१८ पुस, काठमाडौं । काठमाडौंका होटलहरूमा ग्राहकको मागअनुसार युवती सप्लाइको धन्दा चलाउने युवक कारागार चलान भएका छन् ।
युवती सप्लाइ गरेको आरोपमा पक्राउ परेका दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई बूढानीलकण्ठ नगरपालिका–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्की कारागार चलान भएका हुन् । उनलाई सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको प्रहरीले बताएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको बिहीबारको इजलासले कार्कीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ ।
उनले आफ्नै कारमा राखेर युवतीहरू सप्लाइ गर्दै उपत्यकाका विभिन्न होटलहरूमा पुर्याउने र मोटो रकम असुल्ने प्रहरीले बताएको थियो ।
कार्कीलाई २० मंसिरमा वृत्त गौशालाले सरस्वतीनगरबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट मुद्दा चलाइएको थियो ।
कार्कीले ठमेल, गौशाला, गोंगबु तथा एअरपोर्ट अगाडिका होटलहरूमा युवती सप्लाइ गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको थियो ।
कार्कीले होटलमा ग्राहक खोज्ने व्यक्तिदेखि होटलकै स्टाफहरूसँग सम्पर्क गर्ने गरेको एक अनुसन्धान अधिकृतले बताए । उनले होटलसँग सम्बन्धित व्यक्ति र युवतीसँग पनि सम्पर्क गरी बीचमा बसेर काम गर्ने गरेको प्रहरीको भनाइ थियो ।
यसका लागि कार्कीले होटलसँग सम्बन्धित व्यक्तिदेखि ट्याक्सी चालकहरूसँग समेत सम्पर्क गरेको प्रहरीको भनाइ छ । करिब ५० जना युवतीका तस्वीरहरू कार्कीले ट्याक्सी चालक, होटलका लागि ग्राहक खोज्ने व्यक्ति र होटलका स्टाफहरूलाई समेत उपलब्ध गराएको प्रहरीले बताएको थियो ।
होटलमा युवती सप्लाइ गर्ने कार्कीविरुद्ध दुई युवतीले प्रहरीमा जाहेरी दिएका थिए । ती युवतीले भने आफूहरूलाई प्रलोभनमा पारेर ट्रयापमा पारी यौनधन्दामा लगाएको भन्दै उजुरी दिइएको थियो ।
१९ मंसिरमा दुई युवतीलाई बागमती बीएसी ०९४८ नम्बरको आफ्नै कारमा राखेर काठमाडौं महानगरपालिका–९ विजयचोक पुर्याएका थिए । उक्त स्थानमा लगेर ग्राहकसँग सम्पर्क गराइदिएर उनी भने बेपत्ता भएका थिए ।
पछि ती दुई महिलाले आफूहरूलाई जबरजस्ती यौनधन्दामा लगाएको भन्दै खबर गरेपछि प्रहरीले उनीहरूलाई उद्धार गरेको थियो । उद्धार गरिएका पीडित महिलाले प्रहरी वृत्त गौशालामा उजुरी दिएपछि २० मंसिरमा उनी कालोपुलबाट पक्राउ गरेका थिए ।
प्रतिक्रिया 4