+
+
Shares
शिव यादवसँग वार्ता :

‘समानुपातिक सूची पुनर्विचार गर्नुपर्छ, हामी प्रश्न गर्न छाड्ने छैनौँ’

संविधानको मर्मअनुसार पछाडि पारिएको समुदायको प्रतिनिधित्व हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ । यदि कतै त्रुटि भएको छ भने त्यसलाई पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो माग सधैँ रहन्छ । हामी प्रश्न गर्न छाड्ने छैनौँ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते ८:५१

लामो समयदेखि बहसमा रहेको वैकल्पिक शक्ति निर्माण नयाँ चरणमा पुगेको छ । रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ बीच एकता भएपछि नयाँ राजनीतिक शक्ति मजबुत भएको विश्लेषण भइरहेका छन् । तथापि समानुपातिक सूचीमा ‘आफ्ना’ र पहुँचवालालाई समेटेपछि आलोचना पनि भइरहेको छ ।

नयाँ शक्ति निर्माणमा महत्वपूर्ण भूमिका खेलका जेनजी आन्दोलन अगुवाहरुले पनि यसमा प्रश्न उठाउँदै सच्याउन दबाब दिँदै आएका छन् ।  यही विषय र सन्दर्भमा रहेर द काउन्सिल अफ जेनजीका मधेश प्रदेश संयोजक शिव यादवसँग कौशल काफ्लेले गरेको कुराकानी :

नेपाली राजनीतिको वैकल्पिक धारका तीन नेताहरू रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एक ठाउँमा उभिए । यो एकतामा जेनजीको ठूलो भूमिका रह्यो भनिन्छ । तपाईं आफैं जेनजी आन्दोलनकारी, यो एकताको साक्षीको रूपमा कस्तो महसुस भइरहेको छ ?

धेरै खुसी लागेको छ । वास्तवमा यो एकता हामीले चाहेर मात्र भएको होइन । आम नेपाली जनताको चाहना र सन्देश यही थियो । जनताले देशका हरेक कुनाबाट यी शक्तिहरू मिल्नुपर्छ भनेर दबाब दिइरहेका थिए ।

यी तीन शक्ति एक ठाउँमा आए भने मात्र देशमा वैकल्पिक राजनीति बलियो शक्तिको रूपमा अगाडि बढ्न सक्छ भन्ने आम बुझाइ छ । हामी जेनजीहरूले त केवल जनताको त्यही भावनालाई मूर्त रूप दिन एउटा सानो प्रयास मात्र गरेका हौँ । अब यो एकताले वैकल्पिक शक्तिलाई थप बलियो बनाउने छ भन्ने विश्वास छ । यसकै लागि हामीले दिनरात मिहिनेत गर्यौँ । अब चुनावबाट मतको क्रान्ति हुन्छ भन्ने विश्वास छ ।

तपाईँहरूले ‘पुल’ को काम गर्यौँ भन्नुभयो । पुल बन्ने प्रक्रिया कसरी सुरु भयो ? जेनजी आन्दोलनले नै यो वातावरण कसरी बनायो ?

जेनजी आन्दोलनपछि धेरै टिम बनेका थिए तर ती सबै तितरबितर भए । यसले गर्दा कुनै एउटा बलियो पार्टी निर्माण हुन सकेन । हाम्रो मुख्य चिन्ता भनेको जेनजीको मुद्दा, युवा पुस्ताको विद्रोह र सरकारसँग भएको १० बुँदे सम्झौतालाई कसरी संस्थागत गर्ने भन्ने थियो । हामीले के महसुस गर्यौँ भने, जुन शक्तिहरूको विचार, एजेन्डा र सुशासनको लक्ष्य एउटै छ, उनीहरू अलग–अलग बस्नु हुँदैन । त्यसैले हामीले यी तीनै जनालाई एक ठाउँमा ल्याउन व्यापक दबाब दियौँ र उहाँहरूबीच एउटा ‘पुल’ को भूमिका खेल्यौँ ।

त्रिपक्षीय एकता भएको दिनकै दृश्य रोचक थियो । कुलमान घिसिङ बौद्धको अन्तरा होटलमा आफ्नो पार्टीको बैठकमा हुनुहुन्थ्यो, रास्वपा पक्षबाट गएका फोन उठाइरहनुभएको थिएन । तर तपाईँहरूले उहाँलाई त्यहाँबाट लिएर आउनुभयो । कसरी मनाउनुभयो ?

यो पहल त्यस दिन मात्र भएको होइन । रवि–बालेनपछि कुलमानलाई पनि मिलाउनुपर्छ भनेर हामी दुई दिन अगाडिदेखि नै निरन्तर संवादमा थियौँ । तर त्यस दिन निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने अन्तिम दिन भएकाले अलि हतार थियो ।

यदि कुलमानजी यो एकतामा छुट्नुभएको भए भोट बाँडिने थियो । र, जनतामा अन्योल पैदा हुने थियो । अर्कोतर्फ, कुलमानजी एउटा व्यक्ति मात्र हुनुहुन्नथ्यो, उहाँको ‘उज्यालो नेपाल पार्टी’ संस्था थियो जसको सूची तयार भइसकेको थियो । त्यसैले उहाँले पार्टीमा रहेका अन्य साथीहरूलाई बुझाउँदा पनि थप समय लागेको हाम्रो बुझाइ थियो ।

यता हामीले रविजी र बालेनजीसँग पनि निरन्तर संवाद गरिरह्यौँ । अघिल्लो दिनको मध्यरात १२ बजेतिर म र सुदन गुरुङ गएर कुलमानजीलाई भेटेका थियौँ । उहाँहरूको मुख्य अडान एउटै थियो– पद वा सिटको भागबन्डा नगरौँ । तर योग्य र दक्ष मानिसहरूलाई सदनमा पुर्याउने वातावरण बनोस् । १८ देखि ३० जनासम्म योग्य व्यक्तिहरूलाई समेट्ने विषयमा कुराकानी भएपछि अन्तत: एकता सम्भव भयो । यसमा सुदन, जेम्स, ओजस्वीलगायत मेरो टिमले समन्वय गरिरहेका थियौँ ।

तर, समानुपातिक सूची हेर्दा त पहिलो गाँसमै ढुंगा लागे जस्तो भएन र ? एलिट वर्गकै कब्जामा गयो भन्दै व्यापक आलोचना छ नि ?

म अहिले कुनै पार्टीको सदस्य होइन । तर एक आन्दोलनकारीको नाताले भन्छु, एकताको दिन समयको चाप थियो । हतारमा केही त्रुटि भएका हुन सक्छन् । तर मिडियामा केवल कलाकारहरूको फोटो मात्र चर्चामा आयो । त्यो ११० जनाको सूचीमा पछाडि पारिएको क्षेत्र र दलित समुदायका व्यक्तिहरू पनि छन् ।

उदाहरणका लागि, रामजी राम जस्ता गरिब परिवारबाट आएका र आफ्नो समुदायको प्रतिनिधित्व गर्ने व्यक्ति पनि त्यहाँ हुनुहुन्छ । संविधानको मर्मअनुसार पछाडि पारिएको समुदायको प्रतिनिधित्व हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ । यदि कतै त्रुटि भएको छ भने त्यसलाई पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो माग सधैँ रहन्छ । हामी प्रश्न गर्न छाड्ने छैनौँ ।

जेनजी आन्दोलनले उठाएका मुद्दा अब यो नयाँ शक्तिले कसरी अगाडि बढाउँछ ? तपाईंहरूका आवाज यसले समेट्छ भन्ने विश्वास छ ?

एकताको लागि सहमतिपत्रमा हस्ताक्षर भइसकेपछि पनि हामीले करिब आधा घण्टा रविजी, बालेनजी र कुलमानजीसँग छलफल गर्यौँ । हाम्रो एउटै प्रश्न थियो– यो आन्दोलनको मर्म र भावनालाई तपाईँहरूले कसरी जोड्नुहुन्छ ? त्यसबेला रविजीले खुलेर भन्नुभयो, ‘जेनजीको जे मुद्दा, एजेन्डा र विचार छ, त्यो हामी स्वीकार्न तयार छौँ, तपाईँहरूले सहयोग गर्नुपर्यो ।’

बालेनजी र कुलमानजीबीच भएको सहमतिको पहिलो बुँदामा पनि जेनजीको मर्मलाई समेट्ने कुरा उल्लेख छ । यी कारण पनि सरकार र जेनजीबीच भएको १० बुँदे सहमतिलाई यो पार्टीले अपनत्व लिनेछ र आगामी निर्वाचनपछि बन्ने सरकारले ती माग पूरा गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

तपाईँ मधेश प्रदेशको संयोजक हुनुहुन्छ । यो सम्झौताले मधेशको भावनालाई कसरी सम्बोधन गर्छ ?

यो आन्दोलन कुनै क्षेत्रीय आन्दोलन थिएन । सुशासनको लागि थियो । भ्रष्टाचार देशभरि व्याप्त छ, त्यसैले यो सबै नेपालीको साझा लडाइँ थियो ।

हाम्रो दस्तावेजमा विगतका दलित, मधेश, आदिवासी, जनजाति र मुस्लिम आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई अपनत्व लिँदै तिनका माग सम्बोधन गर्ने कुरा स्पष्ट लेखिएको छ । यसले हरेक सीमान्तकृत वर्गको मुद्दालाई स्वीकार गरेको छ ।

भदौ २३ र २४ को घटनालाई लिएर तपाईँहरूमाथि अराजकताको आरोप लाग्ने गरेको छ । कतिले त जेनजी ‘आतंककारी’ सम्म भने ?

हामी शान्तिपूर्ण आन्दोलनका लागि गएका थियौँ, जुन भिडियोहरूमा छर्लङ्ग देखिन्छ । २३ गते राज्यले बर्बरतापूर्वक दमन गर्यो र हाम्रा साथीहरूको टाउको र छातीमा गोली हान्यो । गोली त सरकारको तर्फबाट चलेको हो नि, हामीले चलाएको होइन । राज्यले आफ्नै नागरिकको हत्या गरेपछि त्यसको प्रतिक्रियास्वरूप २४ गते क्षति भयो ।

बरु हामी लोकतन्त्र र निर्वाचनको पक्षमा छौँ । जसले संविधान मिच्छ र छानबिन आयोगलाई सहयोग गर्दैन, उनीहरू चाहिँ अराजक हुन् । एमालेका साथीहरूले यदि गल्ती गर्नुभएको छैन भने आयोगलाई कागजपत्र बुझाउन किन आनाकानी गरिरहनुभएको छ ? यसले उहाँहरू नै दोषी हुनुहुन्छ भन्ने प्रष्ट पार्छ । हामी आन्दोलनकारीलाई त जुन आयोगले जहाँ बोलाउँछ, स्पष्ट आफ्ना कुरा राख्न तयार छौँ । यसले पनि भन्छ नि, को के हो भन्ने त ।

जेनजीको अबको बाटो के ? चुनावमा कसरी जानुहुन्छ ?

अहिले नै सबै निर्णय भइसकेको छैन, तर सम्भावना धेरै छ । यदि हाम्रो मुद्दा र एजेन्डा पार्टीले पूर्ण रूपमा समेट्छ भने हामी बालेनजीलाई प्रधानमन्त्री बनाउन र रास्वपालाई साथ दिन तयार छौँ । हाम्रो मुख्य उद्देश्य भनेको व्यापक रूपमा जेनजीका युवा अनुहारहरू सदनमा पुग्नुपर्छ र नीति निर्माणमा सहभागी हुनुपर्छ भन्ने हो । यसमा जो–जो योग्य छौँ, चुनावमा भाग लिन्छौँ । जनतामाझ जान्छौँ ।

तपाईँहरूले खोजेको सुशासनको परिभाषा के हो ? यदि जनताले ब्यालेटबाट परिवर्तन गराए भने तपाईंले कस्तो सुशासनको प्रत्याभूत गराउने हो ?

हाम्रो माग धेरै ठूलो र जटिल छैन । साधारण जनताले सरकारी कार्यालयमा घुस खुवाउनु नपरोस्, लाइनमा बस्नु नपरोस् । युवाहरूले स्वदेशमै रोजगारी पाउन् र मधेशका मिटरब्याज पीडितहरूले न्याय पाउन् । नागरिकता बनाउन महिनौँ कुर्नु नपरोस् । अब राजनीतिमा भाषण होइन, जनताले प्रत्यक्ष रूपमा ‘डेलिभरी’ (सेवा) पाओस् भन्ने नै हाम्रो मुख्य चाहना हो । नेपाली जनता यही देशमा खुसी भएर बस्न पाऊन्, हामीले खोजेको सुशासन यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?