
काठमाडौं ।
त्यो दिल अरूको खातिर, खाली नहोस् सधैँभर
मेरो निमित्त मात्रै, बाँकी बचोस् सधैँभर
हाम्रो पियार देखी, आगो बनोस् न पानी
इर्ष्या गरोस् त त्यस्तो, पानी बलोस् सधैँभर ।
गजलकार राधा कँडेलका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको कर्णप्रिय धूनले मोहकता थपेकै थियो, त्यसमा सुमधुर स्वरकी धनी जलजला परियारको स्वरले सर्वनाम थिएटरमा जम्मा भएका स्रोता मन्त्रमुग्ध बने ।
शुक्रबार १६०औँ मोतीजयन्तीका अवसरमा आयोजित ‘राधा कँडेल साङ्गीतिक गजल साँझ, २०८२’मा जलजलाले राधाका ५ वटा गजल गाइन् । ५ वटै गजलमा सन्तोषको एकल सङ्गीत थियो ।
तिमी रापिलाे छाै, बलेकाे मकलझैँ
यता दिल छ मेराे, सुकेकाे सिमलझैँ
प्रायः शृङ्गारिक गजलमा प्रस्तुत भएकी जलजलाले उल्लेखित शेर वाचन गरिरहँदा हल गर्माएको थियो । समसामयिक विषयलाई पनि सुन्दर ढङ्गले गजलमा उन्न सिपालु राधाको लेखन परिष्कृत रहेको भन्दै सङ्गीतकार सन्तोष श्रेष्ठले प्रशंसा गरे ।
गायिका जलजला मञ्चमा ‘सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु/कारण बताउँदा चैँ, तिम्रै बताइदिन्छु’ भन्दै गुञ्जिँदा हल जुरुक्क बनेको थियो ।
गजल अभियन्ता, समालोचक घनेन्द्र ओझाले नेपाली गजल लेखनमा परिष्कारसँगै गायनमा पनि परिष्कृत हुन जरुरी रहेको भन्दै सन्तोष श्रेष्ठ र आफूले विक्रमको २०८०-२०९० लाई ‘नेपाली गजल गायनको स्वर्ण दशक घोषणा गरेको र यही अभियानअन्तर्गत यो कार्यक्रम गरिएको सुनाए । ओझाले यो कार्यक्रम ऐतिहासिक भएको पनि बताए ।
‘नेपाली गजल सङ्गीतमा हालसम्म नारी स्रष्टाका गजल, नारीकै स्वरमा एकल गायन भएको देखिँदैन,’ ओझाले भने, ‘यो सम्भवत: पहिलो कार्यक्रम हो ।’
ओझाले जलजला, राधा र सन्तोष तीनै जनाले नेपाली गजल सङ्गीतमा नयाँ इतिहास रचेको दाबी गरे । समालोचक प्रा. डा. देवी नेपालले नेपाली गजल लेखनसँगै सङ्गीतमा पनि तीव्र र परिष्कृत बन्दै गएको भन्दै खुसी व्यक्त गरे ।
गजलकार तथा सङ्गीत मर्मज्ञ रवि प्राञ्जलले नेपाली गजल गायनमा यो कार्यक्रम उत्साहप्रद र स्मर्णयोग्य भएको बताए । नेपाली गजललाई गायनमा ल्याउने प्रयासको प्राञ्जलले सराहना पनि गरे ।
वाद्यवादनमा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए । अनाममण्डली, नेपाल गजल प्रतिष्ठान र गोल्डेन क्रियसनको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले सहकार्य गरेको छ ।
प्रतिक्रिया 4