरसहितका स्याम्पेन बोतलहरू आगलागीको कारण हुन सक्ने हल्ला र सिँढीहरू ‘धेरै साँघुरा’ थिए कि थिएनन् भन्ने प्रश्न गर्दा उनले अनुसन्धान जारी रहेकाले केही पुष्टि गर्न नसकिने बताइन् ।

उनले सिंढी साँघुरा देखिए पनि तिनीहरू नियमअनुसार थिए कि थिएनन् भन्ने मूल्याङ्कन अनुसन्धानले गर्ने स्पष्ट पारिन् ।

स्विट्जरल्यान्डका लागि इटालियन राजदूत जियान लोरेन्जो कोर्नादोले मृतकको पहिचान गर्न हप्तौं लाग्न सक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?