- १९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलाई बलियो बनाउनका लागि राज्य र जनता बीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्नेमा जोड दिएका छन् ।
निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै उनले जनतासँग राज्यको सम्बन्ध घनिष्ठ बनाउन सरकारले सेवा प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
जनता र राज्य बीचका सम्बन्धलाई जीवन्त बनाउने भूमिका निजामती कर्मचारीको रहेको उनको भनाइ छ ।
“राज्यलाई बलियो बनाउनका लागि नागरिक हक सुनिश्चित गर्नुपर्दछ । राज्य र जनतालाई जोड्ने काम गर्नुपर्दछ । त्यसपछि मात्र हामी समृद्धिको यात्रामा अघि बढ्न सक्दछौं’, महासचिव पोखरेलले भने ।
उनले निर्वाचनलाई सामना गर्न राज्यका प्रमुख अङ्गबीच एकता र सहकार्य आवश्यक रहेकाेमा जोड दिए ।
‘अहिले राज्य कमजोर अवस्थामा छ । यस्तो बेला राज्य बलियो बनाउने काम निजामती प्रशासनको हो । कमजोर अवस्थामा रहेको राज्यलाई स्थायी सरकारको नेतृत्व गरिरहेको निजामतीले बलियो बनाउने अगुवाइ गर्न सक्दछ’ उनले भने, ‘मुलुकको वर्तमान र भविष्यका लागि जागरुक तप्काका रूपमा निजामती कर्मचारी रहनुपर्दछ ।’
महासचिव पोखरेलले नवयुवा राज्य र राजनीतिक दलसँग असन्तुष्ट रहेकाे बताउँदै गत भदौ २३ र २४ को घटना यसको उदाहरणका रूपमा रहेकाे उल्लेख गरे । उनले नवयुवाले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण, सुशासन कामय गर्नेलगायत विषयलाई राजनीतिक नेतृत्वले समाधान गर्ने बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य भोला पोखरेलले निजामती कर्मचारी स्थायी सरकार भएकाले बाह्य शक्तिबाट मुलुकलाई जोगाउन भूमिका खेल्न आग्रह गरे ।
सङ्गठनका अध्यक्ष भवानी दाहालले राज्य कमजोर भएको बेला निजामती कर्मचारी चनाखो भएर बस्नु र जनहितमा केन्द्रित भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । रासस
प्रतिक्रिया 4