२२ पुस, काठमाडौं । बालबालिकामा बढ्दो मोटोपनको समस्या नियन्त्रण गर्न बेलायत सरकारले जंक फूड तथा चिनी धेरै भएका पेय पदार्थका विज्ञापनमा कडाइ गरेको छ । नयाँ नियमअनुसार अब टेलिभिजनमा राति ९ बजेअघि र अनलाइन प्लेटफर्महरूमा कुनै पनि समयमा यस्ता अस्वस्थ्यकर खाद्य पदार्थका पेड विज्ञापन देखाउन पाइने छैन ।
यो कदमलाई बालबालिकामा लगातार बढिरहेको मोटोपनको दर घटाउने सरकारको व्यापक स्वास्थ्य रणनीतिको हिस्सा भनिएको छ ।
स्वास्थ्य तथा सामाजिक हेरचाह विभाग (डीएचएससी)का अनुसार, विज्ञापन प्रतिबन्धका कारण बालबालिकाको वार्षिक क्यालोरी सेवन करिब ७.२ अर्बले घट्ने अनुमान गरिएको छ । यसबाट करिब २० हजार बालबालिकामा मोटोपनको समस्या कम हुने र दीर्घकालमा राष्ट्रिय स्वास्थ्य सेवालाई करिब २ अर्ब पाउन्ड बराबरको आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ ।
बेलायतकी स्वास्थ्य मन्त्री एश्ले डाल्टनले भनेकी छन्, ‘राति ९ बजेअघि जंक फूडका विज्ञापन रोक्नु र अनलाइन पेड विज्ञापनमा पूर्ण प्रतिबन्ध लगाउनुको उद्देश्य बालबालिकालाई अस्वास्थ्यकर खानाको अत्यधिक प्रभावबाट जोगाउनु हो । यसले अभिभावक र बालबालिकालाई स्वस्थ विकल्प छनोट गर्न सजिलो बनाउनेछ ।’
उनका अनुसार सरकार केवल रोगको उपचार गर्ने कुरामा सीमित नराखी रोग नै रोकथाम गर्ने दिशामा अघि बढिरहेको छ । ‘हामी चाहन्छौं कि मानिसहरू स्वस्थ रहून् र अति आवश्यक पर्दा मात्रै स्वास्थ्य सेवा लिनुपरोस्,’ उनले थपिन् ।
स्वास्थ्य विभागका अनुसार विभिन्न अध्ययनहरूले विज्ञापनले बालबालिकाको खाने बानी र खानाको समयमै प्रभाव पार्ने देखाएका छन् । बाल्यकालमै अस्वस्थ्यकर खानाप्रतिको रुचि विकास हुँदा मोटोपनसँग सम्बन्धित रोगहरूको जोखिम बढ्ने भएकाले यस्तो कडाइ आवश्यक भएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4