+
+
Shares

तम्घास–छल्दी सडकको जोखिमयुक्त स्थानमा मर्मत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते ८:०३

२२ पुस, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि सिमलटारी हुँदै छल्दी जाने सडक खण्डका जोखिमयुक्त स्थानहरूमा मर्मत गरिएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तम्घास–छल्दी सडक खण्डमा कालोपत्रे सडक भत्किएर जीर्ण बन्दै गएपछि सवारी आवागमनमा समस्या देखिएको थियो ।

सडकका विभिन्न घुम्ती तथा जोखिमपूर्ण स्थानहरूमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेको र कतिपय स्थानमा सडक भत्किएर सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको थियो ।

वर्षातको समयमा सडक झन् बिग्रिँदै जाँदा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो थियो ।

यही अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायले भत्किएका तथा जोखिमयुक्त स्थानमा मर्मत कार्य अघि बढाएको हो ।

सडक भत्किएका ठाउँमा पुन: कालोपत्रे गरी खाल्डाखुल्डी पुरिने काम सम्पन्न गरिएको जनाइएको छ ।

मर्मतपछि सडकको अवस्था केही सहज बनेको र सवारी आवागमनमा सुधार आएको स्थानीय चालक गोविन्द कुँवरले बताए ।

सडक खण्ड सदरमुकाम तम्घासलाई ग्रामीण भेगसँग जोड्ने मुख्य मार्ग भएकाले दैनिक यात्रु, मालवाहक सवारी तथा आपतकालीन सेवाका लागि अत्यन्तै महत्वपूर्ण छ ।

सडक जीर्ण हुँदा आवतजावतमा समस्या हुनुका साथै समयमै सेवा लिन कठिनाइ हुँदै आएको थियो ।

तम्घासदेखि सिमलटारी सम्मको २९ किलोमिटर क्षेत्रको छल्दी सम्ममा भत्कीएको ठाउँमा मर्मत गर्न ८१ लाख ४३ हजारको लागतमा एम.एच. फोर्टिनस्टार सप्लायर्स तम्घासले मर्मतको काम गरेको मदन भण्डारी अयोजना कार्यालय गुल्मीले जनाएको छ ।

राजमार्गका विभिन्न ठाउँमा कतै खाल्डा र कतै पानीका पोखरी जस्तै बन्ने गरेको थियो । कालोपत्रे सडक भत्कीएको वषौं बित्दा समेत मर्मतमा भने ध्यान पुग्न सकिरहेको थिएनन ।

सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । ६ वर्ष पहिले कालोपत्रे भएको तम्घास–सिमलटारी सडक खण्ड जिर्ण बन्दै गएको छ ।

बिरामीहरु लिएर रातको समय हिड्दा निकै जोखिम बढदै गएको सवारी चालकको भनाइ छ । स्थानीयबासीले वर्षौंपछि सडक मर्मत सुरु भएपछि राहतको अनुभूति व्यक्त गरेका छन् ।

सडक जीर्ण हुँदा विगत केही वर्षदेखि सवारी साधन सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो ।

करिब १ अर्बको लागतमा लागतमा कालोपत्रे गरिएकोमा राजमार्ग भएर गुल्मी क्षेत्रनम्बर–२ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधान आउ–जाउ गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?