१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन पुसभित्रै गर्ने अडानप्रति आपत्ति जनाएका छन् ।
शनिबार कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आपत्ति जनाएका हुन् । विशेष महाधिवेशन जसरी पनि गर्ने महामन्त्रीहरूको अडान पार्टीको निर्णय नभइ व्यक्तिगत मत भएको दाबी गरे ।
‘अब विशेष महाधिवेशन जसरी पनि गर्ने भन्ने सन्दर्भमा यो उहाँ (महामन्त्री)को कुरा भयो । सबैको विचार एउटै हुनुपर्छ भन्ने छैन । त्यसैले यसलाई कसरी लिएर जाने, यसको औचित्य के हो ? यसको निष्कर्ष के हो ? यो कहाँ पुग्छ, भन्नेकुरामा मतमतान्तर हुनसक्छ पार्टीमा । त्यसैले उहाँले जे भन्नुभएको थियो, त्यही नै सही हो । मैले जे भनेको छु, त्यही नै सही हो भन्ने त हुँदैन,’ उनले भने ।
पार्टीभित्र विशेष महाधिवेशनको सन्दर्भमा बहस, विचार, विमर्श भएकोले पार्टीको अन्तिम निर्णयलाई आत्मसाथ गरेर जानुपर्नेमा उनले जोड दिए ।
पार्टीमा रहेका सबै नेताहरूको एउटै विचार नहुने भन्दै पार्टीको निर्णय स्वीकार गरेर जानुपर्ने उनको भनाइ थियो । पार्टीको निर्णय चित्त नबुझे नेता, कार्यकर्तामाझ आफ्ना मुद्दा बोकेर जान सकिने उल्लेख पनि उनले गरे ।
‘पार्टीभित्र छलफल हुनुपर्छ । यो त पार्टी हो नी, कुनै व्यक्तिगत कम्पनी त होइन । पार्टीमा विभिन्न विचार हुनसक्छ, त्यसलाई छलफल हुन्छ । छलफलबाट जे निष्कर्ष आउँछ, त्यसैलाई लिएर हामी अगाडी बढ्ने हो । अथवा चित्त बुझेन भने त्यो कुरा लिएर जनताको माझमा जाने हो । कार्यकर्तामा जाने हो । यसको बारेमा पार्टीमा पनि छलफल चलेको छ, त्यसबाट जे निष्कर्ष निस्किन्छ, त्यो नै हाम्रो धारणा बन्नुपर्छ,’ परियारले भने ।
सहमहामन्त्री परियारले बहुमत पार्टीका सदस्यहरूले गरेको निर्णयलाई लत्याएर महामन्त्रीहरूले आफूले गरेको निर्णय नै सही र सत्य हुने दाबी गर्न नहुने पनि बताए ।
प्रतिक्रिया 4