+
+
Shares

नैतिक संकटमा समाज

नेतृत्वमा नैतिक उदाहरण र नागरिकमा प्रश्न गर्ने साहस हुने हो भने मात्र समाज नैतिक रूपमा स्वस्थ बन्न सक्छ।

सीमा बन सीमा बन
२०८२ पुष २४ गते ९:३२

‘नैतिकताको पालनाले मात्र व्यक्ति सर्वश्रेष्ठ र महान् बन्छ।’

– कौटिल्य

पूर्वीय दर्शनले मानिसलाई परिवार, समाज, राष्ट्र र प्रकृतिसँगको सम्बन्ध तथा कर्तव्यसँग जोडेर हेरेको छ। यसले मुलुकको शासन व्यवस्थाका गुण, नागरिक र राज्य बीचको अन्तरसम्बन्ध, राज्यले नागरिकका लागि पूरा गर्नुपर्ने दायित्व र नागरिकले मुलुकको हित एवं राष्ट्रिय उन्नति र समृद्धिका लागि निर्वाह गर्नुपर्ने कर्तव्यको व्याख्या गरेको छ। पूर्वीय दर्शन जीवन र जगतको सत्यता, शक्तिको सर्वोपरिता, मानवीय भगवानको सिर्जना, मरणशील शरीर र अमर आत्मा जस्ता मूलभूत मान्यतामा आधारित छ। मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पुर्‍याउँछ भन्ने यस दर्शनका आधारभूत पक्षबाट हाम्रा भावना, विचार र कर्म प्रभावित भएका हुन्छन्।

पश्चिमी दर्शन मुख्यतः अधिकारवादी अवधारणासँग सम्बन्धित छ। यसले पारदर्शिता, समावेशिता र प्रतिस्पर्धा जस्ता पक्षमा बढी जोड दिन्छ। यी दुई दर्शनका मान्यताले सामाजिक परिवेश हुँदै प्रशासनिक संयन्त्रलाई समेत प्रभावित पारेका हुन्छन्।

नैतिक दर्शन (नैतिकता) ले मानिसको आचरणलाई ठीक-बेठीक वा उचित-अनुचित छुट्याउन र त्यसलाई व्यवहारमा उतार्न निर्देशित गर्दछ। यसले नैतिक निर्णयलाई प्रतिबिम्बित गर्छ। मानवीय व्यवहारलाई आदर्श बनाउनु यसको मुख्य उद्देश्य हो। असल जीवन कसरी जिउने? जीवनका लागि असल कुरा के हुन् र ती कसरी प्राप्त गर्न सकिन्छ? खास परिवेशमा ती कुराको महत्त्व कति रहन्छ? हाम्रा अधिकार र जिम्मेवारी के हुन्? के सही र के गलत हो? सही निर्णय कसरी गर्ने? जस्ता प्रश्नको उत्तर नैतिक दर्शनले खोज्छ।

नेपाली समाजमा नैतिक मूल्य र सदाचारको माग बढ्दै गएको छ। समाज केवल मानिसहरूको भौतिक अस्तित्व मात्र होइन; यो साझा मूल्य, आदर्श र नैतिकतामा आधारित जीवन पद्धति हो। तर, आजको समाजलाई हेर्दा लाग्छ– हामी भौतिक रूपमा अगाडि बढिरहेका छौं, विकासका मूल फुटाइरहेका छौं, तर नैतिक रूपमा भने निरन्तर पछाडि धकेलिंदै छौं। सत्य, इमानदारी, जिम्मेवारी, प्रेम र करुणा जस्ता मूल्यहरू क्रमशः कमजोर हुँदै गएका छन्। विस्तारै समाज गहिरो नैतिक संकटमा फस्न थालेको देखिन्छ।

अहिले सफलताको मापन धन, शक्ति र पहुँचका आधारमा गरिन्छ। गलत बाटोबाट प्राप्त सफलतालाई समेत प्रशंसनीय ठान्न थालिएको छ। इमानदार व्यक्तिलाई ‘सोझो’, ‘केही नजान्ने’ र ‘अव्यावहारिक’ भनेर उपेक्षा गरिन्छ भने छलकपट र स्वार्थमा लिप्त हुनेलाई ‘टाठाबाठा’ को उपमा दिइन्छ। यसले लक्ष्य प्राप्तिका लागि साधन जे भए पनि स्वीकार्य हुन्छ भन्ने गलत सन्देश नयाँ पुस्तामा प्रवाह गरिरहेको छ।

राजनीति, प्रशासन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्र नैतिकताको उदाहरण बन्नुपर्नेमा यिनै क्षेत्र नैतिक संकटका केन्द्र बन्दै गएका छन्। जनप्रतिनिधिहरू जनसेवक भन्दा स्वार्थका प्रतिनिधि जस्ता देखिन्छन्। शिक्षा क्षेत्र ज्ञान र चरित्र निर्माणको माध्यम बन्नुको सट्टा केवल प्रमाणपत्र उत्पादन गर्ने कारखाना बन्दैछ। अधिकांश सार्वजनिक क्षेत्र मात्र होइन, चिकित्सक र शिक्षक जस्ता मर्यादित पेशामा समेत नैतिकतामाथि व्यावसायिकता (व्यापारिकता) हावी हुँदै गएको छ।

सार्वजनिक ओहोदा अवसरमा परिणत हुँदा प्रणालीभित्र पद, पैसा र प्रतिष्ठाको अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ। उच्च नैतिक चरित्रको कुरा अरूका लागि मात्र उपदेश बन्न पुगेको छ। जनताको प्रत्यक्ष सेवामा खटिनुपर्ने राष्ट्रसेवकहरू निष्क्रिय देखिन थालेका छन्। निष्पक्षता र आपसी सद्भावलाई आस्थाको विभाजनले प्रतिस्थापन गर्ला कि भन्ने डर छ। जसका कारण सीमित इमानदार तथा कर्तव्यनिष्ठ व्यक्तिहरू प्रोत्साहित हुनुको साटो पटक-पटक हतोत्साहित भएका छन्। यसले राज्य जस्तो नैतिक संस्थामाथि जनविश्वास गुम्ने खतरा निम्त्याउँछ। आजको सानो लोभ भोलि भ्रष्टाचार र पर्सि अपराधमा परिणत भएका कैयौं उदाहरण भेटिन्छन्।

नैतिक संकट हाम्रो व्यक्तिगत सोच र व्यवहारसँग जोडिएको विषय हो। हामी आफैं नियम उल्लंघन गर्छौं तर दोष अरूलाई दिन्छौं। इमानदारीको अपेक्षा अरूबाट गर्छौं तर आफूबाट शुरु गर्न हिचकिचाउँछौं। जबसम्म व्यक्तिगत नैतिकता बलियो हुँदैन, तबसम्म सामाजिक नैतिकताको परिकल्पना गर्न सकिंदैन

सार्वजनिक व्यक्ति केवल परिवारको मात्र नभई समाज, राष्ट्र र विश्व समुदायको सदस्य हो। तर, त्योभन्दा पहिले ऊ एक व्यक्ति हो। व्यक्तिका रूपमा ऊभित्र सकारात्मक र नकारात्मक दुवै गुण-अवगुण हुन सक्छन्। तर, जब ऊ सार्वजनिक संयन्त्रको अंग बन्छ, तब ऊ व्यक्तिगत चरित्रको घेराबाट बाहिरिएर सार्वजनिक चरित्रको कठोर सीमाभित्र बाँधिनुपर्छ। त्यसपछि उसमा रहने स्वाभाविक नकारात्मकतालाई ग्राह्य मान्न सकिंदैन। तसर्थ, सार्वजनिक हैसियतमा रहेकाहरूमा सकारात्मकता, सदाचार र सहिष्णुताको अनुपम मेल हुनु जरूरी छ।

मूल्य-मान्यता र नैतिकताको प्रवर्धन सार्वजनिक चरित्रमा प्रतिबिम्बित हुनुपर्ने अपरिहार्य तत्व हो। तर, यस्ता मान्यता प्रवर्धन गर्ने परिपाटीको अभावले आज सार्वजनिक क्षेत्र सर्वसुलभ र सम्मानित बन्नुको साटो बोझिलो, अविवेकी, अमर्यादित र नातावाद-कृपावाद जस्ता नकारात्मक दृष्टिकोणबाट ग्रसित हुन पुगेको छ।

नैतिक संकटको अर्को गहिरो कारण समाजको मौनता हो। समाजमा हुने अन्याय, शोषण र विकृतिको कारण गलत काम गर्नेहरू मात्र होइनन्, गलत देखेर चुप बस्नेहरू पनि हुन्। जब सत्य बोल्नुपर्ने बेला मौनता रोजिन्छ, त्यही मौनता अपराधमा रूपान्तरण हुन्छ। अन्यायलाई मौन समर्थन गर्नु पनि अन्याय नै हो। आज हामी सबै देखिरहेका छौं– शक्ति र पहुँच विना निरीह बनेका मानिस, आधारभूत आवश्यकताका लागि भौंतारिएका मानिस, अवसरको अभावमा बाकसमा फर्किएका युवा, र देशमै केही गर्छु भन्नेहरूको तिरस्कार। अर्कोतर्फ, अनियमितताबाटै मौलाएकाहरूले पाएको संरक्षण पनि हाम्रै सामुन्ने छ। विभेद, व्यभिचार, अन्याय, अत्याचार र भ्रष्टाचार देख्दादेख्दै पनि ‘मलाई के मतलब’ भन्दै आँखा चिम्लिने प्रवृत्ति बढेको छ। डर, स्वार्थ वा सुविधाका नाममा मौन बस्ने बानीले गलतलाई बलियो र सहीलाई कमजोर बनाउँछ। जब समाज अन्यायप्रति उदासीन हुन्छ, तब अनैतिकता सामान्य बन्छ।

सामाजिक सञ्जालले यो संकटलाई अझ जटिल बनाएको छ। देखावटी जीवन, झुटो छवि र क्षणिक लोकप्रियताको पछाडि लाग्दा मानवीय विवेक ओझेलमा परेको छ। हामी गहिरो चिन्तनभन्दा हल्लाको पछि दौडिरहेका छौं। विचारभन्दा भाइरलता र सत्यभन्दा सनसनीले प्राथमिकता पाउन थालेको छ।

यसले समाजलाई सतही, असहिष्णु र आत्मकेन्द्रित बनाउँदै लगेको छ। सामाजिक सञ्जालमा लेख्ने र बोल्नेहरू नै सर्वेसर्वा बनिदिंदा सत्य र भ्रम छुट्याउन कठिन भएको छ। अर्काको पीडा र संवेदनाको हेक्का नराखी भाइरल हुने नाममा भिडियो क्लिप काटेर अर्थको अनर्थ लगाउने र विश्लेषण गर्ने क्षमता नभई विश्लेषक बन्ने होडले गर्दा जनता अन्योलमा छन्।

नैतिक संकट हाम्रो व्यक्तिगत सोच र व्यवहारसँग जोडिएको विषय हो। हामी आफैं नियम उल्लंघन गर्छौं तर दोष अरूलाई दिन्छौं। इमानदारीको अपेक्षा अरूबाट गर्छौं तर आफूबाट शुरु गर्न हिचकिचाउँछौं। जबसम्म व्यक्तिगत नैतिकता बलियो हुँदैन, तबसम्म सामाजिक नैतिकताको परिकल्पना गर्न सकिंदैन। निष्कर्षमा, आजको समाज नैतिक संकटको दोबाटोमा उभिएको छ। यदि हामीले अहिले नै आत्म-मूल्याङ्कन गरेनौं भने भोलिको समाज अझ मूल्यहीन बन्न सक्छ। नैतिकता नै दिगो र न्यायपूर्ण समाजको आधार हो। त्यसैले अब प्रश्न अरूलाई होइन, आफैंलाई गर्नुपर्छ– “म यो समाजलाई कस्तो बनाउँदैछु?”

के यो संकटबाट मुक्ति सम्भव छ ? पक्कै छ। यसका लागि परिवर्तनको सुरुआत व्यक्ति स्वयंबाट हुनुपर्छ। पद्धति आफैंमा नराम्रो हुँदैन, यसको गरिमा सञ्चालकमा भर पर्छ। समाजलाई सही दिशा दिन हरेक तहका व्यक्ति र नेतृत्व नैतिकवान् हुनुपर्छ। यसका लागि संकल्प, बोली र कर्मलाई अनुशासित बनाउनु आवश्यक छ। पूर्वाग्रह र भेदभाव विना सबैप्रति आदरभाव राख्ने, विविध विचार र दृष्टिकोण सुन्ने क्षमता विकास गर्ने र सकारात्मक सोच राख्ने हो भने जीवन र समाज दुवै सुन्दर बन्छन्।

चारित्रिक विकास मानव सभ्यताको सुरुआतदेखि नै शुरु भएको प्राचीन तर सधैं सान्दर्भिक विषय हो। सरलता, इमानदारी, अहिंसा, विनम्रता र सकारात्मकता यसका आधारभूत पक्ष हुन्। आत्मसम्मान, संवेगको व्यवस्थापन, विज्ञताको विवेकपूर्ण प्रयोग र संस्कारयुक्त प्रतिबद्धताले व्यक्तिलाई मात्र होइन, सिंगो राष्ट्रलाई तन्दुरुस्त राख्छ। नेतृत्वमा नैतिक उदाहरण र नागरिकमा प्रश्न गर्ने साहस हुने हो भने मात्र समाज नैतिक रूपमा स्वस्थ बन्न सक्छ।

लेखक
सीमा बन

कृषि विकास बैंकमा कार्यरत वरिष्ठ शाखा प्रमुख रहेकी सीमा बन अधिवक्ता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?