२४ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समितिअन्तर्गत नवयुवा (जेनजी) परिचालन उपसमितिले ‘ऐतिहासिक दोस्रो विशेष महाधिवेशन र अबको कांग्रेस’ विषयमा छलफल गरेको छ ।
करिब ४०० जना सहभागी भएको भनिएको कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पार्टीमा युवाको भूमिकाको विषयमा प्रष्ट पारेका थिए ।
जेनजी परिचालन उपसमितिका संयोजक सचिन तिम्सिनाले कांग्रेसभित्र परिवर्तन अपरिहार्य भइसकेको उल्लेख गरे । त्यस्तै उनले युवाले पार्टीको निर्णय निर्माण प्रक्रियामा निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । उनले अबको कांग्रेस युवाको सहभागिता, आन्तरिक लोकतन्त्र र वैधानिक प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जेनजी नेतृ तनुजा पाण्डेले जेनजी आन्दोलनको मुख्य म्यान्डेट पुराना दलहरूभित्र नेतृत्व परिवर्तन र आन्तरिक लोकतन्त्रको सुदृढीकरण रहेको उल्लेख गरिन् । उनले युवाले अब दर्शक भएर होइन, निर्णय प्रक्रियाको केन्द्रमा पुग्नुपर्ने धारणा व्यक्त गरिन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अमृत ज्ञवालीले युवालाई विशेष महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै पार्टीको भविष्य युवाको सहभागितामा निर्भर रहेको बताए ।
त्यसैगरी महाधिवेशन प्रतिनिधि करुणा कटुवालले नेपाली कांग्रेसभित्र विद्यमान विकृति र बेथितिमाथि चर्चा गर्दै विशेष महाधिवेशनमार्फत संस्थागत सुधार र परिवर्तनको आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा उपस्थित अन्य युवा लोकतान्त्रिक नेताहरू तथा महाधिवेशन प्रतिनिधिहरूले समेत मन्तव्य राख्दै नेपाली कांग्रेसको विधानको दफा १७(२) अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन आयोजना गर्नु बाध्यात्मक हुने स्पष्ट धारणा व्यक्त गरे।
उनीहरूले विशेष महाधिवेशन कुनै विद्रोह नभई विधानले सुनिश्चित गरेको वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गरेका थिए ।
प्रतिक्रिया 4