News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनबाट हेटौंडातर्फ आउँदै गरेको कारले ट्राफिक प्रहरी जवान विजयप्रताप साहलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका छन्।
- घटनास्थल हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि बिहीबार साँझ करिब ७ बजेर ४५ मिनेटमा भएको थियो।
- प्रहरीले फरार कारचालकलाई चितवनबाट नियन्त्रणमा लिएको र चालकले मापसे जाँच छलेर भागेको पाइएको छ।
१८ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि बिहीबार साँझ मापसे जाँचको क्रममा एक ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. ६च ८४०९ नम्बरको कारले प्रहरी चेकिङ छलेर भाग्दा प्रहरी जवानलाई ठक्कर दिएको थियो ।
बारा जिल्ला घर भई जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा कार्यरत विजयप्रताप साह गम्भीर घाइते भएका हुन् । हेटौंडा अस्पतालमा उनको उपचार भइरहेको छ । अस्पतालका चिकित्सकले साहको टाउकोमा १८ टाँका लगाइएको, घुँडा र मुखमा सामान्य चोट रहेको बताएका छन् ।
घटना बिहीबार साँझ करिब ७ बजेर ४५ मिनेटमा भएको हो । हेटौंडा उपमहानगरपालिका–३ लेवटमा सोही साँझ एक सवारीसाधनले स्थानीय प्रकाश दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । पैदलयात्रामा रहेका दाहाललाई ठक्कर दिएलगत्तै सवारीसाधन लिएर चालक फरार भएका थिए ।
सो सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले सडकमा सवारीसाधनहरू रोक्दै विशेष चेकिङ गरिरहेको थियो । सोही क्रममा चितवनबाट हुकिँदै आएको कार मादक पदार्थ सेवन (मापसे) जाँचका लागि ट्राफिक प्रहरी कार्यालय अगाडि रोकियो । मापसे जाँचका लागि प्रहरी जवान साहले चालकको मुखतर्फ मेसिन लैजान हात बढाउने बित्तिकै चालक कार लिएर हेटौंडा बजारतर्फ भागेका थिए ।
चालकले कारको सिसा लक गर्दै भागेपछि प्रहरी जवान साहको हात च्यापिएको थियो । उनी करिब पाँच मिटरसम्म घिसारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक पुरुषोत्तम पौडेलले अनलाइनखबरलाई बताए ।
घटनापछि फरार कारलाई आज प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको छ । कारचालक प्रहरीको चेकिङ छलेर बिहीबार राति नै चितवन फर्किएको पाइएको पौडेलले बताए ।
प्रतिक्रिया 4