+
+
Shares

काठमाडौंमा गुञ्जिए नारायण नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते ११:२७
Listen News
0:00
0:30
🔊

काठमाडौं । दाङमा रहेर साहित्य सिर्जना गरिरहेका गजलकार नारायण नेपालका गजलहरूको प्रस्तुति काठमाडौँमा भएको छ ।

शनिबार सर्वनाम थिएटरमा नेपालका ५ वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने ५ वटा नेपाल स्वयंले तरन्नुममा वाचन गरे ।

नेपालका ३ वटा गजलमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत थियो, जसमा २ वटामा श्रेष्ठ स्वयंले स्वर दिएका थिए भने एउटामा गायिका जलजला परियारले ।

यसरी नै २ वटा गजलमा नेपाल स्वयंको धूनमा गायक तथा सङ्गीतकार भूपू पाण्डेले स्वर दिएका थिए । वाद्यवादनमा तबलामा शम्भु श्रेष्ठ र भ्वाइलिनमा यतिराज अधीकारीले साथ दिएका थिए ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले स्रष्टा तथा सङ्गीतकार, गायक/गायिकाको परिचय प्रस्तुत गर्दै ‘नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०’ सन्तोष श्रेष्ठ र आफूले २ वर्षअघि घोषणा गरेको र यसबीचमा दर्जनजति प्रत्यक्ष गजल गायनका कार्यक्रम देशभरमा सम्पन्न भइसकेका जानकारी दिए ।

ओझाले अभियानअन्तर्गत आगामी २७ पुसमा कोसी प्रदेशको झापा जिल्लाको बिर्तामोडमा गजलकार रश्मि असफलका गजलहरूमा सन्तोष श्रेष्ठको एकल सङ्गीत र स्वरमा प्रत्यक्ष गायन हुने पनि बताए । ओझाले यसबीचमा राधा कणेल र आफ्ना शब्दमा श्रेष्ठकै सङ्गीत र स्वरमा ‘नसोधी’ एल्बम आइसकेको तथा ३ माघमा राधा कणेल, रश्मि असफल र आफ्ना शब्द रहेको गजल एल्बम ‘मतला’ भारतको दार्जिलिङका सङ्गीतकार जीवनप्रकाश प्रधानको सङ्गीतमा आउँदै गरेको जानकारी पनि दिए ।

अनाममण्डलीको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको सहकार्यमा सम्पन्न कार्यक्रममा गजलकार नेपालका प्रस्तुत गजलबारे प्रा. डा. कृष्णहरि बरालले सूक्ष्म टिप्पणी गरेका थिए । बरालले गजल गायनका विभिन्न शैली र प्रविधि हुने बताउँदै अरबमा प्रयुक्त शैली र प्रविधि हिन्दीमा नभएको, हिन्दीमा भएको नेपाली गजल गायनमा नहुन पनि सक्ने धारणा राखे ।

बरालले गजल गायनको शैली र प्रविधि भाषा, माटो, त्यहाँका साजबाज र सङ्गीतकार, गायक/गायिकाअनुसार हुन सक्ने आशय व्यक्त गरे ।

कार्यक्रममा अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कार, गजलकार ज्ञानु विद्रोही लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?