भारतको चर्चित ललनटप मिडियाले केही दिनअघि जावेद अख्तर र मुफ्ती शमाइल बीच “ईश्वर छन् कि छैनन् (Does god exist?)” भन्ने शीर्षकमा बहस आयोजना गरेको थियो। जावेद अख्तर हिन्दुस्तानका प्रसिद्ध शायर, लेखक एवम् गीतकार हुन् भने मुफ्ती शमाइल इस्लामिक स्कलर। लगभग दुई घण्टा चलेको उक्त बहसको मूल प्रश्न ओझेलमा परे पनि रोचकता भने अरू थपिएको थियो। जावेद अख्तरले आमजनमा आस्था आरोपित गरेर संसारभर धर्मले गरेको अन्याय र रक्तपातको विरोध गरे भने मुफ्ती शमाइलले ईश्वरलाई पारलौकिक तत्वको रूपमा व्याख्या गरे।
यो बहसको कुरा गर्नु भन्दा अगाडि सर्वप्रथम त यस शीर्षकमा आधारित भएर केही कुरा व्यक्त गर्न आवश्यक मानिन्छ। के ईश्वर अस्तित्वमा छन् त ? यो वादविवाद अहिलेको मात्र होइन। दर्शनशास्त्रमा यी प्रश्नहरूले महत्वपूर्ण स्थान लिएका छन्। कसै कसैले मान्ने गरेका छन्— यो प्रश्न नै दर्शनको केन्द्रीय प्रश्न हो, जसबाट दर्शनशास्त्रमा चेतना र पदार्थको उपशाखा बन्दछन्। तर यो मान्यता आफैंमा अधुरो, अपुरो छ। जब हामी पूर्वीय दर्शनको कुरा गर्छौं, तब यो द्वैधता अपर्याप्त हुन जान्छ। पूर्वीय दर्शनशास्त्रले मान्दछ कि सर्जक र सृजना पृथक् तत्वहरू होइनन्। हामीले भिन्न भिन्न प्रयोजनका लागि प्रयोग गरे तापनि योग, ध्यान आदिको अर्थ आत्मा र परमात्माको द्वैधभावलाई तिरोहित गर्नु हुन जान्छ। त्यसकारण यो विषय आफैंमा त्यस उत्कर्ष विन्दुको व्याख्यासम्म पुग्न सक्तैन।
नास्तिक कसलाई भन्ने ? जो ईश्वरको अस्तित्वमा विश्वास गर्दैन। यसकारणले ऊ ईश्वरको अस्तित्वमा विश्वास गर्दैन कि उसका तर्क, इन्द्रियबोध आदि कुनै पनि साधनको माध्यमबाट ईश्वरको अस्तित्व भेट्टाउन सक्दैन। यदि कोही मनुष्य आत्मगत रूपमा इमानदार भएर आफ्नो खोज अन्वेषणपश्चात् पनि ईश्वरजन्यता भेट्टाउन सक्दैन भने उसको नास्तिकताको सम्मान गर्नुपर्छ। प्रश्न आखिर आस्तिकता र नास्तिकताको भन्दा पनि व्यक्तिको खोजको इमानदारिताको छ।
आस्तिक ईश्वरद्वारा सृष्टिको रचना भएको मान्छ। ईश्वर बाहेक अन्य कुरालाई सृष्टिको स्रोतलाई मान्दैन। उसले मान्छ- मानिसको खोजको, मानिसको तर्कको एउटा सीमा छ। अनि खोज र तर्कहरूले व्याख्या गर्न नसक्ने धेरै पक्ष छन्। ईश्वर मानिसको तार्किक खोज भन्दा बाहिर विद्यमान छ। तर्कले भेट्टाउन सकिएन भन्दैमा संसार ईश्वरहीन छैन भन्न मिल्दैन।
अब आस्तिकको यस तर्कमा नास्तिकको भन्दा धेरै खण्डनीय कुराहरू भेटिन्छन्। पहिलो र प्रमुख कुरा त, यदि ईश्वर तर्क र खोजको सीमातीत छ भने आस्तिकहरूको वादविवाद निष्प्रयोजनीय छ। वादविवादको नियमभित्र आबद्ध भइसकेपछि दृढ र तार्किक प्रतिवाद गर्नुको साटो ईश्वर बुझ्न तर्क अपर्याप्त छ भन्नु आफैंमा आत्मसमर्पण हो। हो, अवश्य पनि तर्कहरूका सीमा छन्। तर्कहरू पनि साझा विश्वासको आधारमा टेकेर निर्माण हुन्छन्। उदाहरणको लागि सरलरेखा सम्बन्धी कुनै नयाँ पक्षमा वादविवाद गर्नुपर्यो भने दुईवटा पक्ष नै यस कुरामा मतैक्यता हुनुपर्यो कि सरलरेखा १८० डिग्रीको हुन्छ। यही अकाट्य स्टेटमेन्टको जगमा उभिएर वादविवाद गर्नेहरूले पनि आफ्नो कुरा राख्नुपर्ने हुन्छ। यो तर्कलाई आधार लिएर हेर्ने हो भने आस्तिकहरू वादविवादको टेबलमा बस्नु नै उनीहरूको असफलताको पहिलो कदम हुन्छ।
अघि माथि नै उल्लेख गरिसकिएको छ कि व्यक्तिको तर्कको इमानदारिता या अनुभूय सत्यता नै प्रधान तत्व हो। आस्तिकताको वकालत कसले गरिरहेको हुन्छ ? यो आफैंमा गहन प्रश्न हो। यदि कोही व्यक्ति तर्क गर्न नसकेर, सन्देह र खोज गर्ने योग्यता नभएर केवल आफ्नो भय र अक्षमतालाई आवृत गर्न आस्तिकताको बयान गर्छ भने त्यो व्यक्ति आस्तिकताको ठूलो द्रोही हो। उसको आस्तिकताको आधार भय र कमजोरीमा उभिएको छ।
अब नास्तिकहरूको नि अन्धविश्वासको कुरा गरौं। आधुनिक समयमा नास्तिक हुनु लोकप्रिय फेशन बनेको छ। हरेक मानिसहरू आफूलाई नास्तिक भनेर चिनाउन पाउँदा आफ्नो मस्तिष्क नै गर्वोन्नत भएको महसुस गर्छन्। जसरी मानिसहरू खोज र तर्क गर्नुको श्रमबाट छुटकारा पाउन या आफ्नो भयलाई लुकाउने स्थान प्राप्त गर्न आस्तिकताको शरणमा जान्थे, त्यसैगरी आधुनिक मानिस पनि सोही उद्देश्यको लागि नास्तिक बनिरहेको छ। नास्तिकता उसको व्यक्तित्वको सामाजिक स्वीकृतिको सहायक बन्छ। जसरी आस्तिकता साम्प्रदायिक भयो, त्यसरी नै नास्तिकता पनि साम्प्रदायिक भइरहेको छ। बहुप्रिय लेफ्ट विचारधाराले आजसम्म पनि आस्तिकता र पूँजीको आलोचक भएरै आफ्नो अनुहारको भरथेग गरिरहेको छ। आफ्नो तथाकथित नास्तिकतामा के अभाव छ, आफ्नो तार्किक आकारमा कुन आयाममा बेमेल छ भनेर खोज गर्नुको सट्टा नास्तिकतालाई नै अन्तिम सत्य घोषणा गर्नेहरू वैज्ञानिक स्वभावलाई देख्न नसक्ने आस्तिकहरूकै सहवर्ती हुन्।
यथामति यति कुरा राखिसकेपछि अब जावेद अख्तर र मुफ्तीको वादविवादमा प्रस्थान गरौं। माथि नै भनिसकिएको छ कि यो विवाद मूल प्रश्नमा प्रवेश गर्न सकेन। यसका सबै पहलुहरूमा त प्रवेश गर्न नसकिएला तर यति भन्न सकिन्छ कि अख्तरका धेरै तर्कहरूसँग असहमत हुने ठाउँ छ, तर मुफ्तीको विचारसँग भने ठाउँठाउँमा डराउनुपर्ने नै देखिन्छ। रूसका प्रसिद्ध लेखक दोस्तोएभ्स्कीले आफ्नो उपन्यास द इडियट मा भनेका छन्- गलत ईश्वर प्रचार गर्नेहरू भन्दा नास्तिकहरू नै सही हुन्छन्। हुनसक्छ उनको एकेडेमिक अध्ययनबाट दुनियाँका तितो वास्तविकताहरू छोपिएका थिए होलान्। गाजामा मारिएका बालबच्चाहरू ईश्वरद्वारा परीक्षित भइरहेको छन् भन्ने तर्क कस्तो मस्तिष्कको उपज हो, आफैंमा भयाक्रान्त तुल्याउने विचार हो। उनको अर्को तर्क प्रस्तुत गर्न प्रयोग गरेको उदाहरण आफैंमा गलत थियो। हो, मानवीय स्वभाव नै हो कि विपरीत तत्वको उपस्थिति विना आफूसँग भएका कुराहरूको मूल्य थाहा पाउँदैन। क्रोध आफैंमा कति नकारात्मक ऊर्जा हो भन्ने कुरा क्रोध सेलाएपछि र वितेको समयको महत्व समय घर्किएपछि मात्र थाहा हुन्छ। तर तर्कको सीमितता, अपुगता हुन्छ भन्ने कुरा बिर्सिएर हत्यापश्चात् मात्र जीवनको मूल्य थाहा हुन्छ भन्ने तर्क केवल तर्कको लागि तर्क हो। व्यक्तिको क्रोध, निराशा जस्ता कुराहरूले सौम्यता र आशाको मूल्यबोध गराउँछ भन्ने तर्कमा आफ्नो आधारभूत स्वतन्त्रता जोडिएको छ, तर स्वतन्त्रता यति पनि सीमाहीन हुनुहुँदैन कि त्यसले अरूको जीवनलाई अवमूल्यन गरोस्।
उनको अर्को कमजोरी उनी विरोधाभासी अवधारणाहरूको कुरा गर्छन्। उनी ईश्वरको सशर्त, निर्धारित रचनाको बारेमा वकालत गर्छन्, अर्कोतिर फेरि फ्री विलको कुरा गर्न पुग्छन्। अर्थात्, उनी कार्बोहाइड्रेट विनाको चकलेटको बारेमा कुरा गरिरहेका छन्। मानिसको लम्बेतान समयको एउटा क्षण टिपेर हेर्यो भने फ्री विल अस्तित्वमा विद्यमान छ जस्तो लाग्छ तर उक्त क्षणलाई ऐतिहासिक रूपबाट हेर्ने हो भने लाग्छ, व्यक्तिको नितान्त निजी चयन उक्त क्षणलाई निर्माण गर्ने एउटा शर्त मात्र हुन जान्छ। फेरि ईश्वरको सिर्जनाको निश्चिततालाई स्वीकार गरिसकेपश्चात् फ्री विल केवल मन भुलाउने रोमाञ्चभन्दा अर्थोक मूल्य हुँदैन।
मुफ्ती शमाइलका अन्य धेरै पक्षबारे कुरा गर्न सकिन्छ। अहिलेलाई जावेद अख्तरको बारेमा कुरा गरौं।
जावेद अख्तर एकेडेमिक विज्ञता नदेखाए पनि उनको उपस्थितिलाई शमाइलको भन्दा बढी सान्दर्भिक मान्न सकिन्छ किनभने तर्कको कसौटीमा नास्तिकता आस्तिकता भन्दा प्रबल हुन्छ। यदि ईश्वरको अस्तित्वलाई तार्किक रूपले प्रस्ट्याउन सकिन्छ भने उनी ईश्वरको अस्तित्व मान्न तयार छन्। यस्तो तर्कमा सहमति जनाउन नसके पनि बहसको शर्तभित्र भने सहमति मान्न बाध्य हुनुपर्छ। मुफ्तीले भनेको कुरा सत्य हो- प्लास्टिक डिटेक्टरले धातु डिटेक्ट गर्न नसकिए जस्तै हाम्रो इन्द्रियबोधले ईश्वर भेट्टाउन सकिंदैन। तर यो कुराको प्रमाण के छ ? हामी सबै शरीरमा बद्ध छौं, इन्द्रियको अनुभवलाई नै हामी तर्कको आकार दिन्छौं। त्यसकारण हामीले ईश्वरको खोज बहस-पैरवीको सभामा होइन, अन्यत्र कतै खोज्नुपर्ने हुन्छ।
अख्तर भन्छन्- म नर्थ पोल पुगेको छैन, तर नर्थ पोल छ भन्ने कुरा विश्वास गर्छु, किनभने यसलाई तर्कले पुष्टि गर्न सजिलो हुन्छ। यसलाई कान्टले ए प्रायोरी नलेज (A Priori Knowledge) भनेर परिभाषित गरेका थिए। तर लगत्तै उनी भन्छन्- आस्था (faith) भने सन्देह विना आज्ञाकारिताको माग गर्छ। अख्तरले कुन सन्दर्भमा आस्थाको कुरा गरेका हुन्, तर आस्था भने मानिसको मस्तिष्कको सीमितताको कारण मानिसले अनुभव गर्ने तर्कातीत रहस्यको अर्को नाम हो। जावेद अख्तरले ईश्वरको बारेमा कुरा गरेनन्, केवल साम्प्रदायिकताको विरोध गरे।
सामाजिक सञ्जालमा जति नै चर्चा भए तापनि यो बहसले “ईश्वरको अस्तित्वबारे चर्चा नगर” भन्ने वाल्ट विटम्यानको कविताको पङ्क्तिलाई पुष्टि गरेको छ। एउटा यस्तो पक्ष छ, जो तर्कको दृष्टिकोणमा बलियो छ, अर्को पक्ष तर्कद्वारा पुष्टि गर्नै सकिंदैन। आखिर यस्ता बहसहरू अख्तर-शमाइल बहस झैं अनिर्णयमा पूर्णविराम लाग्छन्।
प्रतिक्रिया 4