+
+
Shares

हिजोभन्दा आज झन् जाडो, तत्काल छैन वर्षाको सम्भावना

तराई मधेशमा हुस्सु कुहिरो कायमै

मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो तर सरदर भन्दा बढी हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते ८:२०

२२ पुस, काठमाडौं । देशभर जाडो बढ्दै गएको मौसमविदले बताएका छन् । काठमाडौंको हकमा हिजोको तुलनामा आज झन् जाडो महसुस भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो ।

केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो क्रममा छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो । आइतबार ४, सोमबार ३.५ र मंगलबार बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस मापन भएको हो । नेपालमा न्यूनतम तापक्रमको आधिकारिक तथ्यांक हरेक दिन बिहान पौने ९ बजे मापन गरेर सार्वजनिक गरिन्छ ।

मौसमविद ढकालका अनुसार आज यस वर्षको हालसम्मकै कम न्यूनतम तापक्रम मापन भए पनि यो सरदर भन्दा भने केही बढी नै हो । उनका अनुसार काठमाडौंमा जनवरी ६ तारिक अर्थात आजको सरदर न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस हो ।

अधिकतम तापक्रममा भने खासै ठूलो उतारचढाव नआएको मौसमविद ढकालले बताए । तराईका क्षेत्रमा हिजो घाम लागेका कारण अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको उनले जानकारी दिए ।

तराईका जिल्लाहरूमा बिहानीपख लाग्ने हुस्सु र कुहिरो अझै केही दिन जारी रहने सम्भावना छ । यद्यपि, यो अवस्था स्थिर नरही मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद् ढकालको भनाइ छ । तराई मधेशका बासिन्दाले तपतप शीत चुहिने गरेकाले दैनिक जनजीवन प्रभावित भएको बताएका छन् । तर मौसम विज्ञान विभागले भने अहिलेको अवस्थालाई ‘शीतलहर’ नै भन्न नसकिने जनाएको छ ।

तत्काल छैन वर्षाको सम्भावना

नेपालमा आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहे पनि केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि अन्य क्षेत्रमा भने वर्षाको तत्कालै कुनै संकेत देखिएको छैन । महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर ठूलो वर्षा गराउने कुनै पनि मौसमी प्रणाली सक्रिय हुने देखिँदैन ।

यस वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण थियो । सोही प्रक्षेपण अनुसार नै लामो समयदेखि पानी पर्न सकेको छैन । विभागका अनुसार हिउँदमा स्वभाविक रूपमै कम पानी पर्ने भए पनि यस वर्ष वर्षाको मात्रा अझ कम देखिएको हो ।

मौसमविदहरुका अनुसार नेपालमा केही वर्षयता हिउँदे वर्षा हराएको छ र सुक्खा बढ्दो क्रममा छ । यसले मानव स्वास्थ्य र कृषि प्रणालीलाई असर पुर्‍याएको भन्दै विज्ञहरु चिन्तित छन् । यसो हुनुमा कतिपयले जलवायु परिवर्तनको असर ठान्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?