१९ पुस, चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममा उनले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको बताए ।
पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा राम्रो रहेको पनि उनले बताए।
पत्रकारहरुको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशीला तयार गर्ने उनको भनाइ थियो । ‘लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यममा पुर्याउन जरुरी छ,’ मन्त्री खरेलले भने ।
निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराएका थिए ।
मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा जाँदा दुर्घटनामा परेका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई भेट गरेका थिए ।
ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आवश्यक सहजीकरणका लागि आफू तयार रहेको उनको भनाइ थियो ।
पत्रकार ढकाल गत असोजमा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परी घाइते ढकालको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको छ ।
प्रतिक्रिया 4