
६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ ।
उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद तथा ट्राफिक प्रहरीले आज बिहानैदेखि रातिसम्म उपत्यकाका मुख्य चोक, सडक र गल्लीमा मापसे परीक्षण गरी कडाइका साथ अनुगमन गरिरहेको छ ।
चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने प्रहरीको अपेक्षा अनुसार आज दिनभरी जनपद तथा ट्राफिक प्रहरी सडकमा खटिएको उनले बताए ।
‘हाम्रो उद्देश्य दण्डित गर्नु होइन, चेतना जगाउनु हो । नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौं,’ प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने, ‘चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै प्रहरीको अपेक्षा हो ।’
उक्त अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी आफैं खटिएका छन् । उनले टोलीसहित त्रिपुरेश्वर, नयाँवानेश्वर, कलङ्की, दरबारमार्ग, महाराजगञ्ज, गौशाला, चाबहिल, बल्खुलगायतका क्षेत्रमा निरीक्षण चालकहरूको मापसे परीक्षण गरेका थिए ।
भाइटीकाको दिन काठमाडौं उपत्यकाभर सवारी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको वा नगरेको विषयमा सयौँ सवारीसाधनका चालकको परीक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए ।
‘मापसेको कारण दुर्घटना नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । त्यसैले हामीले आज दिनभरी मापसे परीक्षणसँगै सडकमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेका छौं,’ उनले भने ।
ट्राफिक प्रहरीले दशैं, तिहारजस्ता पर्वमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति रोक्न गत वर्षभन्दा यस वर्ष थप कडाइ गरेको छ ।
उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले ‘मापसे नगरी सवारी चलाऔँ, सुरक्षित यात्रामा सबैको साथ दिऔँ’ नारासहित सडक प्रयोगकर्तामाझ सचेतनामूलक पर्चा वितरण र माइकिङसमेत गरेको थियो । रासस
प्रतिक्रिया 4