+
+
Shares

काठमाडौंका होटलमा कारमार्फत युवती सप्लाइको धन्दा

पक्राउ परेका व्यक्तिसँग भेटियो ५० जनाको तस्वीर

आफ्नै कारमा राखेर युवतीहरू सप्लाई गर्दै उपत्यकाका विभिन्न होटलहरूमा पुर्‍याउने र मोटो रकम असुल्ने समूह सक्रिय रहेको भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १९:३४

१५ पुस, काठमाडौं । काठमाडौंका होटलहरूमा ग्राहकको मागअनुसार युवती सप्लाई गर्ने धन्दा फस्टाएको पाइएको छ । प्रहरीले युवती सप्लाई गर्ने समूहका एक व्यक्तिलाई पक्राउ गरी तीन सातादेखि गोप्य रूपमा अनुसन्धान गरिरहेको छ ।

आफ्नै कारमा राखेर युवतीहरू सप्लाई गर्दै उपत्यकाका विभिन्न होटलहरूमा पुर्‍याउने र मोटो रकम असुल्ने समूह सक्रिय रहेको भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो ।

आफ्नै कारमार्फत होटल-होटलमा युवती सप्लाई गर्ने एक युवालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ । दोलखाको मेलुङ गाउँपालिका-१ पवटी घर भई बुढानलीकण्ठ नगरपालिका-६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्की नाम गरेका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी (प्रहरी उपरीक्षक) तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । उनका अनुसार कार्कीलाई २० मंसिरमा वृत्त गौशालाले सरस्वतीनगरबाट पक्राउ गरेको हो ।

उनीमाथि अहिले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही दिनमै टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको छ । त्यसपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुनेछ ।

कार्कीले ठमेल, गौशाला, गोंगबु तथा एअरपोर्ट अगाडिका होटलहरूमा युवती सप्लाई गर्ने गरेको अनुसन्धानबाट खुलेको एसपी भट्टराईले बताए । कार्कीले होटलमा ग्राहक खोज्ने व्यक्तिदेखि होटलकै स्टाफहरूसँग सम्पर्क गर्ने गरेको एक अनुसन्धान अधिकृतले बताए ।

उनले होटलसँग सम्बन्धित व्यक्ति र युवतीसँग पनि सम्पर्क गरी बीचमा बसेर काम गर्ने गरेको पाइएको प्रहरीले बताएको छ । ‘उहाँ (कुलबहादुर)को मुख्य काम नै होटलसँग सम्बन्धित व्यक्ति र युवतीसँग सम्पर्क गरेर काम गर्ने गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने, ‘त्यसवापत उनले मोटो रकम बुझेको भेटिएको छ ।’

यसका लागि कार्कीले होटलसँग सम्बन्धित व्यक्तिदेखि ट्याक्सी चालकहरूसँग समेत सम्पर्क गरेको प्रहरीको भनाइ छ । करिब ५० जना युवतीका तस्वीरहरू कार्कीले ट्याक्सी चालक, होटलका लागि ग्राहक खोज्ने व्यक्ति र होटलका स्टाफहरूलाई समेत उपलब्ध गराएको पाइएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

कार्कीलाई पक्राउ गर्दा उनको आइफोनमा ५० युवतीहरूको तस्वीरसमेत भेटिएको थियो । युवतीहरूको तस्वीर उपलब्ध गराएपछि होटलमा बस्न आउने ग्राहकहरूलाई ती तस्वीर देखाएर मोलमोलाइ गर्दै डिल गरेर युवती मगाउने गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार तस्वीर हेरेर होटलका ग्राहकले युवती ‘कन्फर्म’ गरेपछि होटलका स्टाफ तथा होटलमा ग्राहक खोज्ने व्यक्तिले कार्कीलाई सम्पर्क गर्थे । त्यसपछि कार्की आफैं कारमार्फत होटल-होटलमा युवती सप्लाईमा खटिने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

यदि आफूले नभ्याएको अवस्थामा उनले ट्याक्सीमार्फत माग भएको होटलमा युवती पठाउने गरेका थिए । यो सँगै ग्राहक खोज्नका लागि उनले ट्याक्सी चालकलाई समेत प्रयोग गरेको देखिएको प्रहरीको भनाइ छ । केही ट्याक्सी चालकलाई युवतीका तस्वीर दिएर ग्राहक खोज्ने काममा लगाएको प्रहरी स्रोत बताउँछ ।

अरू पनि समूह

कार्की मात्रै होइन यस्तै शैलीमा धन्दा चलाउने अरू व्यक्ति पनि रहेको सूचना प्रहरीले प्राप्त गरेको छ । यो कुरा स्वयं कार्कीले समेत बताएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

प्रहरीले भने अहिलेसम्म कार्की बाहेक अरूलाई पक्राउ गरेको छैन । अन्य समूह तथा व्यक्तिको  खोजी भइरहेको प्रहरीले बताएको छ ।

‘अरू समूह पनि सक्रिय छन् भन्ने सूचना आएको छ, हामी निगरानी गरिरहेका छौं,’ ती अधिकृतले अनलाइनखबरसँग भने । यस्तो यौन धन्दामा होटलहरू पनि संलग्न भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइए पनि होटल सञ्चालहरूले भने यसबारे जानकारी नै नभएको प्रहरीलाई बताएका छन् ।

दुई उजुरी

करिब ५० बढी युवतीसँग सम्पर्क गरेर होटलमा युवती सप्लाई गर्ने कार्कीविरुद्ध अहिलेसम्म दुई जना युवतीले उजुरी दिएका छन् । ती युवतीले भने आफूहरूलाई प्रलोभनमा पारेर ट्र्यापमा पारी यौनधन्दामा लगाएको भन्दै उजुरी दिएको प्रहरीले बताएको छ ।

युवतीको उजुरीपछि प्रहरीले कार्कीलाई पक्राउ गरेर अनुसन्धान गर्दा विगत लामो समयदेखि ५० बढी युवतीहरूसँग सम्पर्क गरेर यौन धन्दामा लगाउने गरेको खुलेको हो ।

पीडित युवतीहरूले प्रहरीलाई बताएअनुसार कार्कीले सुरुमा अरू नै काम, होटलमा केही ग्राहकसँग बसेर लन्च, डिनर खानेसम्म मात्रै बताउने गरेको तर पछि ट्र्यापमा पारेर यौन धन्दामा लगाउने गरेको बताएका छन् ।

प्रहरीले गरेको थियो उजुरी दिने दुई युवतीको उद्धार

कार्कीले १९ मंसिरमा दुई युवतीलाई बागमती बीएसी ०९४८ नम्बरको आफ्नै कारमा राखेर काठमाडौं महानगरपालिका-९ विजयचोक पुर्‍याएका थिए । उक्त स्थानमा लगेर ग्राहकसँग सम्पर्क गराइदिएर उनी भने बेपत्ता भएका थिए ।

पछि ती दुई महिलाले आफूहरूलाई जबरजस्ती यौनधन्दामा लगाएको भन्दै खबर गरेपछि प्रहरीले उनीहरूलाई उ
द्धार गरेको थियो । उद्धार गरिएका पीडित महिलाले प्रहरी वृत्त गौशालामा उजुरी दिएपछि २० मंसिरमा उनी कालोपुलबाट पक्राउ गरेका थिए ।

यसरी यौनधन्दामा लगाए वापत युवतीलाई चार/पाँच हजार दिने र उनले भने मोटो रकम बुझ्ने गरेको प्रहरीले बताएको छ । यसरी कमाएको रकमले उनी भने बिलासिताको जीवन जिउने गरेको प्रहरीले बताएको छ ।

उनी कपनको हाउजिङ एरियामा फ्याट भाडामा लिएर बस्दै आएका थिए । युवती ओसार्न प्रयोग भएको उनको नामको स्विफ्ट कारसमेत प्रहरीले बरामद गरेको थियो ।

उनले आफ्नो मोबाइलमा युवतीहरूको फोटो राख्ने, ती फोटाहरू बिचौलियालाई देखाउने अनि बार्गेनिङ गर्नेदेखि सामाजिक सञ्जालमार्फत युवतीको लोकेसन पठाउने र क्युआरमा रकम जम्मा गर्न लगाएर यौनधन्दा चलाएको आरोप छ ।

अहिले हिरासतमा रहेका कार्की यसअघि वैदेशिक रोजगारीमा समेत गएको देखिएको छ । फर्केपछि उनी यो धन्दामा सक्रिय रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?